काठमाडौं । पछिल्लो समय नेपालमा सवारी दुर्घटनाका घटना हृवात्तै बढेका छन् । केही वर्ष पहिले पहाडी जिल्लाबाट दुर्घटनाका समाचार बढी आए पनि पछिल्लो समय सुगम जिल्लाहरूमा पनि दुर्घटना बढी हुने गरेको पाइएको छ । मंगलबार मात्र पाल्पाको तिनाउ गाउँपालिका–६ चिदिसमा जिप दुर्घटना हुँदा १० जनाले ज्यान गुमाएकोमा बिहीबार बिहान कपिलवस्तुमा बस दुर्घटना हुँदा १० जनाले नै ज्यान गुमाएका छन् । दुवै घटनामा झण्डै ५० जना घाइते भएका छन् । यी त प्रतिनिधि ठूला दुई घटना मात्र हुन् । नेपालभर हरेक दिन ४८ देखि ६० वटा दुर्घटना हुने गरेको तथ्यांक प्रहरीसँग छ । जसमा सरदरमा १० देखि १५ जनाको मृत्यु सवारी दुर्घटनाबाट हुने गरेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को एक प्रतिवेदनले नेपालमा हुने अकाल मृत्युको पहिलो कारण नै सवारी दुर्घटना भएको औँल्याएको छ । अपांगता हुनुको पहिलो कारण पनि सवारी दुर्घटना नै भएको प्रतिवेदनको ठहर छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका वरिष्ठ उपरीक्षक एवं प्रवक्ता राजेन्द्रप्रसाद भट्टका अनुसार ८० प्रतिशत दुर्घटना चालकको लापरबाहीबाट हुने गरेको छ । १० प्रतिशत सडक र वातावरणका कारण तथा १० प्रतिशत यान्त्रिक गडबडी वा प्राविधिक कारणले दुर्घटना हुने गरेका छन् ।
कपिलवस्तुमा बस दुर्घटना, १० जनाको मृत्यु
कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । अन्य ३० जना घाइते भएका छन् । मृतकमध्ये सात पुरुष र तीन महिला छन् । ज्यान गुमाउनेमध्ये सातजना कञ्चनपुरका हुन् । मृत्यु हुनेमा रौतहटको औराही-३ का ४६ वर्षीय नारायणबहादुर भण्डारी, सल्यान सौनिक हल-३ बस्ने कालीजंग गण गोरुसिंगेमा कार्यरत नेपाल आर्मीका ४१ वर्षीय अर्जुनकुमार योगी, भारत उत्तरप्रदेश मुरदाबादका ५५ वर्षीय सकिल मुसलमान, महेन्द्रनगर-१ कञ्चनपुरका २७ वर्षीय राहुलराम कामी र भीमदत्त-४ कञ्चनपुरका २४ वर्षीय उमेश भण्डारी रहनुभएको छ ।
यस्तै, दुर्घटनामा भीमदत्त नगरपालिका-१६ कञ्चनपुर सञ्जु थापा, कञ्चनपुरको भीमदत्त नगरपालिकाका २७ वर्षीया खगेश्वरी खाती, भीमदत्त नगरपालिका-२ का २२ वर्षीय सुदीप भट्ट, पुर्नवास-९ बिसफाटाका अन्दाजी ७० वर्षीया विमलादेवी भट्ट, पुर्नवास-९ बिसफाटा कञ्चनपुरका अन्दाजी ८० वर्षीय विशनदत्त भट्टको ज्यान गएको कपिलवस्तु प्रहरी प्रमुख नवरत्न पौडेलले जानकारी दिनुभयो ।
जिल्लाको शिवराज नगरपालिका-१ सुरही खोलामा यात्रुबहाक बस दुर्घटनामा परेको हो । महेन्द्रनगरबाट काठमाडौं आउँदै गरेको सुनौलो महाकाली यातायातको सुपप्र ०२-००१ ख ००९८ नम्बरको बस बिहीबार बिहान १ बजेतिर सडकबाट २०० मिटर तल खसेर दुर्घटना भएको थियो ।
दुर्घटनाका घाइतेमध्ये केहीको बुटवलस्थित चौराहा अस्पताल र केहीको चन्द्रौटास्थित कपिलवस्तुको विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ । गाडी चालक भीमदत्त-४ का पूर्णबहादुर चन्दको पनि चौराहा अस्पतालमा उपचार भइरहेको छ । उहाँलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएर उपचार गराइएको हो । तीव्र गतिका कारण अनियन्त्रित भएर बस दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
चालक भन्छन्- यात्रु बचाउन खोज्दा बस उछिट्टिएर खोलामा खस्यो
दुर्घटनाग्रस्त बसका चालक पूर्णबहादुर चन्द पहाडी घुम्तीमा बसको ब्रेकले काम नगरेपछि दुर्घटना भएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘बसको ब्रेकले अचानक काम गरेन, मैले यात्रु बचाउन पहाडतिर च्यापेँ तर पहाडमा ठोक्किएर बस उछिट्टिएर खोलामा खस्यो ।’ आफूभन्दा पछाडि आएका बसका कर्मचारी र यात्रुले भालुवाङ प्रहरीलाई जानकारी गराएपछि मात्र चन्द्रौटा र भालुवाङबाट नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली पुगेर उद्धार गरेको उहाँको भनाइ थियो । यता, उपचारमा रहेका घाइतेहरू पनि उद्धारमा ढिलाइ हुँदा यात्रुहरूको ज्यान गएको बताउँछन् । घटनास्थल घनाजंगल र पहाडमा पर्ने भएकाले सहज रूपमा सञ्चार सम्पर्क हुन नसक्दा उद्धारमा ढिलाइ भएको यात्रुहरूको भनाइ छ ।
उनीहरूले बसमा समस्याभन्दा पनि चालकको लापरबाहीले दुर्घटना भएको बताएका छन् । घाइते काठमाडौं कीर्तिपुरका अनिल ताण्डुकारका अनुसार बस तीव्र गतिमा रहेको र चालकले गियर बदल्ने बेलामा ठूलो आवाज आएको र त्यसको केही समयमै अनियन्त्रित भएर दुर्घटना भएको बताउनुहुन्छ । उहाँ बसको क्याबिनमा चालक नजिकैको सिटमा बस्नुभएको थियो । राति भएकाले अधिकांश यात्रु मस्त निद्रामा थिए ।
१० वर्षमा तीन गुणाले बढ्यो दुर्घटना
पछिल्लो १० वर्षमा सवारी दुर्घटना झण्डै तीन गुणाले बढेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार दुर्घटनाबाट मानवीय क्षति पनि सोही अनुपातमा बढेको पाइएको छ । १० वर्षअघि (आव २०६८/६९) को तथ्यांकमा कुल आठ हजार ९२ दुर्घटना भएका थिए । त्यसमा १४ हजार २८७ सवारीसाधन परेका थिए । दुर्घटनामा एक हजार ८३७ को मृत्यु र चार हजार १९ जना गम्भीर घाइते भएका थिए । ठिक त्यसको १० वर्षपछि आर्थिक वर्ष २०७८/७९ को अभिलेखानुसार सवारी दुर्घटना हृवात्तै बढेर २४ हजार ५३८ पुग्यो । उक्त वर्ष ३९ हजार ३७९ सवारीसाधन दुर्घटनामा परे । ती दुर्घटनाबाट कुल दुई हजार ८८३ जनाको मृत्यु भयो भने सात हजार २८२ यात्रु गम्भीर घाइते भएका थिए । २०७९/८० को तथ्यांक भने आउने क्रममा रहेको प्रहरीले जनाएको छ ।
१० वर्ष अघिको एक वर्ष र १० वर्षपछिको एक वर्षको तथ्यांक हेर्दा दुर्घटना संख्या १६ हजार ४४६ ले बढ्यो भने मानवीय क्षति एक हजार ४६ ले बढी देखियो । ती दुर्घटनामा संलग्न रहेका सवारीसाधन हेर्दा झण्डै आधा मोटरसाइकल परेको देखिएको छ । प्राप्त विवरणअनुसार विसं २०७२ सालदेखि भने एक्कासि सवारी दुर्घटना र मानवीय क्षतिमा वृद्धि भएको तथ्यांकले देखाउँछ । विसं २०७५ सम्म सवारी दुर्घटना संख्या ११ हजार नाघेको थिएन । त्यसपछि भने दुर्घटना हृवात्तै बढेको छ । जसले मुलुकको वार्षिक अर्थतन्त्रको कम्तीमा पनि ०.९ प्रतिशत नोक्सान पुगिरहेको विभिन्न रिपोर्टहरूले देखाएका छन् । यस्तो नोक्सान सडक दुर्घटनाकै कारण प्रतिवर्ष नेपालीले ३० अर्ब रुपैयाँभन्दा बढी गुमाउने गरेको अनुमान छ । विज्ञका अनुसार सुरक्षित सडक पूर्वाधारको कमी, सवारीसाधनको उच्चतम प्राविधिक पक्षको ज्ञानको कमी, सडक अनुशासन अर्थात् ट्राफिक नियमको परिपालनमा समस्या र सडक तथा यातायातको मनलाग्दी प्रयोग नै दुर्घटनाको प्रमुख कारकको रूपमा देखिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच