माधव नेपाल र प्रभु साहविरुद्ध ओलीको टिप्पणी : अहंकारले उफ्रिँदा भड्खालामा जाकिन्छ

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अब चुनाव जित्न नसक्ने बताउनु भएको छ ।

अध्यक्ष ओलीले नेपालप्रति उहाँकै गृहजिल्ला रौतहटमा पुगेर यस्तो कटाक्ष गर्नुभएको हो । अध्यक्ष ओलीले गठबन्धनबाट धोका पाएपछि बल्ल होस् खुल्ने भन्दै टिप्पणी समेत गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘यही जिल्लाका मान्छे गठबन्धन घर हो भन्छन् । तिनले त्यतिवेला थाहा पाउनेछन् जब गठबन्धनले लात हान्छ । अहिले पनि तिनको पार्टी राष्ट्रिय पार्टी छैन । अहिले स्वतन्त्र सांसदको हैसियतमा छन् । अर्कोपटक त्यो हैसियत समाप्त हुन्छ । अब अर्कोपल्ट माधव नेपालले चुनाव पनि जित्दैनन् । कुनै कारणले जित्दैनन् । उताका पैसा ल्याएर, कुनै हिसाबले पनि जित्दैनन् । जित्न पनि दिनुहुँदैन ।’

नेपालले आफैंले बनाएको विशाल पार्टी दुई तिहाइ पुगेपछि पार्टी फोड्ने, सरकार ढाल्ने र कांग्रेसको पाउमा लगेर सरकार बुझाउने काम गरेकाे उहाँले आरोप लगाउनुभयो ।

साथै अध्यक्ष ओलीले चुनावको बेला प्रभु साहले पनि एमालेलाई गम्भीर धोका दिएको समेत टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, ,‘प्रभु साहको पछि लागेर कुन वैतरणी पार होला ? मौलापुर ? अर्कोपल्ट जमानत जोगिए धन्यवाद छ, जोगिँदैन जमानत!’

अध्यक्ष ओलीले मानिस अहंकारले उफ्रिँदा भड्खालामा जाकिने बताउँदै कसरी जाकिन्छ भन्ने उदाहरणका रुपमा माधवकुमार नेपाललाई हेरे पुग्ने बताउनु भयो ।

बिहीबार एमाले रौतहटको जिल्ला अधिवेशनको उद्घाटन गर्न पुग्नुभएको अध्यक्ष ओलीलाई रौतहटमा १०१ किलोको मालाले स्वागत गरिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?