सरकारले सही ढङ्गले काम गर्न नसक्दा राजावादी र पुनरुत्थानवादीको शक्ति बढेर गयो : नेता खनाल

हिमालय टाइम्स
Read Time = 3 mins

कास्की । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालले सरकारले जनताका अपेक्षा पूरा गर्न नसक्दा राजावादीको शक्ति बढेर गएको बताउनु भएको छ ।

समाजवादी प्रेस सङ्गठन नेपाल कास्कीले आज पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले जनअपेक्षा पूरा गर्न नसकिएकाले जनतामा असन्तोष, आक्रोस बढ्नुका साथै जनताले दिशाहीन महसुस गरेको उल्लेख गर्नुभयो । नेता खनालले जनताका आधारभूत समस्या छुनेगरी सरकारले काम गर्नुपर्ने बताउनुभयो ।

सरकारले सही ढङ्गले काम गर्न नसक्दा राजावादी र पुनरुत्थानवादी शक्ति बढेको नेता खनालले जिकिर गर्नुभयो । अहिलेको बाटो यथास्थितिको भएकाले यसको परिवर्तन सम्भव भएकाले राजनीतिक पार्टीहरुले नयाँ ढङ्गले सिंहावलोकन गर्नुपर्ने उहाँले उल्लेख गर्नुभयो ।

नेता खनालले भन्नुभयो, “सत्तामा बसेका शक्तिले ठीक ढङ्गले काम गर्न नसकेकाले अन्य शक्ति देखिएका छन् । सत्तामा बस्नेले नीति र कार्यक्रममा परिवर्तन गर्नु आवश्यक छ ।” नेपालको कम्युनिष्ट आन्दोलनमा गलत वैचारिक र राजनीतिक कार्यदिशाका कारण विभाजन आउने गरेको उहाँको भनाइ थियो । उहाँले सही कार्यदिशा भएका खण्डमा कम्युनिष्ट आन्दोलन पुनःएकताबद्ध हुने उल्लेख गर्नुभयो ।

“दश लाख पार्टी सदस्य भएको नेकपामा विभाजन भएको छ । विभाजनका कारण गलत वैचारिक राजनीतिक कार्यदिशा हो । सही वैचारिक राजनीतिक कार्यदिशा भयो भने कम्युनिष्ट आन्दोलन एकताबद्ध हुन्छ । कम्युनिष्ट, वामपन्थीको एकता इतिहासको आवश्यकता हो”, खनालले भन्नुभयो । समाजवाद प्राप्तिको नीति, कार्यक्रम र नेपाली विशेषताको समाजवादका बारेमा उहाँले प्रष्ट पार्नुपर्नेमा जोड दिनुभयो ।

नेकपा (एकीकृत समाजवादी) को आसन्न राष्ट्रिय महाधिवेशनपछि नेपाली कम्युनिष्ट र समाजवादी आन्दोलनमा नयाँ लहर सिर्जना हुने नेता खनालले दाबी गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?