रौतहत । रौतहट जिल्ला अदालतले राजपुर बम काण्डका आरोपी मोहम्मद अफताब आलमको मुद्दामा साक्षी झिकाउन आदेश दिएको छ । आइतबार न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले आलमको मुद्दामा साक्षी झिकाउन आदेश दिएको हो । यो मुद्दामा आलमका तर्फबाट अधिवक्ता लालबाबु राय, महम्मद साबिर हुसेन, मजरुल हक र अफताब आलमले बहस गर्नुभएको थियो ।
त्यस्तै, बादी नेपाल सरकारको तर्फबाट जिल्ला न्यायाधिवक्ता बद्रीकुमार कार्की र अधिवक्ता पुष्प पौडेलले बहस गर्नुभएको थियो । आइतबार भएको आदेशमा घाइतेको फरेन्सी जाँचको प्रतिवेदनसमेत माग गरिएको छ । १६ वर्ष पुरानो मुद्दाको अन्तिम सुनुवाइका लागि पेसी तोकिएकोमा अझै बकपत्रका लागि साक्षीहरू उपस्थिति नभएकाले झिकाउन आदेश भएको अदालतका स्रेस्तेदार माधव ढोडारीले जानकारी दिनुभयो । ‘धेरै प्रहरी नै बकपत्रका लागि आएका छैनन्’, उहाँले भन्नुभयो, ‘अब सबै साक्षीलाई झिकाउन जिल्ला प्रहरीलाई पत्राचार गर्छौं ।’
अदालतले विस्फोटमा घाइते गौरीशंकर रामको स्वास्थ्य परीक्षणको रिपोर्टसमेत मागेको छ । अब अर्को पेसीमा बकपत्र र फरेन्सिक ल्याब रिपोर्ट आएपछि मुद्दाको फैसला हुने उहाँले बताउनुभयो । ‘जाहेरवालाको शारीरिक परीक्षण प्रतिवेदन ल्याउन र घटना विवरणमा सही गर्नेहरूलाई बकपत्रको लागि आदेश भएको हो,’ ढोडारीले भन्नुभयो ।
आलमविरुद्ध विस्फोटक पदार्थ बमसमेतको प्रयोग गरी ज्यान मारेको अभियोग लागेको हो । जिल्ला अदालत, रौतहटले पुर्पक्षका लागि थुनामा राख्न दिएको आदेश उच्च अदालत वीरगञ्जले सदर गरेपछि त्यसविरुद्ध आलमले सर्वोच्चमा २०७७ मंसिर १२ गते फैसला बदरको माग गर्दै निवेदन दिएका थिए । २०६४ चैत २७ गते आतंक फैलाएर निर्वाचन जित्ने उद्देश्यले भारतदेखि बम बनाउनेहरू ल्याई बम बनाउने क्रममा विस्फोट भएको र घाइते भएकाहरूलाई जिउँदै इँटाभट्टामा हालेर हत्या गरेको उनीमाथि अभियोग छ ।
मुद्दामा आलमसहित ११ जनालाई प्रतिवादी बनाइएको छ । शेख सरोज भनिने शेख सराज, शेख फजलेहक, शेख भदई, मोहमद महताब आलम, सगिर आलम, बद्री सहनी, गौरीशंकर साह, मुक्ति साह, मोहम्मद मोबिन आलम, शेख जुमइन भन्ने शेख मलकार प्रतिवादी छन् ।
२०६४ सालमा संविधान सभाको चुनावका बेला आलमको चुनाव प्रचारमा खटिएको टिम बम विस्फोटमा परेको र घाइते भएका केही व्यक्तिलाई इँटाभट्टामा हालेर जलाएको आरोप आलममाथि छ । यो मुद्दामा थुनछेक बहसपछि आलम २०७६ कात्तिकदेखि पुर्पक्षका लागि थुनामा छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच