प्रधानमन्त्रीलाई लामिछानेको प्रश्नः बालकुमारी घटनाका दोषी मन्त्रीलाई कारबाही गर्ने कि नगर्ने ?

हिमालय टाइम्स
Read Time = 8 mins

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बालकुमारी घटनामा दोषी ठहर भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई कारबाही गर्ने कि नगर्ने भनि प्रधानमन्त्री पुष्पकमल दाहललाई प्रश्न गर्नुभएको छ ।

आईतवार प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले आजकै बैठकमा प्रधानमन्त्री दाहालले त्यस प्रश्नको जवाफ दिनुपर्ने मागसमेत गर्नुभयो । सभापति लामिछानेलेसो घटनामा दोषी करार मन्त्री ज्वालाले नैतिकताको आधारमा राजीनामा नदिएको, प्रधानमन्त्री दाहालले समेत चुइँक्क नबोलेकोमा आपत्ति जनाउँदै अब प्रधानमन्त्रीले सुशासनको भाषण गर्दै हिँड्ने नैतिकतासमेत गुमाएको जिकिर गर्नुभयो ।

सभापति लामिछानेले प्रधानमन्त्री आज संसदमा आफ्नो परीक्षामा दिनुपर्नेसमेत बताउनु भयो । उहाँले सरकारले सत्ता टिकाउनका लागि आफ्नो मान्छे जोगाउने र आफूहरुलाई फसाउने नियतका साथ भ्रष्टाचारलगायतको फाइल खोल्ने गरेको भन्दै आक्रोश समेत व्यक्त गर्नुभयो ।

सभापति लामिछानेले भन्नुभयो, ‘अहिले छानविन समितिले निष्कर्ष पनि निकाल्यो, जसमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नै दोषी रहेको कुरा जुन भन्दै आइएको पनि थियो । त्यो प्रतिवेदनले पनि स्पष्ट पार्‍यो । तर यति स्पष्ट पारिसक्दा पनि अहिलेसम्म न सम्बन्धित मन्त्रीले आफ्नो नैतिकताको प्रर्दशन गर्नुभयो । न सरकार, न प्रधानमन्त्रीले कुनै छनक देखाउनु भएको छ । यसमा गर्नुपर्ने के होला ? छानविन आयोगको दोषी ठहर्‍याउँदा ठहर्‍याउँदै पनि त्यस बारेमा चुइँक्क नबोलेर अन्य विषयहरुमा भाषण दिँदै जाने नैतिकता कहाँबाट प्राप्त हुन्छ ? यो कुराको जवाफ सम्मानित सदनलाई दिनुपर्ने हुन्छ । र मलाई विश्वास छ-सम्माननीय प्रधानमन्त्रीज्युले यस बारेमा अवश्यक पनि कुराकानी गर्नु हुनेछ । सभामुख महोदय, म एउटा कुरा के स्पष्ट पार्न चाहन्छु भने सरकार प्रमाण कहीकतै नभेटेका मानिसहरुलाई नक्कली प्रमाण बनाएर भएपनि, नक्कली उजुरी भएर भएपनि जसरी पनि खोज, जसरी पनि समात, जसरी पनि थुन्न खोज भनेर दवाव दिनका लागि रहने, छताछुल्ल प्रमाण भएका मानिसहरुलाई वरपर लिएर हिँडिरहने हो भने विधिको शासनको बारेमा अव नबोले पनि हुन्छ । हामी बुझ्दछाैँ-गठबन्धनको पीडा । हामी बुझ्दछौं-प्रधानमन्त्रीसँग जम्मा ३२ सिट भएको पीडा । तर हामी यो पनि बुझ्दछौं-कि नेपाली जनताले भोग्नुपरेको पीडा कसैको सत्ता टिकाउनका लागि आधार नबनोस् । रास्वपाले सरकारले गरेको राम्रो कामको सदैव सम्मान गर्दै आएको छ ।

तर आफ्ना वरपर नभएका मानिसहरुलाई बचाउनका निमित्त प्रयास गर्ने अनि अन्यलाई फसाउनका निम्ति गर्ने यो प्रयासको गन्ध आएको हुनाले म सम्मानित सदनको ध्यानाकर्षण गर्न चाहन्छु । सरकारले फाईल खोल्ने हो भने हाम्रो दलको म हुँदै मेरा सांसदहरुबाट शुरु गरोस् । ठिक छ । तर तर अव अर्को फाईल नखोलोस् सरकारले । किनभने सरकारले फाईल खोल्ने भनेको त आफ्ना मान्छे बचाउनका लागि रहेछ । त्यसकारण आज सम्माननीय सभामुखमार्फत सम्माननीय प्रधानमन्त्रीज्यु र सरकारलाई भन्न चाहन्छु-भ्रष्टाचारलगायतका सम्पूर्ण फाईल रास्वपाबाट शुरु गरोस् । अन्य दलको नखोलोस् । कसैको पनि फाईल नखोलोस् । फाईल खोज्नु के रहेछ भन्ने ललिता निवासमा देख्यौँ । फाईल खोल्नु के का लागि रहेछ, सुनकाण्डमा देख्यौं । फाइल खोल्नु किन रहेछ भन्ने भूटानी शरणार्थी प्रकरणमा देख्यौं । अब कति वटा चिजमा हेर्न बाँकि होला र ? आफ्ना मान्छेको अनुहार आउने वित्तिकै बन्द गर्ने र मुद्दा कमजोर बनाएर अदालतलाई फैसला गर्नका लागि गाह्रो बनाई दिने परिस्थिति आउने अनि न्यायालयको बद्नाम हुने ।

न्यायालयले गर्‍यो, हामीले त गरेको होइन भन्ने । यही हो फाइल खोल्ने तरिका ? म यति भन्न चाहन्छु-हामीबाट शुरु गरियोस् । मिडिया ट्रायल पनि हामीबाटै गरियोस । २१ जना सांसदहरु तयार छन् । सम्पूर्ण छानविन हामीबाट गरियोस् । हाम्रा सबै फाईल अविलम्व खोलियोस् । हामीलाई कहाँ बोलाउने हो, खडा गरियोस् । अन्य फाईल सरकारले नखोलोस् । सरकारको नियतमा ठूलो शंका भयो । अन्त्य दुई होनाहार युवाहरुले ज्यान गुमाएको यो घटनालाई रास्वपा सामान्य रुपमा लिन चाहँदैन । के गर्ने हो प्रधानमन्त्रीजीले आज यही रोष्टममा, यही सार्वभौम संसदमा भन्नु हुनेछ । आफूले जनाएको प्रतिवद्धता अनुसार म सुशासनका लाग जे पनि गर्न तयार छु । म देशमा केही गर्नका लागि आएको छु । यो कार्यकाल मेरो गज्जवको हुनेछ भनेर प्रतिवद्धता देखाउनुभएको छ । आज प्रधानमन्त्रीको जाँच हुनेछ । प्रधानमन्त्रीले आज आफ्नो जाँच दिनु हुनेछ । बालकुमारी घटनामा प्रतिवेदनले दोषी ठह¥याएका मन्त्रीलाई के गर्ने हो ? हाम्रो केही पनि माग छैन । प्रधानमन्त्रीले आज त्यो रोष्टमबाट भन्नु हुनेछ । र यहाँ बसेर हात दुखुन्जेल ढ्यापढ्याप गर्नका लागि हामी तयार छौं ।’

सभापति लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहालको कार्यकालका परीक्षा अब शुरु भएको पनि बताउनु भयो ।

-न्युज एजेन्सी नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?