काठमाडौं । संघीय राजधानी काठमाडौंलाई बाहिरी जिल्लासँग जोड्ने मुख्य राजमार्गअन्तर्गत पृथ्वी राजमार्गमा पर्ने नागढुंगामा निर्माणाधीन सुरुङमार्ग ‘ब्रेक थु्र’ आगामी फागुन २३ गते हुने भएको छ । मंगलबार राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा नागढुंगा सुरुङमार्गको हालसम्मको प्रगतिबारे छलफलमा बोल्दै नागढुंगा सुरुङमार्ग आयोजनाका उपनिर्देशक गोविन्द डुमरुले यस्तो जानकारी दिनुभएको हो । उहाँले मुख्य सुरुङ २.६८८ किमीमध्ये ३२ मिटर मात्र खन्न बाँकी रहेको बताउनुभयो । सुरुङ निर्माण गर्दादेखि धादिङ र काठमाडौंतर्फ केही मुआब्जा लगायतका समस्या केही समस्या अझै बाँकी रहेको उहाँको भनाइ छ । उहाँले अहिलेसम्म दुई हजार ६३६ मिटर सुरुङ खन्ने काम सकिएको बताउनुभयो ।
समग्र आयोजनाको भौतिक प्रगति ६८.५ प्रतिशत र तीनवटा अण्डरपास, चारवटा बक्स कल्भर्ट, एउटा ओभरपास, तीनवटा पुल निर्माण भएको उहाँले बताउनुभयो । उहाँले एउटा फ्लाई ओभर निर्माणको क्रममा रहेको बताउनुभयो । डुमरुले अहिलेसम्म ७१ दशमलव ८७ प्रतिशत भौतिक काम सम्पन्न भएको र ३२ मिटर अझै सुरुङ खन्ने काम बाँकी रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयोे, ‘विभिन्न कम्पनेन्ट ब्रिक डाउन गर्दा आयोजनाको हालसम्मको प्रगतिमा ६८.५ प्रतिशत सुरुङमार्ग लगायतमा खर्च भएको छ । घर टहराको ९५ प्रतिशत मुआब्जा पूरा भएको छ तर थोरै मात्रै मुआब्जाको समस्या बाँकी छ । मुख्य सुरुङमार्गको ‘ब्रेक थु्र’ मार्च ६ मा राख्ने तयारी रहेको छ । हालसम्म ३२ मिटर मात्रै सुरुङ खान्न बाँकी रहेको छ । चालु आर्थिक वर्षको ६ महिनामा ४४ प्रतिशत काम भएको छ ।’
आयोजनाले समितिलाई झुटो बोल्यो : रायमाझी
राष्ट्रियसभा सदस्य रमेशजंग रायमाझीले समितिलाई आयोजनाले झुटो बोलेको बताउनुभएको छ । उहाँले समितिलाई आयोजनाले ठगिरहेको भन्दै वर्तमान प्रविधिको युगमा समेत समितिलाई यकिन अवस्थाको विषयमा जानकारी दिन नसक्नु राम्रो नभएको बताउनुभयो । उहाँले २०८०/८१ भित्र निर्माण सम्पन्न गर्ने सम्झौताअनुसार समयमा निर्माण सम्पन्न नहुँदा लागत बढ्ने बताउनुभयो । उहाँले सरकारले कुनै पनि आयोजना सुरु गर्नेलाई नै अन्तिमसम्म आयोजना जिम्मा दिन आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘नागढुंगा सुरुङमार्ग खन्न ३२ मिटर बाँकी भन्नुभएको छ । यकिन भन्नुभएको छैन । समितिमा आउँदै गर्दा फोनबाट रिपोर्ट लिएको भए हुन्थ्यो । १९ गतेसम्मको रिपोर्ट भन्नुहुन्छ । आयोजनाले संसद्लाई झुट बोल्नुभयो । ठगी राख्नुभएको छ । हामीलाई ठग्दा तपाईंलाई फाइदा हुन्छ ? तपाईँ आफैँ ठगिइरहनु भएको छ । अहिलेको प्रविधिअनुसार काम गर्न सक्नुभएको छैन । २०८०/८१ भित्र निर्माण सम्पन्न गर्ने भनिएको छ । समयमा निर्माण सम्पन्न नहुँदा लागत बढ्ने होला । स्रोत सुनिश्चिता भएन भन्ने होला । ठेक्का लिएपछि समयमा निर्माण सम्पन्न नगर्ने लागत र महँगी बढेको मात्रै देख्ने हुँदा हामी कहाँ पुग्छौ ? सरकारले कुनै पनि आयोजना सुरु गर्दा सुरु जसले गर्छ त्यसलाई अन्तिमसम्म आयोजना जिम्मा दिनुपर्छ । जसले समयमा आयोजना पूरा गर्छ उसलाई सम्मान र काम नगर्नेलाई कारबाही गर्नुपर्छ ।’
जनताले प्रयोग गर्ने पानीको मुहान सुकाउन पाइँदैन : गौतम
राष्ट्रियसभा सदस्य वामदेव गौतमले सुरुङमार्ग निर्माण गर्दा देखिएका जग्गाको स्वामित्व विवाद, घरहरू चर्कने समस्या, पानीको मुहान सुक्ने लगायतका समस्यालाई समाधान गरी निर्माण कार्य रोक्न नहुने बताउनुभयो । उहाँले सुरुङ निर्माणको काम समयमै सम्पन्न गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘नागढुंगा सुरुङमार्ग निर्माण गर्दा देखिएका समस्या समाधान गर्न सकिन्छ । सुरुङको निर्माण सम्पन्न समयभित्रै सक्नुपर्छ । भ्रष्टाचार हुन भएन । सुरुङ निर्माण गर्ने क्रममा प्रभावित क्षेत्रका जनतालाई मर्का परेको छ भने क्षतिपूर्ति दिनुपर्छ । पानीको मुहान सुकेको भए मुहान कसरी पलाउन सक्छ भन्ने विषयमा अध्ययन गराउने विषय सरकारले सोच्नुपर्छ । सुरुङ निर्माण गर्ने भनेर जनताले प्रयोग गर्ने पानीको मुहान सुकाउन पाइँदैन ।’ नागढुंगा-नौबिसे सुरुङमार्गको रेस्क्यु टनेल (उद्दार सुरुङ) को ‘ब्रेक थ्रु’ यसअघि नै भइसकेको छ । २०७६ कात्तिक ४ गते सुरुङको शिलान्यास भएको थियो । नागढुंगा–नौबिसे सुरुङमार्गको २.६ किमी लम्बाइ छ ।
सञ्चालन हुन अझै एक वर्ष लाग्ने
निमिक्त आयोजना प्रमुख डुमारुका अनुसार ‘ब्रेक थु्र’ भएको एक वर्षपछि यो सुरुङ व्यावसायिक सञ्चालनमा ल्याउने योजना छ । ‘आयोजनाअन्तर्गत सबै काम सम्पन्न गरी सञ्चालनमा ल्याउन अर्को एक वर्ष लाग्ने अनुमान छ,’ उहाँले भन्नुभयो । त्यसपछि भने नागढुंगा सुरुङमार्ग सञ्चालनमा आउनेछ । नेपालमा व्यावसायिक रूपमा सञ्चालनमा आउने यो नै पहिलो सुरुङमार्गसमेत हुनेछ । यो सुरुङमार्गमा मोटरसाइकल र अतिप्रज्वलनशील पदार्थ बोकेर हिँड्ने सवारीसाधनले अनुमति पाउने छैनन् । अन्य सवारी भने धादिङ नौबिसेबाट सुरुङमार्ग हुँदै काठमाडौं प्रवेश गर्न सक्नेछन् । यो आयोजनातर्फ ९५ प्रतिशत जग्गाको मुआब्जा वितरण र स्थानीयवासीसँगको विवाद समाधान भइसकेको छ । बाँकी पाँच प्रतिशतमा विवाद रहेको र यसले आयोजना प्रभावित हुने हो कि भन्ने चिन्ता भने रहेको डुमारुले बताउनुभयो । काठमाडौंको बलम्बुतर्फ केही विवाद बाँकी छ । अर्कातर्फ, आयोजना निर्माण दौरान केही घरमा दरार देखिएपछि स्थानीयसँग विवाद भएको थियो ।
७१.८७ प्रतिशत पुग्यो भौतिक प्रगति
आयोजनाका अनुसार यो आयोजनाको भौतिक प्रगति अहिलेसम्म ७१ दशमलव ८७ प्रतिशत भौतिक काम सम्पन्न भएको र ३२ मिटर अझै सुरुङ खन्ने काम बाँकी रहेको छ । सुरुङबाहेक यहाँ फ्लाइओभर, पुल, बक्स कल्भर्ट, अण्डरपास र ओभरपाससमेत कुल थप १२ संरचना बनिरहेका छन् । ती संरचनाको काम सकेर पूर्णता दिन अर्को एक वर्ष लाग्नेछ । यो आयोजना अध्ययन सन् २०१४ मा भएको थियो । २०१६ मा स्रोत सुनिश्चित भएपछि २०१७ मा डिजाइनको काम सुरु भएको थियो । जापानी ठेकेदार कम्पनी हाजमा-आन्दो जेभीले आयोजनामा काम गरिरहेको छ । यो कम्पनी कोटेश्वर-सूर्यविनायक खण्ड विस्तार तथा बिपी राजमार्ग निर्माणमा समेत सफल भएको थियो । नागढुंगा सुरुङमार्ग डिजाइन जापान सरकारको सहयोगमा भएको हो । करबाहेक साढे १३ अर्ब रुपैयाँमा आयोजनाको ठेक्का लागेको हो । सुरुङमार्गलाई त्रिभुवन राजपथसँग जोड्न २.८७ किलोमिटर पहुँचमार्गसमेत बनिरहेको छ । सुरुङसम्म पहुँचमार्गका लागि गुर्जुधारा चोक र सुरुङको मुखनजिकै फ्लाइओभरसमेत सँगै बनिरहेका छन् । गुर्जुधाराको फ्लाइओभर ६१० मिटर लामो हुँदै छ ।
सुरुङमार्ग र पहुँचमार्गसमेत गरी कुल लागत भने २२ अर्बभन्दा माथिको हो । नौबिसेदेखि थानकोटसम्मको घुमाउरो र भिरालो सडकका कारण हुने बाक्लो ट्राफिक जाम हटाउने उद्देश्यले सुरुङमार्ग निर्माण थालिएको थियो । आयोजनामा ‘टनेल बोरिङ मेसिन’ (टिबिएम) र विस्फोटक पदार्थ प्रयोग नगरी नै सुरुङ बनाइएको छ । अहिले सडकमा सानो अवरोध हुँदा नौबिसेबाट काठमाडौं आउन घण्टौँ जाममा फस्नुपर्छ । सुरुङमार्ग सञ्चालनमा आएपछि यो समय २० मिनेटमा झर्नेछ । साथै, काठमाडौं भित्रिने र बाहिरिने सवारीसाधनको इन्धन बचत हुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच