बीमा र अनुदानले स्याउ कृषक लाभान्वित

निर्पेन्द्रबहादुर मल्ल
Read Time = 6 mins

मुगु । सरकारले बीमामा अनुदान दिन थालेपछी मुगुका स्याउ कृषकहरु लाभान्वित हुँदै आएका छन् ।

स्याउ उत्पादनमा कमी आएपनि सरकारले कृषकलाई दिएको अनुदान र बीमा रकम पाएपछि भने कृषकहरु हर्षित तथा लाभान्नित बनेका हुन् ।

बीमा र अनुदानबाट मुगुका स्याउ उत्पादन बढी गर्ने कृषक रहेका पालिकाहरु छायाँनाथ रारा नगरपालिका र मुगुम कार्मारोङ्ग गाउपालिकाका स्याउ कृषकहरु बढी लाभान्वित भएका छन् । समयमै वर्षा नभएको, वर्षा हुँदा पनि आवश्यकता भन्दाबढी असिना र पानी परेकाले यो वर्ष स्याउ उत्पादनमा ४० प्रतिशत गिरावट आएको थियो ।

मुगुका छायाँनाथ रारा नगरपालिका र मुगुम कार्मारोङ्ग पालिकामा कम्तीमा ३० बोट देखि तीनसय बोट स्याउ लगाउनेसम्मका कृषकहरु रहेका छन् । स्याउ उत्पादनमा क्षति भएपनि किसानले बीमा गरे बापतको रकम भुक्तानी पाएपछि राहत महशुस गरेका हुन् ।

पछिल्लो समय स्याउ उत्पादन गर्ने देखि अन्य कृषिमासमेत बीमा प्रति आकर्षण बढ्दै गएको छ । स्याउ फूल्ने समयमा छाँयानाथ रारा नगरपालिका भित्रका ताल्च, कालापाल्त, पिना, बाम, तुम, शोभा, रोवा, घट्टलेख, छैला, चिमाथलगायतका विभिन्न क्षेत्रका किसानले स्याउको बीमा गराइ सकेका थिए । बीमा गराउनेमा उक्त क्षेत्रका ५ सय ४७ जना कृषकहरु रहेको तथ्यांक छ ।

छायाँनाथ रारा नगरपालिका-६ का गोबिन्द बमले १ सय ६० बोट स्याउको बीमा समय मै गराएको बताउनुभयाे । स्याउ उत्पादन नभए पनि बीमा बापत रकम पाएपछि खुसी लागेको उहाँ बताउँनुहुन्छ । गरिब किसानलाई सरकारको अनुदान र बीमाले फाइदा पुगेको धारणा रारा नगरपालिका १० का रामकृष्ण सेजुवालको छ ।

यस्तै ५ हजार बर्ग क्षेत्रफल भित्र दुई सय भन्दा बढी स्याउको बिरुवा लगाएर स्याउ खेती गर्दै आएका छायाँनाथ रारा नगरपालिका-४ का जयलक्ष्मी भामले लगाएको बगानमा उत्पादन नभएको बताउनुभयाे । असिना पानी र बेमौसमी वर्षात्ले स्याउ उत्पादन निकै घटेको बताउँदै उहाँले गत वर्षको चैत तिर ८ हजार ५ सय तिरेर १ सय ६० बोट स्याउको बीमा गराएकाले उत्पादन नभए पनि राहत पाएकाे बताउनुभयाे । उहाँले बीमा बापत ४० हजार ४ सय रुपैयाँ बीमा कम्पनीबाट लिएको सुनाउँनुभयाे । समयमै बीमा गर्दा उत्पादन नभएपनि किसानलाई बीमाले निकै राहत दिएकोले यो वर्ष पनि आफू बीमा गर्ने तयारी गरिरहेको उहाँले बताउनुभयाे ।

मुगुको स्याउ उत्पादनमा पकेट क्षेत्र मानिने छायाँनाथ रारा नगरपालिका र मुगुम कार्मारोङ गाउँपालिका भित्रका विभिन्न क्षेत्रका कृषकले शिखर ईन्स्योरेन्स कम्पनी लिमिटेडको मुगु शाखामा स्याउको बीमा गर्दै आएका छन् ।

गत वर्षको बेमौसमी वर्षात्‌ले कसैको बोटमा स्याउको दानै फल्न सकेन भने स्याउ फलेकाहरुको पनि ४० प्रतिशत उत्पादनमा गिरावट देखिएको थियो शिखर ईन्स्योरेन्स कम्पनी लिमिटेड मुगुका शाखा प्रमुख लोकेन्द्र भण्डारीले बताउनु भयो ।

भण्डारीकाअनुसार सोही आधारमा मुगुका ५ सय ४७ जना कृषकहरुले लगाएका ९० हजार भन्दा बढी स्याउका बोटको बीमा गराए बापत बिमीतलाई १ करोड ८० लाख भन्दा बढी रकम भुक्तानी गरिसकिएको छ ।

‘रारा नगरपालिका र मुगुम कार्मारोङ गाउँपालिका गरी ९० हजार बोटको स्याउ खेती बीमा कृषकले गरेका थिए । यो वर्ष उत्पादनमा भएको ४० प्रतिशत क्षतिको आधारमा हामीले कूल १ करोड ८० लाखको हाराहारीमा किसानलाई भुक्तानी गरिसकेका छौं,’ प्रमुख भण्डारीले भन्नुभयो ।
स्याउ खेती बीमाअन्तर्गत सरकारले किसानलाई ८० प्रतिशत अनुदान दिँदै आएको छ । बीमाको अवधि १ वर्ष हुन्छ कृषकले आफ्नो स्याउका बुटाको बीमा अवधी सकिए पछि पुन बीमा गर्नुपर्ने हुन्छ ।

सरकारले बीमामा अनुदान दिँदा विभिन्न प्राकृतिक विपत्‌ले स्याउ उत्पादनमा गिरावट आउँदा निरास भै यो व्यवसाय छोड्नु पर्ने अवस्थामा पुग्दै आएका कृषकहरुले पुनर्जीवन दिएको जस्तो अनुभूति गर्दै आएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?