विश्वविद्यालयका पदाधिकारीहरूको नियुक्तिले अनेक व्यूहचक्र पूरा गर्नुपर्ने अवस्था आफैंमा लज्जाजनक हो । भरखरैको ताजा प्रसंगलाई मात्रै हेर्ने हो भने त्रिभुवन विश्वविद्यालयमा पदाधिकारी नियुक्ति प्रकरणले हाम्रो दृष्टिकोणलाई प्रमाणित गरेको छ । उपकुलपति नियुक्तिका लागि विज्ञापन गरेर दरखास्त आहृवान गरिएको थियो । त्यस प्रक्रियालाई नै हास्यास्पद विषय मानिएको छ । तैपनि शिर झुकाउँदै निवेदन दिनेहरूको संख्या पर्याप्त रहृयो ।
चार दर्जनभन्दा बढी आकांक्षीहरूले निवदन दिएर आफू योग्य भएको दाबी गरे । विश्वविद्यालय जस्तो उच्च प्राज्ञिक बौद्धिक संस्थाहरूमा सेवा गर्ने अवसर खोज्नु अस्वाभाविक होइन । अस्वाभाविक नभए पनि निवेदन दिँदै लम्पसार पर्नु भनेको ज्ञान र गरिमा दुवैको उपहास हो । त्रिविको उपकुलपति वा पदाधिकारीका लागि दाबी गर्ने पाउने योग्यता हरेक प्राध्यापक, कुशल व्यवस्थापक र समन्वयकर्ता सबैमा हुन्छ । यो वा त्यो विश्वविद्यालय भनिरहनु पर्दैन ।
उपकुलपति पदका लागि आहृवान गरिएको विज्ञापनमा निवेदन दिने प्राध्यापकहरूको संख्याबाट अहिलेको त्रिवि केही दशकदेखि खस्कँदो अवस्थामा छ भन्ने भनाइलाई थप पुष्टि मिलेको छ । यसका विभिन्न कारण छन् । त्रिवि अति राजनीतिको चपेटामा पर्दै आएको छ । यो नै यसको हालको अव्यवस्थाको मूल कारण हो । प्राध्यापकहरूमा अनावश्यक दलीय राजनीति र अमूक नेताप्रतिको लगाव पनि अव्यवस्था सिर्जनाको कारक बन्दै आएको छ यो सँगै विद्यार्थी र कर्मचारीहरूको राजनीतिमा अत्यधिक संलग्नता मूल रूपमा विश्वविद्यालयहरूलाई विकृत बनाउन थप जिम्मेदार देखिएको छ । त्रिविपछि यतिखेर लुम्बिनी विश्वविद्यालयको हालत देखिन्छ । अन्तर्राष्ट्रिय चासोमा स्थापित लुम्बिनी विश्व विद्यालयलाई दुईटा थरको व्यूहले बन्दी बनाएको दुई दशक भयो । कुनै प्रगति हुनसकेको छैन । यो विश्वविद्यालयको नेतृत्वले नेपालको प्रतिष्ठा वढाउनुभन्दा क्षयीकरण गर्ने काम गरिरहेको छ । पदाधिकारी नियुक्तिहरू राजनीतिक दलको बलेसीमा बसेर भएको हुनाले यस्तो दुर्भाग्यपूर्ण अवस्थामा पुगेको हो ।
नेपालमा अनेकौं राजनीतिक पार्टीहरू छन् । ती प्रायः पार्टीका विभिन्न भ्रातृसंगठन छन् र तिनका विद्यार्थी संगठनहरू त्रिविमा पनि व्याप्त छन् । ती सबैका केही न केही माग हुनेगर्छन्, ती माग पूरा गर्न हड्ताल, तालाबन्दी, घेराउजस्ता कुरा अरू विश्वविद्यालयमा भन्दा त्रिविमा सधैंजसो भई नै रहन्छन्, जसले गर्दा पठनपाठनमा बाधा पुग्न जान्छ । त्यसैले पढाइलाई पहिलो प्राथमिकतामा राख्ने विद्यार्थीहरूले त्रिविको विकल्प खोज्ने गर्छन् । पहिले त्रिविमात्र एक्लो विश्वविद्यालय थियो । हाल डेढ दर्जन जति विश्वविद्यालय स्थापना भइसकेका छन् । विद्यार्थीहरूले राम्रो शिक्षा आर्जन गर्ने क्रममा त्रिविको विकल्पमा ती विश्वविद्यालयतर्फ पाइला चाल्ने गरेका छन् । त्यसकारण त्रिवि पहिले जति गुल्जार हुने गरेको थियो हाल त्यस्तो अवस्थामा छैन । यसका कतिपय विभाग विद्यार्थीविहीन नै भइसकेका छन् ।
