काठमाडौं । नेपालका विश्वविद्यालयहरूमा राजनीतिकरणको अन्त्य नभएसम्म शिक्षा क्षेत्रको विकास हुन नसक्ने विज्ञहरूले बताएका छन् । शुक्रबार संघीय संसद् प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै समाजशास्त्री चैतन्य मिश्र, कानुनविद् माधव पौडेल, डा. अर्जुन कार्की लगायतका विज्ञहरूले विश्वविद्यालयमा दलीयकरण रहेसम्म राम्रो काम गर्न नसकिने बताउनुभयो ।
समितिको बैठकमा समाजशास्त्री मिश्रले दलतन्त्रले विश्वविद्यालयमा ठूलो हानि गरिरहेको बताउनुभयो । उहाँले विश्वविद्यालयसँग सरकार मिसिए पनि राजनीतिक दल मिसाउन नहुनेतर्फ सरकारलाई सचेत गराउनुपर्ने बताउनुभयो । समाजशास्त्री मिश्रले सरकारी विश्वविद्यालयलाई सार्वजनिक विश्वविद्यालय भन्नुपर्ने तर्कसमेत गर्नुभयो । उहाँले विश्वविद्यालयका लागि आवश्यक खर्चसमेत दिन नसकेको भन्दै सरकारप्रति असन्तुष्टिसमेत व्यक्त गर्नुभयो ।
बैठकमा प्रस्तावित नेपाल विश्वविद्यालय पूर्वाधार विकास समितिका अध्यक्ष डा. अर्जुन कार्कीले सरकारले विश्वविद्यालयलाई स्वयत्तता प्रदान गर्नुपर्ने बताउनुभयो । मुलुकको समृद्धि र विकासका लागि विश्वविद्यालयहरूमा राजनीतिक हस्तक्षेप हुन नहुने उहाँको भनाइ थियो । अध्यक्ष कार्कीले दलीय हस्तक्षेपले निरन्तरता पाइराखे विश्वविद्यालयले कामै गर्न नसक्ने स्पष्ट पार्नुभयो ।
बैठकमा बोल्दै पूर्वकानुन सचिव माधव पौडेलले विश्वविद्यालयको कुलपतिलाई एकेडेमिक पद बनाउन सरकारलाई सुझाव दिनुभयो । उहाँले विद्यालय विद्यालयमा सरकारको अनुदान आवश्यक रहेको उल्लेख गर्दै सरकारले जग्गा खरिद नगरिदिने हो भने विश्वविद्यालय सञ्चालन गर्न कठिनाइ हुने बताउनुभयो ।
नेपाल सरकारले वर्तमान विश्वविद्यालयको संरचनामा राजनीतिक विषय र सम्बन्ध तत्काल हटाउन नसकिने र अहिलेकै संरचनाबाट गुणस्तरीय जनशक्ति उत्पादन गर्न नसकिने भन्दै नेपाल विश्वविद्यालयको अवधारणा अगाडि सारेको छ । स्वदेशका भाषा, संस्कृति, भूगोल, इतिहास, धर्म र परम्परा बुझ्ने जनशक्ति तयार पार्ने लक्ष्यसहित स्थापना हुने विश्वविद्यालय स्वतन्त्र ढंगले सञ्चालन हुनेगरी विधेयकमा व्यवस्था गरिएको सरकारले बताउँदै आएको छ ।
नेपाल विश्वविद्यालय विधेयक, २०७९ प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिमा छलफलमा छ । राष्ट्रिय सभाबाट प्रतिनिधि सभामा आएको यो विधेयकमा राष्ट्रिय सभाका सांसदहरूको मत विभाजित रहेको थियो । नेपाल सरकारले डा. अर्जुन कार्कीको अध्यक्षतामा विभिन्न क्षेत्रका विज्ञ सम्मिलित नेपाल विश्वविद्यालय पूर्वाधार विकास तयारी समिति’ गठन गरिसकेको छ । समितिका सदस्यमा डा. अमिना सिंह, डा. असिम ढकाल, प्राडा. विपिनचन्द्र अधिकारी, वीरेश शाह, डा. दोभान राई, डा. संगीताकौशल मिश्र, डा. उत्तमबाबु श्रेष्ठ, श्रवणकुमार राणालगायत रहनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच