
काठमाडौं । संसदीय समितिले त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोट गर्दा विवादित व्यक्तिबारे पुनर्विचार गर्न सरकारलाई निर्देशन दिएको छ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सोमबार बसेको बैठकले सर्टलिस्टमा परेकामध्ये विवादित व्यक्तिबारे पुनर्विचार गर्न प्रधानमन्त्री र शिक्षामन्त्रीलाई निर्देशन दिएको हो । उपकुलपति छनोटका लागि गठित सिफारिस समितिले ४३ जनामध्ये १४ जनाको नाम सर्टलिस्ट गरेको छ । त्यसमध्ये बौद्धिक चोरीको आरोप लागेका पूर्वउपकुलपति तीर्थ खनिया, भ्रष्टाचार मुद्दामा मुछिएका पोखरा विश्वविद्यालका पूर्वउपकुलपति केशरजंग बराल र त्रिविका हालका उपकुलपति शिवलाल भुसालको नाममा पुनर्विचार गर्न समितिले निर्देशन दिएको सभापति भानुभक्त जोशीले जानकारी दिनुभयो । भुसाललाई सूचना लुकाएको आरोपमा राष्ट्रिय सूचना आयोगले जरिवाना तिराएको थियो ।
‘अहिले सूचीकृतमा परेकामध्ये केही बौद्धिक चोरीमा परेका, भ्रष्टाचारमा मुछिएका र सूचना लुकाएका व्यक्तिहरूलाई विशेष ध्यान दिन शिक्षा मन्त्रालय, प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराऔँ’, बैठकमा सभापति जोशीले भन्नुभयो । समितिले कार्यबाहक उपकुलपति भुसालले मनोमानी रूपमा गरेको नियुक्ति र सरुवाको विषयमा कानुन सम्भव भए/नभएको छानविन गर्न शिक्षा मन्त्रालयलाई निर्देशन दिएको छ । समितिले यस विषयमा विश्वविद्यालयका कुलपति र सहकुलपतिको ध्यानाकर्षणसमेत गराएको थियो । समितिले प्रधानमन्त्री, शिक्षामन्त्री लगायतलाई तीन दिनभित्र बोलाउने निर्णय गरेको छ ।
त्रिविको उपकुलपति छनोटको प्रक्रियामा ४३ जनाले आवेदन दिएका दिए । आवेदन दिएकाहरूमध्ये एकजनाको आवेदन रद्द गरिएको थियो भने १४ जनाको नाम सर्टलिस्टमा निकालिएको छ । उनीहरूमध्ये अबको प्रक्रियाबाट सिफारिस समितिले तीन जनाको नाम सिफारिस गर्नेछ । तीमध्येबाट मन्त्रिपरिषद्ले एकजनालाई उपकुलपतिमा नियुक्त गर्नेछ ।
आवेदन दिएकाहरूविरुद्ध कुनै उजुरी परेको छैन : शिक्षा राज्यमन्त्री
शिक्षा राज्यमन्त्री प्रमिला कुमारीले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि उम्मेदवार दिएकाहरूको विरुद्धमा कुनै पनि उजुरी नपरेको जानकारी दिनुभएको छ । समितिको बैठकमा राज्यमन्त्री कुमारीले आवेदनकर्ताका विरुद्धमा कुनै पनि उजुरी नपरेको जानकारी दिनुभयो । अहिले आवेदनकर्ताहरू विरुद्धमा विभिन्न कुनै पनि उजुरी नपरेपछि सर्टलिस्टमा राखिएको उहाँले बताउनुभयो । ‘उहाँहरूले आवेदन दिनुभयो । उहाँहरूविरुद्ध कुनै पनि उजुरी परेन,’ उहाँले भन्नुभयो, ‘त्यसपछि समितिले सर्टलिस्टमा छनोट गरेको हो । मेरिटको आधारमा उपकुलपति छनोट गर्न लागिएको उहाँले दाबी गर्नुभयो ।
भिसी नियुक्तिमा कुनै राजनीतिक हस्तक्षेप छैन : अधिकारी
शिक्षा सचिव सुरेश अधिकारीले त्रिविको उपकुलपति नियुक्तिबारे कुनै राजनीतिक हस्तक्षेप नभएको दाबी गर्नुभएको छ । समितिको बैठकमा बोल्दै सचिव अधिकारीले भिसी नियुक्तिमा कुनै राजनीतिक हस्तक्षेप नभएको बताउनुभयो । ‘कुनै राजनीतिक हस्तक्षेप भएको छैन । गोप्य कोठा बनाइएको छ’, उहाँले भन्नुभयो, ‘त्यहाँ तालाबन्दी र डकुमेन्ट सिलबन्दी गरिएको छ । त्यहाँ मेरिटोक्रेसी शैली अपनाएर काम गरेका छौँ । विगतमा यसरी जाँदैन थियो ।’
सिफारिस समितिले गलत बाटो लिइसक्यो : पाण्डे
नेपाली कांग्रेसका सांसद बद्री पाण्डेले सिफारिस समितिले गलत बाटो समातेको बताउनुभयो । उहाँले सिफारिस समिति उपकुलपतिको छनोटका लागि लोकसेवाको प्रक्रिया जस्तै गरी अगाडि बढिसकेको भन्दै कसैले पनि यस्तो उस्तो गर्नुस् भनेर निर्देशन दिन नमिल्ने बताउनुभयो । ‘यो सिफारिस समिति ब्युरोक्रेसीतिर गइसक्यो । मापदण्ड बनाएको छ । मापदण्ड अनुसारको व्यक्तिको योग्यता छ कि छैन ? १४ जना ल्याउने सन्दर्भमा कति फियर गर्नुभएको छ ?,’ उहाँले प्रश्न गर्नुभयो, ‘सिफारिस समितिले गलत बाटो लिइसक्यो ।’
