७ महिनादेखि तलब नपाएपछि हरिपूर्वाका कर्मचारी आन्दोलित, आइतबारदेखि सेवा बन्द गर्ने

प्रकाश मैनाली सर्लाही, संवाददाता
Read Time = 6 mins

सर्लाही । सर्लाहीको हरिपुर्वामा प्रमुख प्रशासकीय अधिकृतको अभाव र नगर सभा हुन नसक्दा सात महिनादेखि तलबविहीन रहेका कर्मचारी आन्दोलित बनेका छन् । उनीहरुले गएको साउनदेखिको तलब, भत्ता यथाशीघ्र प्राप्त गर्ने वातावरण सिर्जना गरिदिन माग गर्दै आज नगर प्रमुख विनोदकुमार साह तेली र सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलालाई ज्ञापन पत्र बुझाइ आन्दोलन सुरु गरेका हुन् ।

कर्मचारीहरुले संयुक्त रुपमा बुझाएको ज्ञापन पत्रमा आइतबार देखि अनिश्चितकालका लागि नगरपालिका, वडा कार्यालय, स्वास्थ्य चौकी, आधारभूत स्वास्थ्य केन्द्र र आयुर्वेद औषधालयबाट प्रवाह हुने सबै सेवा बन्द गर्ने चेतावनी दिएका छन् । आइतबारदेखि कार्यालय नआएर घरमै बस्ने कर्मचारीको भनाई छ ।

राजनीतिक दलदलमा फसेको हरिपूर्वा नगरपालिकाले गएको असारमै गर्नुपर्ने नगरसभा अझै गर्न सकेको छैन् । नगर सभा नभएकाले यहाँ बजेट पारित नभएर तलब, भत्ता रोकिएको हो । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हरिपूर्वा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत पठाउन नसक्दा नगरसभा अन्यौलमा परेको छ । उपसचिव शम्भुप्रसाद यादव हरिपूर्वा नगरपालिकामा तीन पटक प्रमुख प्रशासकीय अधिकृत भएर हाजिर भएपनि उहाँको तीन पटक नै अत्यन्त छोटो अवधिमै सरुवा भएको छ । गएको पुस ११ गते तेस्रो पटक सरुवा भएर आएपछि नगरसभाको तयारीमा जुट्नुभएका यादवको २२ दिनमै माघ ३ गते अन्यत्र सरुवा भएको थियो । यादवको यसअघि पहिलो पटक एक घण्टामै र दोस्रो पटक २४ घण्टा बित्न नपाउँदै सरुवा भएको थियो ।

सात महिनासम्म कुर्दा समेत तलब पाउने छाँट नदेखेपछि कर्मचारीले बाध्य भई कार्यालय बन्द गरी घरमै बस्ने निर्णय गर्दै ज्ञापन पत्र बुझाएका हुन् । नगर कार्यपालिकाले नगरसभा नगर्दा र मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत नपठाउँदा आफूहरुमाथि मानसिक पीडा र आर्थिक सङ्कट परेको कर्मचारीले गुनासो गरेका छन् । बजेट नचल्दा वडा, नगर, स्वास्थ्य संस्थालगायत सबै कार्यालयमा मसलन्दसहित अन्य आवश्यक सरसामग्री सक्किएर सेवा दिनै मुस्किल परेको कर्मचारीको भनाई छ ।

हरिपूर्वामा यसअघि शिक्षकहरु तलब माग गर्दै दुई सातासम्म विद्यालय बन्द गरेर नगरपालिका कार्यालयमा आइ धर्नामा बसेका थिए । नगरप्रमुखले तत्काल समस्या समाधान गरी रोकिएको तलब, भत्ता निकासा गर्ने आश्वासन दिनुभएको थियो । तर अहिलेसम्म नगरसभा हुन नसकेकाले शिक्षक, कर्मचारीको तलब भत्ता र सामाजिक सुरक्षा भत्ता निकासाबारेको अन्यौलता हट्न सकेको छैन ।

हरिपूर्वा नगरपालिकाका नगरप्रमुख विनोदकुमार साह तेलीले आफूले बल्लतल्ल सरुवा गरेर ल्याएको प्रमुख प्रशासकीय अधिकृतलाई टिक्न नदिने र नयाँ प्रमुख प्रशासकीय अधिकृत नपठाएर आफूलाई बद्नाम गराउने काम भइरहेको गुनासो गर्नुभएको छ । उहाँले सर्लाही क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य एवं हालका खानेपानी मन्त्री महिन्द्रराय यादवको इसारामा हरिपूर्वा नगरपालिकालाई बन्धक बनाउने काम भएको आरोप लगाउनुभएको छ । “म हप्तौँहप्ता मन्त्रालय धाएर ‘हाकिम’ लिएर आउँछु तर उहाँलाई टिक्नै दिइँदैन, नयाँ पनि पठाइँदैन,” नगरप्रमुख साहले भन्नुभयो, “यो सबै षडयन्त्र मन्त्री ज्यूको इसारामा भइरहेको छ।” नगरपालिकालाई बन्धक बनाएर आफूलाई असफल गराउने खेलमा मन्त्री यादव लागेको नगरप्रमुख साहको आरोप छ ।

प्रमुख प्रशासकीय अधिकृत टिक्नै नदिएको र नयाँ पनि नपठाएको विषयमा मन्त्रालयमा बुझ्दा खानेपानी मन्त्रीको दबाब छ भन्ने जवाफ आउने गरेको नगरप्रमुख साहले बताउनुभयो । मन्त्री यादवको घर पनि हरिपूर्वा नगरपालिकामै हो । हरिपूर्वामा नगर कार्यपालिकाभित्रै पनि नगर प्रमुख र उपप्रमुख तथा वडाध्यक्षबीच विवाद चल्दै आएको छ । नगरप्रमुख साहले प्रमुख प्रशासकीय अधिकृत भइदिए आफू आन्तरिक विवाद समाधान गरी नगरसभा गर्न तयार रहेको दाबी गर्दै आउनुभएको छ । राजनीतिक टकराबले नगर सभा नभएर बजेट पारित नहुँदा विकास निर्माणका काम ठप्प हुँदा हरिपूर्वाका स्थानीय निराश बनेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?