सूर्योदय नगरपालिकाको प्रमुखमा नेकपा एसका राई दोस्रो कार्यकालको लागि निर्वाचित

Read Time = 7 mins

इलाम । नेकपा (एकिकृत समाजवादीका) सम्मानित नेता झलनाथ खनालको गृह नगर इलामको सूर्योदयमा नेकपा एसका रणबहादुर राई निर्वाचित हुनुभएको छ । सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेका राईले नेकपा एमालेका उम्मेदवार काजिमान कागतेलाई पराजित गर्नुभएको हो । काजिमान कागते प्रदेश सासंदबाट राजीनामा दिएर दिएर नगरपालिका प्रमुखको उम्मेदवार बन्नुभएको थियो ।

राई सूर्योदय नगरपालिकाको प्रमुखमा दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको हो । राईले १२ हजार ४३१ मत ल्याएर नगरप्रमुखमा निर्वाचित हुनुभएकाृे हो । उहाँका निकटतम प्रतिष्पर्धी एमालेका कागतेले दश हजार ५७९ मत पाउनु भएको छ । राईले कागतेलाई एक हजार ८५२ मतान्तरले पराजित गर्नुभएको हो ।

राई २०७४ को स्थानीय तहको निर्वाचनमा एमालेबाट उम्मेदवार भएर नगरप्रमुख निर्वाचित हुनुभएको थियो । एमाले विभाजनपछि राई नेकपा एसमा लाग्नुभएको हो । नगरपालिकाको उपप्रमुखमा भने कांग्रेसका दुर्गा बराल निर्वाचित हुनुभएको छ । उहाँले एमालेकी उम्मेदवार दुर्गादेवी भट्टराईलाई पराजित गर्नुभएको हो । गठबन्धनबाट उम्मेदवार बनेका बरालले ११ हजार ८५४ मत प्राप्त गर्नुभएको छ भने भट्टराईले नौ हजार १२२ मत प्राप्त गर्नुभयो । २०७४ को स्थानीय तह निर्वाचनमा एमालेबाट उम्मेदवार बनेकी भट्टराई उपप्रमुखमा निर्वाचित हुनुहुन्थ्यो ।

सूर्योदय नगरपालिका वडा नम्बर १ को अध्यक्षमा कांग्रेसका राजकुमार सेरेङ, २ मा एमालेका डिक बम्जन, ३ मा कांग्रेसका लोकबहादुर प्रधान, ४ मा नेकपा एसका शरण राई निर्वाचित हुनुभएको छ । त्यस्तै वडा नं ५ मा कांग्रेसका उर्गेन बम्जन, ६ मा एमालेका शिवकुमार बस्नेत, ७ मा कांग्रेसका एलबी राई, ८ मा कांग्रेसका जंग गुरुङ वडाध्यक्षमा निर्वाचित हुनुभएको छ । यसैगरी ९ मा नेकपा एसका देवेन्द्र आचार्य, १० मा नेकपा एसका पेमा उर्गेन, ११ मा कांग्रेसका सन्तोष राई, १२ मा नेकपा एसका डोलेन्द्र भारध्वज, १३ मा नेकपा एमालेका हेम आचार्य र १४ मा कांग्रेसका बलबहादुर समाल निर्वाचित हुनुभएको छ । एमाले र गठबन्धनको पाँच–पाँच पालिका सूर्योदयको मत परिणाम सार्वजनिक भएसँगै इलाममा मतगणना कार्य सम्पन्न भएको छ । इलाम नगरपालिकाको प्रमुखमा कांग्रेसका केदार थापा, उपाध्यक्षमा कांग्रेसकै बिष्णु सुब्बा निर्वाचित हुनुभएको छ ।

सन्दकपुर गाउँपालिकाको अध्यक्षमा कांग्रेसका तुला गुरुङ, उपाध्यक्षमा नेकपा एसका हरी लुङ्गेली मगर, रोङ गाउँपालिका अध्यक्षमा काँग्रेसका मणीकुमार स्याङबो र उपाध्यक्षमा एमालेकी विष्णु माया भुजेल, चुलाचुली गाउँपालिका अध्यक्षमा कांग्रेसका राजेन्द्र केरुङ, उपाध्यक्षमा एमालेकी दिलु लावती निर्वाचित हुनुभएको छ । देउमाई नगरपालिका प्रमुखमा एमालेका सूर्य पोख्रेल, उपप्रमुखमा एमालेकी पविमाया राई निर्वाचित हुनुभएको छ । त्यस्तै, माई नगरपालिका प्रमुखमा एमालेका खम्बसिंङ लिम्बु, उपप्रमुखमा एमालेकी हिमा भण्डारी निर्वाचित हुनुभएको छ । फाकफोकथुम गाउँपालिमाको अध्यक्षमा एमालेका दिपेन्द्र खनाल र उपाध्यक्षमा एमालेकी कल्पना राई, माङसेबुङ गाउँपालिकामा एमालेका हेमन्त राई उपाध्यक्षमा जनता समाजवादी पार्टीका विनोद नेम्वाङ निर्वाचित हुनुभएको छ । माइजोगमाई गाउँपालिका अध्यक्षमा कुशबहादु राई र उपाध्यक्षमा काँग्रेसकी प्रविना राई निर्वाचित हुनुभएको छ । प्रमुख उपप्रमुख पनि गठबन्धन र एमालेको बराबरी इलाममा नेकपा एमालेका तर्फबाट १० जना प्रमुख–उपप्रमुख, अध्यक्ष–उपाध्यक्षमा निर्वाचित भएका छन् । कांग्रेसका सात जना प्रमुख–उपप्रमुख र अध्यक्ष–उपाध्यक्षमा निर्वाचित भएका छन् ।

नेकपा एसको तर्फबाट प्रमुख र उपाध्यक्ष गरी दुई जना निर्वाचित भएका छन् । जनता समाजवादी पार्टीका एक जना उपाध्यक्षमा निर्वाचित भएका छन् । गठबन्धनबाट एक प्रमुख र दुई उपाध्यक्ष पाएको माओवादी केन्द्रले भने प्रमुख र उपाध्यक्ष पदमा विजयी हुन सकेन । गठबन्धनबाट माई नगरपालिकाको प्रमुख, चुलाचुली गाउँपालिका र फाकफोकथुम गाउँपालिकाको उपाध्यक्ष माओवादी केन्द्रले पाएको थियो । गठबन्धन कायम रहेमा जिल्ला समन्वय समितिको निर्वाचनमा एमाले र गठबन्धनको मत बराबर हुने भएको छ । जिल्ला समन्वय समितिको निर्वाचनमा पालिका प्रमुख उपप्रमुख अध्यक्ष र उपाध्यक्ष मतदाता हुन्छन् । एमाले र गठबन्धनको बराबरी मत भएपछि जिल्ला समन्वय समितिको निर्वाचन रोचक हुने भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?