आरोपितलाई नै अप्लाई गर्न ठाउँ दिइयो : भट्टराई
नेकपा (एमाले) की सांसद विद्या भट्टराईले विभिन्न आरोपका आरोपितहरूले आवेदन दिएको भन्दै उनीहरूको योग्यतामाथि प्रश्न उठाउनुपर्ने बताउनुभयो । उहाँले आरोपितहरूको आवेदन स्वीकार गर्दा छनोट प्रक्रियामाथि प्रश्न उठेको बताउनुभयो । ‘हामी मेरिटोक्रेसीको कुरा गर्छौं । टियुको भिसी भनेको एकेडेमिक लिडरसिप हो । अनि एकेडेमिक लिडरसिपमा बसेकाहरूले आरोपित मान्छेहरूलाई नै अप्लाई गर्न ठाउँ दिन्छौँ भने नैतिकताको प्रश्न कहाँ रहन्छ भन्नेकुरा हो,’ उहाँले भन्नुभयो ।’
निमित्त उपकुलपतिलाई तत्काल हटाउनुपर्छ : श्रेष्ठ
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालयका निमित्त उपकुलपति प्राडा. शिवलाल भुसाललाई तत्काल पदबाट हटाउन सरकारसँग माग गर्नुभएको छ । समितिको बैठकमा बोल्दै सांसद श्रेष्ठले निमित्त उपकुलपति भुसालले आफैँ उपकुलपति हुने नियतका साथ गतिविधि गरेको भन्दै उहाँलाई तत्काल पदबाट हटाउनुपर्ने जिकिर गर्नुभयो । निमित्त उपकुलपति लम्सालले भागबण्डा गर्ने हिसाबले त्रिविमा आफ्नो गतिविधि बढाएको उहाँको आरोप थियो । त्यस्ता व्यक्ति त्रिविको उपकुलपति हुन लायक नहुने उहाँको जिकिर छ । लम्सालको नाम त्रिविको उपकुलपति क्याण्डिडेटको सर्ट लिस्टबाट पनि हटाउनुपर्ने सांसद श्रेष्ठको माग थियो । ‘कार्यकारीले त्यस्तो गर्न पाउँदैन । त्यो कानुनसम्मत नै भएन । अहिलेको टियुको कार्यवाहकले आफ्नो क्षेत्राधिकार मिचेर आफू नै पछि हुने हिसाबले भागबण्डा गर्छु भन्ने ध्ययले काम गर्छ भने त्यो मान्छे टियुको भिसी हुन लायक भएन,’ उहाँले भन्नुभयो, ‘उसलाई अहिले नै हटाउनु पनि पर्यो । त्यस्तो मान्छे पछि टियुको सर्टलिस्ट क्याण्डिेटबाट पनि हटानुपर्यो ।’
विश्वभरबाट १५० विश्वविद्यालयका उपकुलपति काठमाडौं आउँदै
विश्वका विभिन्न १५० विश्वविद्यालयका उपकुलपति काठमाडौंमा भेला हुने भएका छन् । काठमाडौं विश्वविद्यालयमा यही फागुन ३-५ गतेसम्म नेपालसहित, भारत, बंगलादेश, मलेसिया, थाइल्याण्ड लगायतका १५० विश्वविद्यालयका उपकुलपति तथा शिक्षाविद्हरू भेला हुन लागेका हुन् । उत्तर क्षेत्रीय अन्तर्राष्ट्रिय उपकुलपति सभा तथा भारत-नेपाल उच्च शिक्षा शिखर सम्मेलन धुलिखेलस्थित विश्वविद्यालयको मुख्य परिसरमा आयोजना गर्न लागिएको हो । भारतीय विश्वविद्यालयको आयोजना तथा काठमाडौं विश्वविद्यालयको तत्वावधान सभाको आयोजना गर्न लागिएको काठमाडौं विश्वविद्यालयले जनाएको छ । काठमाडौं विश्वविद्यालयका प्रवक्ता एक्कुमाया पुनले विश्वले उच्चशिक्षाको क्षेत्रमा भोगिरहेको समकालीन मुद्दा ‘भूमण्डलीकरण र उच्च शिक्षाको अन्तर्राष्ट्रियकरण’ मूलविषय रहेको बताउनुभयो । उक्त सभामा उच्च शिक्षाको अन्तर्राष्ट्रियकरण, अन्तर-विश्वविद्यालय सहकार्य, वैश्विक उच्च शिक्षा नीति आदि विषयमा छलफल हुने उहाँको भनाइ थियो । हालसम्म करिब २२७ सहभागीहरू सहभागिताका लागि आउने निश्चित भएको प्रवक्ता पुनले जानकारी दिनुभयो । सभामा नेपालका १५ जना उपकुलपतिको सहभागिता रहनेछ । त्यस्तै, भारतबाट विभिन्न १७ राज्यका विश्वविद्यालयबाट समेत सहभागिता हुनेछ । सभा तथा सम्मेलनमा अधिकांश सहभागीहरू भारतीय विश्वविद्यालयबाट हुनेछन् भने दक्षिण पूर्वी एसियाली क्षेत्र, युरोप र अफ्रिकाका विश्वविद्यालयका प्रतिनिधिसमेत सहभागी हुनेछन् । अन्तर्राष्ट्रिय उपकुलपति सभाले उच्च शिक्षण संस्थामा भूमण्डलीकरणको प्रभाव पत्ता लगाउने, अन्तर्राष्ट्रिय सहयोग र विचारहरूको आदान प्रदानलाई प्रोत्साहित गर्ने उहाँको भनाइ थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच