गोठी गाउँमा गाडी पुग्दा स्थानीय खुसी

दाने बोहरा हुम्ला, संवाददाता
Read Time = 3 mins

हुम्ला । हुम्लाको दक्षिण भेगमा रहेको सर्केगाड गाउँपालिका–५ को गोठी गाउँपालिका पहिलो पटक गाडी पुग्दा स्थानीय खुसी भएका छन् । गाउँपालिका केन्द्र सर्केगाड बजारमा गाडी पुगेपनि गाउँमा सडकले छोएको थिएन् ।

सडक निर्माण सम्पन्न भएर गाउँमै गाडी पुगेर यात्रु पुगेपछि खुसी भएको स्थानीय कविन्द्र शाहीले बताउनुभयो । स्थानीयको वर्षौंदेखि गाडी देख्ने सपना पूरा भएपछि बाजागाजासहित खुसीयाली मनाएको शाहीले बताउनुभयो । घरआँगनमा सडक सञ्जाल जोडिएको हेर्ने चाहना पूरा हुनुका साथै आवतजावतदेखि सम्पुर्ण सामग्री ढुवानीमा सहज हुने भएको उहाँले बताउनुभयो । अब यहाँका स्थानीयले पालिका केन्द्रदेखि गोठी गाउँसम्म आवतजावत गर्दा पैदल हिड्नु पर्ने बाध्यताको अन्त्य भएको छ । गाउँमा गाडी पुगेपछि पिठ्युमा भारी बोक्नु पर्ने बाध्यताको समेत अन्त्य भएको शाहीले बताउनुभयो ।

सडक सञ्जालसँग जोडिए पछि एकसाथ ६ वटा बोलेरो जीप गोठी गाउँमा पुगेपछि जेष्ठ नागरीक समेत खुसी भएको अर्का स्थानीय जैमल शाहीले बताउनुभयो । गोठी गाउँमा गाडी मात्र पुगेको छैन राष्ट्रिय सडक सञ्जालसँग समेत जोडिएको छ । सर्केगाड गाउँपालिका केन्द्र यसअघि नै राष्टिय सडक सञ्जालसँग जोडि सकेको थियो ।

गाउँमा ताँती लागेर आएका यात्रुले भरिएका बोलेरो जीपलाई बाजागाजा बजाएर चालक तथा यात्रुलाई अबिर, फूलमाला र अक्षता लगाएर भव्य स्वागत गरिएको हो । दुर्गम गाउँमा गाडी पुगेपछि अब बिरामीदेखि सबै खाले यात्रुलाई यात्रामा सहज मात्र नभएर सामान ढुवानी गर्न पनि सजिलो हुने भएको शाहीले बताउनुभयो ।

सर्केगार्ड, गोठी, रोडिकोट, फुचा, राहदेब, पंङ्खा हुँदै मारघोरसम्मको सडक निर्माणका लागि पूर्वाधार विकास कार्यालयले चार करोड ४९ लाख बजेटको व्यवस्था गरेको थियो । अघल्लिो आर्थिक वर्षबाट सो सडकको निर्माण सुरु भएपनि बिष्फोटक पदार्थ व्यवस्था गर्न निर्माण कम्पनीलाई समस्या भएको कारण हाल आएर सडक निर्माण पूरा भएको हो । उक्त सडक पाँचदेखि दश मिटर चौडाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?