यति हुँदाहुँदै त्रिविमा उपकुलपतिलगायत पदाधिकारीहरू बन्न प्राध्यापकहरूबीच निकै ठूलो प्रतिस्पद्र्धा हुने रहेछ भन्ने हालको निवेदनको संख्याले पुष्टि गरेको छ । यसका साथै सरकारको नीतिका कारणले त्रिवि दूरावस्थामा पुगेको हो । नीतिगत रूपमै विदेशी राष्ट्रहरूसँग समस्तर कायम गर्ने भनेर पहिलेदेखिको हाम्रो शिक्षा प्रणालीमा हेरफेर गरियो, त्रिविबाट प्रवीणता प्रमाणपत्र तह हटाइयो । यसले गर्दा त्यस तहमा पढ्ने ठूलो संख्याका विद्यार्थीहरू अरू अरू विश्वविद्यालयतर्फ लागे र निजी क्षेत्रबाट सञ्चालित उच्चमाध्यमिक तहतर्फ ठोक्किन पुगे । यसले गर्दा निजी क्षेत्र मोटायो, त्रिवि खस्किन पुग्यो । यसैगरी स्नातक तह पहिले दुई वर्षको थियो, पछि यसलाई चार वर्षे बनाइयो । जसले गर्दा विद्यार्थीहरू छिटो र छोटो बाटो अपनाएर छिटो प्रमाणपत्र हात पार्न जहाँबाट सकिन्छ त्यतैतिर लागे ।
विदेशी विश्वाविद्यालयबाट सम्बन्धन लिएर नेपालमै सञ्चालन भएका कलेजहरूतिर चर्को शुल्क तिरेर पनि अत्यधिक संख्यामा विद्यार्थी भर्ना हुन पुगेका छन् । त्यस्ता कलेजहरूबाट निश्चित तहको शिक्षा आर्जन गरिसकेपछि त्यसभन्दा माथिको डिग्रीका लागि पुनः नेपाली विद्यार्थीहरू त्यही देशको विश्वविद्यालयतर्फ जाने गर्छन् । यसो हुनाले एकातिर नेपालका त्रिविलगायत विश्वविद्यालयमा विद्यार्थीहरूको संख्या घट्न पुगेको छ भने अर्कोतिर नेपालको ठूलो धनराशि विदेशतर्फ पलायन भइरहेको छ । काठमाडौं विश्वविद्यालय, पोखरा विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयको अवस्था अरू विश्वविद्यालयको तुलनामा अलिक राम्रो भए पनि पुरानो र हजारौं विद्यार्थीलाई दीक्षित बनाएर लामो इतिहाससमेत कायम राखेको त्रिवि अहिले रुग्ण बन्दै गइरहेको छ । यस्तो अवस्थामा जो आए पनि त्रिवि सम्हाल्न सजिलो छैन ।
तैपनि एकातिर प्राध्यापक त्रिविको उपकुलपति बन्न मरिहत्ते गरिरहेका हुन्छन् भने अर्कातिर त्यहाँ आफ्नो पार्टीको मानिसलाई उपकुलपति बनाएर पठाउने प्रयासमा सरकारमा रहेका दलहरू मरिमेटेर लाग्ने गर्छन् । यसका लागि करोडौंको चलखेल हुन्छ भन्ने गरिन्छ । त्यसरी त्यत्रो रकम खर्च गरेर त्यहाँ कुलपति बन्नु बनाउनु भनेको खालि प्रतिष्ठाका लागि मात्र होइन, त्यहाँबाट आफूले खर्च गरेको रकम असुल उपरसमेत गर्ने सोच त्यहाँ जाने मानिसको नहोला भन्न सकिँदैन । दलहरूले आफ्नो मानिस पठाउने चाहना राख्नुका कारण पनि त्रिविमा आफ्नो वर्चश्व कायम राख्नु नै हो । यस्तो अवस्थामा जो मानिस त्यहाँको उपकुलपति बने पनि त्रिविमा सुधार होला भन्ने अपेक्षा केवल अपेक्षामात्र हुन जानेछ ।
धेरै जनाको निवेदन माग गरेर त्यसबाट एकजनाको छनौट गर्नुपर्ने हो । धेरै मानिसबाट तीनजनाको छनौट गरिएको र अन्तिममा ती तीनजनाबाट पनि एक जना हुने हो । यो सजिलो काम निश्चय होइन तर सजिलो छैन भनेर छनौट नगरी नहुने भएपछि छनौट त गर्नैपर्ने हुन्छ । यसरी प्रतिस्पर्धा गराए पनि अन्तिममा टीके प्रणालीबाटै उपकुलपतिको छनौट हुनेमा सबै विश्वस्त छन् । नेपाली कांग्रेस पार्टीका प्रभावशाली महामन्त्री गगन थापाले यस विषयमा प्रधानमन्त्रीले झुक्याउनुभयेको आरोप लगाउनु भएको छ । आरोप गलत हो भन्न सकिँदैन । यसबाट यो छनौट गठबन्धनका दलहरूबीच सहमति कायम नभई गरिएको हो कि भन्ने देखिन्छ । नयाँ उपकुलपतिसहित पदाधिकारीले त्रिविलाई राम्रो बनाउन सक्नुपर्छ, त्रिविमा सुधार हुनुपर्छ र अन्य विश्वविद्यालयसँगको प्रतिस्पर्धामा विद्यार्थीको रोजाइ त्रिवि बन्न सक्नुपर्छ यही नै हो समयको माग ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच