आँधीखोला गाउँपालिकाले आफ्नै जनशक्तिमा स्थानीय पाठ्यपुस्तक बनाउँदै

युवराज पौडेल स्याङ्जा, संवाददाता
Read Time = 3 mins

स्याङ्जा । स्याङ्जाको आँधीखोला गाउँपालिकाले यतिबेला स्थानीय पाठ्यपुस्तक बनाउने काममा जुटेको छ । यसभन्दा पहिले नै स्थानीय पाठ्यक्रम निर्माण गरिसकेको पालिकाले कक्षा १ देखि ८ सम्मकै पाठ्यपुस्तक लेख्ने कामलाई प्राथमिकताका साथ अघि बढाएको छ ।

गाउँपालिकाले पाठ्क्रम तथा पाठ्यपुस्तक निर्माण समिति, मस्यौदा लेखन उपसमिति, विषयगत समन्वय उपसमिति, मूल्याङ्कन उपसमितिलगायत विभिन्न उपसमिति बनाएर व्यवस्थित तरिकाले कामलाई अगाडि बढाएको हो ।

‘आँधीखोला गाउँपालिका श्रवणकुमार समाधिस्थल, सिरुबारी होमस्टे, माझु भन्ज्याङ, गोरुजुरे जस्ता अनेकन सम्पदाले भरिपूर्ण छ । यी सम्पदाको पहिचान तथा बालबालिकालाई आफ्नो गाउँठाउँ, सभ्यता, संस्कार सिकाउने उद्देश्यले स्थानीय पाठ्यक्रम तथा पाठ्यपुस्तक निर्माण गरिरहेका छौं’ गाउँपालिका अध्यक्ष विश्व पौडेलले भन्नुभयो ।

स्थानीय पाठ्यपुस्तक स्थानीय जनशक्तिकै परिचालन गरी बनाउन लागिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज अधिकारीले बताउनुभयो । ‘यहीँका शिक्षकहरुको टिमले मिहिनेतका साथ पाठ्यपुस्तक लेखनको काम अघि बढाउनुभएको छ ।’

पाठ्यपुस्तक निर्माण समितिका संयोजक तथा जनप्रदीप माविका प्रअ डिलबहादुर थापाले कक्षा १ देखि ५ सम्मको पाठ्यपुस्तकको मस्यौदा लेखनको काम सकिसकेको तथा ६ देखि ८ को पनि काम भइरहेको बताउनुभयो । ‘विभिन्न उपसमितिहरु निर्माण गरी विज्ञहरुको सल्लाह अनुसार ९ वटा टिम बनाएर विधागत हिसाबले लेखनको काम भइरहेको छ,’ थापाले भन्नुभयो ।

समितिमा प्रअहरु बुद्धिबहादुर क्षेत्री, दिप्तीनारायण शर्मा, मेघनाथ तिमिल्सिना, बुद्धिसागर शर्मालगायतका प्रअहरु तथा शिक्षकहरु सुन्दर पौडेल, पुर्खराज पौडेल, रेशम पौडेल, रामप्रसाद पौडेल, युवराज पौडैललगायतका हुनुहुन्छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?