आजकै दिन हामीमध्ये धेरैले अक्षरारम्भ गरेका हुन सक्छौँ । आजको दिन सर्जकरुको दिन हो। सिर्जना र शब्दहरुको पूजा गर्ने विशेष दिन अर्थात सरस्वती पूजाको अवसरमा सम्पूर्ण महानुभावलाई शूभकामना । सिर्जनाका औजारहरु कागज, कलम अनि मसीको आज पूजा गरिन्छ । सरस्वतीको असीम कृपाले सकारात्मक शब्दहरु, भावहरु र ब्यख्याहरुको पदार्पण भईरहोस् । सर्जकहरु चाहे लेखक हुन्, या गायक, सूचिकार हुन्, या किसान, घर बनाउने मिस्त्रीदेखि मुर्तिकारसम्म सबैले आफ्नो सिर्जनाको सम्मान तथा उचित मूल्य पाउन् । सिर्जनाको उजेलीले हाम्रो समाजलाई अँध्यारोबाट उज्यालोतिर डोर्याइ रहोस् ।
श्रीपञ्चमी हिन्दु धर्मावलम्बीहरुको पर्व हो । आजका दिन विद्याकी देवी सरस्वतीको पूजा-आराधना गरिन्छ । यो पूजा पूर्वी भारत र नेपालमा ठूलो उत्साह सहित मनाइन्छ । यो पर्व वेदाङ्ग ज्योतिषकालमा वसन्त ऋतु मधु मासमा (आर्तव चैत्रमासमा) मनाइन्थ्यो । कालान्तरमा वार्हस्पत्य संवत्सरको लौकिक पञ्चाङ्ग चलनमा आएपछि माघ शुक्ल पञ्चमी तिथिमा मनाउन थालियो ।जसलाई वसन्त पञ्चमी पनि भनिन्छ । एकपटक ऋतुराज वसन्तलाई अन्य पाँच ऋतुले आठ/आठ दिनसम्म भेट गरेका थिए । पाँच ऋतुले गरी चालिस दिन भेट गरेकाले वसन्त ऋतु सुरु हुने चैत्रकृष्ण प्रतिपदाभन्दा चालिस दिन अगावै माघ शुक्ल पञ्चमीकै दिन वसन्त पञ्चमी मनाउन थालिएको हो ।यसै समयदेखि वसन्तराग गाउन थालियो ।
वैदिक सनातन हिन्दु संस्कार अत्यन्त व्यवहारीक आयामहरु हुन् । यी संस्कारहरु नेपालीपनका अभिन्न अङ्गहरु हुन् । हलो, गोरु, माटो, कुकुर लगायत चेलीबेटी, औजारहरु अनि अन्नबालीहरुका साथै आजको दिन सिर्जना अनि ज्ञानको पूजा गर्ने दिन हो । आजकै दिनबाट क्रमशः वसन्त ऋतुको सुरुवात हुने मान्यता रहेको छ । यो हिउँदको मुटु छेड्ने जाडो र पानीको ठिहिबाट क्रमशः अब कोईलीको कुहु कुहु अनि न्यानोपनको राजा वसन्तको स्वागत हो । यो बेला पहिला वसन्त ऋतुको स्वागतमा वसन्तोत्सव मनाइन्थ्यो ।
एक वर्षमा हुने बाह्र महिनालाई विभिन्न ६ भागमा विभाजन गरी ६ वटा ऋतुहरु बनाइएका हुन् । वसन्त ऋतु चैत्र र वैशाखमा पर्न आउँछ । ६ वटै ऋतुहरुमध्ये वसन्त ऋतुलाई सर्वश्रेष्ठ मानिन्छ । वसन्त ऋतुलाई “ऋतुराज वसन्त” पनि भनिन्छ । सौर्यमानअनुसार सूर्य माघ १ देखि असार मसान्तसम्म उत्तरायणतर्फ र साउन १ देखि पुस मसान्तसम्म दक्षिणायनतर्फ रहन्छन् । अर्को शब्दमा भन्नु पर्दा माघे संक्रान्तिपछि सूर्य दक्षिणायनबाट उत्तरायणतर्फ लाग्न थाल्छन् । यसै समयलाई वसन्तको प्रारम्भ मानिन्छ । यही समयदेखि वसन्तको अग्रिम रुपमा स्वागत गर्ने चलन छ । वसन्तोत्सवको प्रचार शिशिर ऋतुकै मध्य समयदेखि अर्थात माघदेखि नै हुन थाल्छ । श्रीपञ्चमी महोत्सव नै वसन्तोत्सव हो ।
श्रीपञ्चमी अर्थात वसन्त पञ्चमी विद्यार्थीहरुले उत्साह तथा आराधना साथ विद्या तथा वाणीको अधिष्ठात्रीका रुपमा मानिएकी देवी शारदा अर्थात विद्या, भाषा, वाणी सरस्वतीको पूजा गर्ने दिन हो । यो दिन विद्यार्थीहरु सरस्वती मन्दिरमा गएर “पढ्न आओस” भन्दै पुस्तक र देवीको विशेष श्रद्धाभक्ति पूर्वक पूजा गरेर विद्याको वरदान माग्दछन् । विद्यालय नपठाईएका साना बालबालिकालाई आजकै दिन देखि अक्षरारम्भ गराउने चलन छ । आजका दिन लेखपढ गर्न सिकाए राम्रो विद्या आउने जनविश्वास छ । आजका दिन सरस्वतीको पूजा गरी अक्षरारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने विश्वास छ ।
पाउँ सरस्वती हामी सबैले विद्याको वरदान !
शरणगत छौँ प्रभुका पदमा बालक हामी अज्ञान !!
चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनले भारती, शारदा, हंसवाहिनी, जगन्तमाता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन् । माता सरस्वतीका यी बाह्र नाम उच्चारण गर्नाले कार्यसिद्धि मिल्ने धार्मिक विश्वास रहेको छ ।
सरस्वती मया दृष्टा, वीणापुस्तकधारिणी ।
हंसवाहनसंयुक्ता, विद्यादानं करोतु मे ।।१।।
प्रथमं भरती नाम, द्वितीयञ्च सरस्वती ।
तृतीयं शारदा देवी, चतुर्थं हंसवाहिनी ।।२।।
पञ्चमं तु जगन्माता, षष्ठं वागीश्वरी तथा ।
सप्तमं चैव कौमारी, अष्टमं वरदायिनी ।।३।।
नवमं बुद्धिदात्री च, दशमं ब्रह्मचारिणी ।
एकादशं चन्द्रघण्टा, द्वादशं भुवनेश्वरी ।।४।।
द्वादशै तानि नामानि, त्रिसन्ध्यं य पठेन्नरः ।
जिव्हाग्रे वसते तस्य, ब्रह्मरुपा सरस्वती ।।५।।
श्वेत वस्त्र धारण गरेकी, गोरो वर्णकी, मुस्कुराइरहेकी, सर्वोत्तम रत्नद्वारा निर्मित आभूषणले सुशोभित, पहिलो हातमा वीणा, दोस्रोमा पुस्तक र तेस्रोमा स्फटिकको माला र चौथो हात अभ मुद्रामा रहेकी देवी सरस्वती हुन् भनी शास्त्रमा उल्लेख छ ।
उनको प्रतिकात्मक चित्र, वाहन, हातमा लिएका वाद्ययन्त्र सबैले खास अर्थ बोक्छन् । उनले हातमा लिएको वीणाले जीवन धुन हो, यो मधुर हुनुपर्छ, लयवद्ध हुनुपर्छ, कलाले जीवनलाई संगीतमय बनाउँछ भन्ने वोध गराउँछ । पुस्तकले विद्याको र मालाले निष्ठा र सात्विकताको वोध गराउँछ ।राजहंस सरस्वतीकी वाहन हुन् । राजहंस दुधपानी छुट्याउन सक्ने निरक्षर विवेकीको संज्ञा र वरदान पाएको हो । समग्रमा विद्यानै मानिसको सौन्दर्य हो भन्ने बोध गराउँछ ।
वसन्त उल्लास हो, सुगन्ध हो, मुस्कान हो, सौन्दर्य हो, प्रकृति हो, संगीत हो, साधना हो र वसन्त जीवन हो । यस्तै भावले माता सरस्वतीको पूजा-आराधना गरिन्छ ।देवी सरस्वती हिन्दु धर्म की प्रमुख देवी हुन् । जसलाई ज्ञान तथा विद्याकी देवी भनिन्छ । ऋग्वेदमा वाग्देवीका नामले प्रसिद्धि पाएकी ब्रह्माकी अर्धाङ्गिनी ब्रह्मायणीको पूजा उपासनाले सबै प्रकारको ज्ञान, सिद्धि र सद्बुद्धि प्राप्त हुने भएकाले सरस्वती पूजाको ठूलो महत्तव छ । विद्याकी देवीको रुपमा विशेष गरी शिक्षालयहरुमा सरस्वतीको पूजा आराधना गरि मनाउने परम्परा छ । घर घरमा रहेका पुस्तक, सरस्वतीका प्रतिमाहरुमा पनि आजको दिन विशेष पूजाआजा गरिन्छ ।
विद्या र सिर्जनाकी देवी भएकाले विशेषगरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ-आफ्ना कला-साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रुपमा पूजा-आराधना गर्छन् । सरस्वतीलाई तान्त्रिकहरुले तन्त्र सिद्धिका लागि तारादेवीका रुपमा मान्छन् भने बौद्ध धर्मावलम्बीले सरस्वतीलाई बोधिसत्व मञ्जुश्रीका रुपमा ज्ञाको प्रतीक मानेर पूजाआजा गर्छन् ।
सरस्वतीका प्रसिद्ध पीठहरु मध्ये काठमाडौं उपत्यकामा जय वागीश्वरी, स्वयम्भूमा मञ्जुश्री, हाँडीगाउँ, बल्खु, गौह्रीधारा, भक्तपुरजिल्लाको थाकलमाठको सरस्वती मन्दिर र हनुमानघाटको नीलसरस्वती, ललितपुरको लेलेस्थित सरस्वती मन्दिरहरुमा श्रीपञ्चमीका दिन विशेष भीड लाग्ने गर्दछ । तराई क्षेत्रमा माटाका सरस्वती मूर्ती बनाई पूजा गर्ने चलन छ । मूर्तीमा प्राण प्रतिष्ठा गरी धूमधामसँग पूजा गरी बाजागाजा सहित जलाशयमा बिसर्जन गर्ने चलन छ। श्रीपञ्चमीका दिन कामदेव र रतीको पनि पूजा गरिन्छ । वसन्तका प्रतीक कामदेव र उनकी स्त्री रतीको विशेष स्मरण गर्ने दिन वसन्तको आगमन उत्सवमा वसन्त राग गाउने चलन छ ।यस दिन धार्मिक तथा साँस्कृतिक नगरी जनकपुरधामका विभिन्न शिक्षण संस्थाका साथै टोलटोलमा देवी सरस्वतीको कलात्मक मूर्ती स्थापित गरी उल्लासमय वातावरणमा पूजापाठ गर्ने गरिन्छ । विद्यार्थीहरु बिहानै स्नान गरी आ-आफ्ना पुस्तक, कापी र कलम माता सरस्वतीको तस्वीर नजिक राखेर पूजापाठ गर्ने गर्छन् । सरस्वतीको पूजाको लागि प्रसादमा बयर, सखरखण्ड, केरा र बेसनबाट बनाइएका बुनियाका साथै विभिन्न प्रकारका फलफूल र मिठाई पनि चढाउने गरिन्छ ।
देवी सरस्वतीको जन्म सृष्टिको प्रारम्भमा ब्रह्माजीको मुखबाट भएको थियो । उनै ब्रह्माजीका ४ मुखबाट सम्पूर्ण ज्ञान-विज्ञानका स्रोत ४ वेद प्रकट भएका हुन् । पौराणिक आख्यानअनुसार वनस्पति र पशुपक्षीको सृष्टि गरिसकेपछि भगवान् विष्णुको आज्ञाअनुसार संसार चलाउन ब्रह्माजीले विशेष जीवको सृष्टि गर्नुपर्ने भयो । मनुष्यको योनि रचना गर्न ब्रह्माजीलाई निकै सकस परेको थियो ।सुरुको प्रयासले सन्तोषजनक परिणाम नदिएपछि सबैतिर सन्नाटा छाएको थियो । उनलाई लाग्यो कि केही कुरा अपुरो छ । त्यसपछि उनले आफ्नो कमण्डलुबाट जल छर्किए, जसबाट चार हात भएकी एक सुन्दर स्त्री प्रकट भइन् । ब्रह्माजीले ती देवीसँग वीणा बजाउने अनुरोध गरिन । जसै देवीले वीणा बजाउन सुरु गरिन्, संसारको समस्त जीवजन्तुहरुमा आवाज भरियो । त्यसपछि ब्रह्माजीले उनलाई “वाणीकी देवी सरस्वती” नामाकरण गरे भने श्रीकृष्णले उनलाई “वसन्त पञ्चमीको दिन उनको आराधना गरिने” वरदान दिए । त्यस बेलादेखि नै भारत र नेपालका धेरै भागहरुमा ब्रह्माजीले देवी सरस्वतीको उत्पत्ती गरेको दिन वसन्त पञ्चमीको दिन सरस्वतीको पूजा गरी यिनको जन्मोत्सवको रुपमा मनाइदै आएको छ ।
सरस्वतीलाई चढाइएको ७ गेडा अक्षता दाँतले नछोइ निलेमा विद्या र बुद्धि स्फुरण भई विद्यादेवीबाट चेतनाको ज्योति पाइन्छ भन्ने धार्मिक विश्वास छ । यस अवसरमा हनुमानढोका दरबारको नासल चोकमा राष्ट्राध्यक्षले वसन्त श्रवण गर्ने चलन छ ।
यो सामाग्री हाम्रा पाठकले पोस्ट गर्नु भएको हो । यसमा हामीले शुद्धाशुद्धी तथा भाषागत त्रुटीलाई हेरेका छैनौं । यसबाट पर्न गएको असुविधाप्रति क्षमा गर्नुहोला । – सम्पादक
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच