काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔँ महाअभियान’को कार्यक्रम सुरु भएको छ । राजधानीको भृकुटीमण्डपमा दियो बालेर महाअभियानको पहिलो वार्षिकोत्सव कार्यक्रम सुरु भएको हो । वार्षिकोत्सवबाटै अर्को चरणको आन्दोलन सुरु गर्न लागेको प्रसाईंले बताउनुभएको छ । प्रसाईंले संघीयता खारेज गर्नुपर्ने, हिन्दुराष्ट्र कायम गर्नुपर्ने, २०४७ को संविधान लागू गर्नुपर्ने, बैंक तथा वित्तीय संस्थाहरूलाई राष्ट्रियकरण गर्नुपर्ने मागसहित अर्को चरणको आन्दोलन गर्न लाग्नुभएको हो । प्रसाईंले काठमाडौंको टुँडिखेलमा कार्यक्रम गर्ने तयारी गरे पनि गृहमन्त्री नारायणकाजी श्रेष्ठले आन्दोलनका लागि टुँडिखेल उपलब्ध गराउन नसकिने बताउनुभएको थियो । श्रेष्ठले प्रसाईंलाई सोमबार टेलिफोन गरेर सरकारविरुद्धको आन्दोलनको लागि राजधानीको टुँडिखेलमा स्थान दिन नसक्ने बताउनुभएको थियो ।
यसअघि प्रसाईं समूहले गत मंसिर ७ गते काठमाडौंको बल्खुमा कार्यक्रम गरेको थियो । राजधानीमा आयोजित सभामा मानिसहरूको उल्लेख्य उपस्थिति थियो । कार्यक्रममा सहभागिता जनाउनेहरूको ¥याली नै सातवटा रुटबाट निकालिएको थियो । संयोजक प्रसाईँ विशेष तामझामसहित भृकुटीमण्डप पुग्नुभएको थियो । कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसहित एउटा विशेष समुदायका विभिन्न व्यापारिक गु्रपको नाम लिएर देश डुबाउन उनीहरू संलग्न रहेको आरोप लगाएको भिडियो पनि सार्वजनिक गरिएको थियो । प्रसाईंको अभियानलाई राप्रपाले पनि नैतिक समर्थन गरेको छ ।
देशमा गणतन्त्र ल्याउनु अभिशाप भयो : प्रसाईँ
व्यवसायी तथा राजावादी अभियन्ता दुर्गा प्रसाईंले देशमा गणतन्त्र ल्याउनु अभिशाप भएको टिप्पणी गर्नुभएको छ । उहाँले गणतन्त्रका लागि आफू पनि लडेको तर यो व्यवस्थाले आफूलाई भिक्टिम बनाएको गुनासो गर्नुभयो । काठमाडौंमा मंगलबार ‘नागरिक बचाउ अभियान’ को वार्षिकोत्सव मनाउन आयोजित कार्यक्रममा प्रसाईंले राजतन्त्र फ्याँक्नु आफ्नै टाउको काटेर फ्याँकेजस्तो भएको बताउनुभयो । ‘यो व्यवस्था परिवर्तनको भोलिपल्ट संसारका मान्छे यो देशमा आउने वातावरण बनाइन्छ,’ उहाँले भन्नुभयोे, ‘हिजो वीरे चोर देश छोड् भनियो । ज्ञाने चोर देश छोड् भनियो । गणतन्त्र ल्याइयो । तर, जुन दिन राजा फ्याँक्यौँ, यो शिर (टाउकोबाट टोपी फुकाल्दै) निकालेर फ्याँकेजस्तो भयो । आज सबैभन्दा ठूलो कुरा हामीले आफ्नै शिर काटेर फ्याँक्यौँ ।’
यो राज्यबाट सबैभन्दा भिक्टिम भएको व्यक्ति आफू नै भएको प्रसाईंले बताउनुभयो । ६८ सालमा आफूले सरकारबाट अनुमतिपत्र लिएर मेडिकल कलेज स्थापना गरेको तर अहिलेसम्म सम्बन्धन नपाएको उहाँको गुनासो छ । सम्बन्धनकै लागि आफू विगतमा प्रचण्ड र केपी ओलीको पछि लागेको स्वीकारोक्ति उहाँले व्यक्त गर्नुभयोे । ओली-प्रचण्डलाई मार्सी भात खुवाएर पनि केही हात नपरेको र उल्टै राज्यबाट आफू भिक्टिम बनेको उहाँले बताउनुभयो । प्रसाईँले मिटरब्याज पीडितहरूको आँसुले शासकहरूलाई पोल्ने उल्लेख गर्दै सात पुस्तासम्म यसले असर गर्ने टिप्पणी पनि गर्नुभयो । उहाँले एक लाख मानिसले नागरिकता त्यागेको उल्लेख गर्दै नेपालीले दुईटा नागरिकता राख्न पाउनुपर्ने बताउनुभयो ।
प्रसाईंले बम्बईको कोठीबाट बेचिएका चेलीबेटीलाई बचाउने प्रधानमन्त्री यो देशमा चाहिएको बताउनुभयो । तस्करहरूलाई घुँडा भाँचेर अस्पतालमा राख्नुपर्ने पनि उहाँले बताउनुभयो । आफ्नोे अभियानले हारे नेपालीहरू सडकमा पुग्नुपर्ने उहाँले दाबी गर्नुभयो । उहाँले ७० प्रतिशत काठमाडौंका दोकान बन्द हुने भनी आफूले भनेको पूरा भएको पनि बताउनुभयो । बैंकहरू मिटरब्याजमा परिणत भएको आरोप पनि उहाँको थियो । ‘सर्वहारा मान्छे र भुइँमान्छेको आवाज बाहिर ल्याउँदा कालोमोसो दल्छौ भने जति दल्छौ दल’ भनी उहाँले युवासंघलाई चुनौती पनि दिनुभयो ।
राजसंस्था पुनः स्थापनाका लागि राप्रपा र प्रसाईंबीच वार्ता समिति
राजसंस्था तथा हिन्दु अधिराज्य पुनःस्थापनाको आन्दोलनका लागि समान विचार भएका दल, व्यक्ति र समूहसँग वार्ता गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले डा. धवलशमशेर राणा र हेमजंग गुरुङ सदस्य रहेको वार्ता समिति बनाएको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले दुर्गा प्रसाईंलाई सोमबार भेटेपछि वार्ता टोलीले औपचारिकता पाएको हो । आन्दोलन परिचालन समितिका संयोजक राणाले सबै पक्षसँग अनौपचारिक छलफल भने यसअघिबाटै गर्दै आउनुभएको थियो । आन्दोलनमा सहमति र आवश्यक वातावरण निर्माण गर्न राणा र प्रसाईं यसअघि एकै कार्यक्रममा नारायणहिटीमा उपस्थित हुनुभएको थियो । प्रसाईंले राप्रपाका संस्थापक अध्यक्ष लोकेन्द्रबहादुर चन्द, निर्देशन समिति अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी, उपाध्यक्ष रवीन्द्र मिश्रलगायत दोस्रो तहका नेता, पदाधिकारीहरूसँग भेटघाट गर्दै आउनुभएको छ । अध्यक्ष लिङ्देनको अगुवाइमा राप्रपाभित्र एक घटक अझै पनि सरकारमा जाने दाउमा छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच