चीन र भारतजोड्ने अन्तरदेशीय बेनी–जोमसोम सडकको काम सुस्त

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 7 mins

म्याग्दी । कालीगण्डकी करिडोर अन्तर्गतको बेनी–जोमसोम सडक स्तरोन्नति र कालोपत्रेको काम निर्धारित समय भन्दा दुई वर्ष ढिलो हुँदा समेत अझै कछुवा गतिमा छ ।

कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरोला सडक आयोजनले २०७६ मंसिर भित्रै सक्नेगरी बेनी–जोमसोम ७६ किमीलाई ४ प्याकेज बनाई ठेक्का लागेको भए पनि सडक विस्तार, उन्नत र कालोपत्रे गर्ने काम दुई वर्ष पछि पनि सुस्त गतिमा छ ।

उत्तरको चीन र दक्षिणको भारतजोड्ने अन्र्तदेशीय यो सडकको काम निर्धारित सम्पन्नमा सम्पन्न हुन नसक्दा मुस्ताङ जाने र फर्कने स्वदेशी तथा विदेशी पर्यटकहरु त मारमा परेका छन् नै दुई देशीय व्यापार र अनेकौं सम्भावनाहरु पनि थलिएका छन् ।

पटक–पटक म्याद थप्दा पनि निर्माण कम्पनीले उपकरण र जनशक्ति न्यून परिचालन गरेर काम समयमै सम्पन्न नगर्दा सडक जोखिमपूर्ण बनेको छ । मुस्ताङ खण्डको तुलनामा म्याग्दी खण्डको प्रगति नगन्य छ । बेनी–जोमसोमको ७६ किलोमिटर लामो सडक चार खण्डमा कामअघि बढाएको थियो ।

भौतिक पूर्वाधार मन्त्रालयले बेनी–जोमसोम सडकको कालोपत्रे गरी काम सम्पन्न गर्न निर्माण कम्पनीलाई आगामी असार मसान्तसम्मको समय सीमा दिएको छ ।

गलेश्वरदेखि–नारच्याङपुलसम्मको २० किलोमिटर सडक ठेक्का लिएको शर्मा युनाइटेड जेभी र नारच्याङपुलदेखि मुस्ताङको घाँसास्थित कैकुखोलासम्मको १७ किलोमिटर सडकको ठेक्का लिएको शर्मा गजुरमुखीले सडक निर्माण कार्यलाई ढिलासुस्ती गरेको छ ।

२०७४ जेठमा ६३ करोड ५२ लाखमा र २०७६ मंसिरमा काम सम्पन्न गर्नेगरी सम्झौता गरेको यस कम्पनीले पटक–पटक म्याद थपे पनि काम गर्न सकेको छैन ।

दशैं यता यो सडकको काम हुन सकेको छैन । अत्यधिक चिसो बढेसँगै मुस्ताङ खण्डको काम पुरै ठप्प छ । आयोजनाको सुरु विन्दु गलेश्वरदेखि मुस्ताङसीमावर्ती घाँसासम्मको ४० किलोमिटर (पहिलो र दोस्रो प्याकेज) सडकको काम पनि ठप्प प्रायः छ । अहिले ८–१० जना मजदूरले रिटेनिङ वाल लगाउने काम बाहेक कुनै काम हुन नसकेको पाइएको छ ।

‘बेनी–जोमसोम–कोरोला सडकको पहिलो खण्ड अर्न्तगत बेनी–जोमसोम ७६ किलोमिटरमध्ये मुस्ताङ तर्फको ३८ किलोमिटर क्षेत्रमा अधिक चिसोले काम रोकिएको छ । म्याग्दी तर्फको ३८ किलोमिटर क्षेत्रमा अति सुस्त काम भएको छ’ कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरोला सडक आयोजना प्रमुख जगत प्रजापतिले भन्नुभयो, ‘दशैं मनाउन गएका मजदुर निर्वाचनको कारण देखाएर रोकिए, अहिले चिसो छ भनेर फर्केका छैनन् । हामीले ब्यवसायीलाई प्रेसर गरिरहेका छौं ।’

आयोजना प्रमुख प्रजापतिले थप्नुभयो, ‘फिल्डमा देखिनेगरी काम नभएपनि बेनी–घाँसासम्मका खण्डमा सडक विस्तार गर्न टेक्निकल समस्या पनि छ । भिरकाटेमा सुरुङ मार्ग बनाउन अध्ययनजारी छ भने रुप्सछहरामा अघिल्लो बर्ष बाढीले बगाएको मोटरेवल पुलको डिजाइनपछि ठेक्का लगाएका छौं, सम्झौता गर्न बाँकी छ ।’

आयोजनाका अनुसार गत वर्षदेखी थपिएको पर्वतको मालढुङ्गा–बेनी १३ किमी र बेनी–गलेश्वर ३ किमी सडकमा पनि काम भइरहेको छ । नालीको पानी पन्छ्याउने विषयमा स्थानियको अवरोध गरेपछि काम प्रभावित हुँदा ठेक्का लगाएको दुई वर्षमा ३५ प्रतिशत काम सकिएको आयोजनाले दावी गरेको छ ।

आयोजना प्रमुख जगत प्रजापतिले दिएको जानकारी अनुसार मालढुङ्गा–बेनी ३५ प्रतिशत, बेनी–गलेश्वर खण्डमा ठेक्का प्रकृयामा रहेको, गलेश्वर–तातोपानी पहिलो प्याकेजमा ७० प्रतिशत, तातोपानी–घाँसा दोस्रो प्याकेजमा ६५ प्रतिशत, घाँसा–कैकुखोला तेस्रो प्याकेज सतप्रतिशत र कैकु–जोमसोम सडकमा ६८ प्रतिशत काम सकिएको छ ।

‘मुस्ताङ तर्फको दुई प्याकेजको कटिङ, फिलिङ, रिटेनिङवाल, नालीको काम सकिएको छ । गर्मी मौषम सुरु भएर कालोपत्रे गर्न योग्य तापक्रम पुग्ने वित्तिकै कालोपत्रे गर्नेगरी ठेकदारलाई तयारी बस्न भनेका छौं’ आयोजना प्रमुख प्रजापतिले भन्नुभयो, ‘म्याग्दी क्षेत्रको दाना खण्डमा अघिल्लो र यस वर्ष ठूलाठूला बाढीपहिरोले सडकमा धेरै क्षति पु¥याएकोले ब्यवसायीले प्रगति देखिनेगरी काम गर्न सकेनन । पहिरोमा अझै धेरै काम बाँकी छ । यो हिउँदा ब्यवसायी परिचालिन हुन सके म्याग्दी खण्डमा पनि यो वर्ष धेरै भाग कालोपत्रे गर्छौ ।’

बेनी–जोमसोम सडक खण्डमा भएको कामको ढिलाइले गर्दा राउण्ड अन्नपूर्ण भ्रमणमा आउने विदेशी पर्यटकहरुले सास्ती खेप्न वाध्य हुनुपरेको छ । यसैगरी उत्तरी म्याग्दी र मुस्ताङका वासिन्दाहरु मारमा परेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?