नेपाली कांग्रेसको जारी महासमिति बैठकलाई रोचक बनाउन नै होला गठबन्धन र हिन्दूराष्ट्र अभियान निकै सशक्त देखिएको छ । योसँगै व्यक्ति केन्द्रित राजनीतिले सगरमाथाको टुप्पोमा समात्ने गरी वरिष्ठ नेताको मागसमेत गरिरहेको छ ।
(क) वैचारिक विमर्शमा खडेरी, नेताको आदेश सर्वोपरी :
नेपाली कांग्रेसमा विचारको खडेरी परेको र वैचारिक विमर्श हुन छाडेको निकै वर्ष भयो । ०६० यताका दिनमा त सिद्धान्त, नीति कार्यक्रम जे जस्तो रूपमा परिवर्तन भए वा नभए पनि नेताको आदेश नै सर्वोपरी रहने गरेको छ । पहिले गिरिजाप्रसाद कोइराला अहिले शेरबहादुर देउवा । बीचमा केही वर्ष उदाएका सुशील कोइरालाको संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी गर्ने नेतृत्वबाहेक कुनै उल्लेखनीय भूमिका थिएन । तर, त्यही जारी संविधानको विषयले अहिले कांग्रेसको कपाल दुःखाउन लागेको छ । हिजोदेखिकै निरन्तरता भनौँ वा अरू कुनै कारणहरूले हो संविधानभित्र समाहित केही बुँदामा असहमति जनाउने पंक्ति कांग्रेसमा सशक्त छ । ०७५ सालको महासमिति बैठकमा १४ सय सदस्यमध्ये करिब आधाले धर्म सापेक्षताका पक्षमा हस्ताक्षर गरे पनि प्रस्तुत गर्न पाएनन् । अहिले त्यो मुद्दा कोखको पिलो जस्तो भएर पुनः बल्झिएको छ । ०७९ मा पाँच दलीय गठबन्धनको डुंगाबाट महानिर्वाचनको वैतर्नी तर्नेहरूको निकै चर्को स्वर गठबन्धनविरुद्ध सुनिँदै छ । निर्वाचनमा पराजयको पीडालाई मलम लगाउन नै भए पनि वरिष्ठ पदवी सिर्जनाको दबाब पनि कम छैन ।
(ख) सुन्दर भवनको कुरूप अन्तर्य :
सहरी विकास मन्त्रालयले प्राकृतिक सौन्दर्यले परिपूर्ण र ३६५ दिनलाई ‘भ्यालेन्टाइन डे’ मनाउने रसिक जोडीहरूको मन खलबल्याउने गरी एकान्तमा खडा गरेको भव्य महलका आरामदायी कुर्सीमा कांग्रेसहरू यिनै मुद्दासँग पौँठेजोरी खेलिरहेका छन् र यसका लागि आजसम्मको मिति तय भएको छ । तर, त्यो भव्य महलको बाहिरी रूप यौटा र भित्री रूप अर्कै छ । यतिखेर पानी पर्ने कुनै लक्षण नभएको हुनाले कुर्सी भिज्ने खतरा छैन । किनभने पानी नआएसम्म त्यो महलको छतबाट पानी नचुहिने गरी निर्माण गरिएको छ । पानी पर्नासाथ भित्रको गर्मीलाई मत्थर गर्न नै होला चारैतिरबाट दह जम्न थाल्छ । भुक्तभोगीहरूको भनाइमा विश्वास गर्ने हो भने शौचालयमा पुगेका मानिसहरूले सूची गर्ने वा हात धुने पानी पाउँदैनन् । ट्यांकी भरी भएको एकैछिनमा चुहेर कता बग्छ पत्तै हुँदैन । एकजना एमालेका नेता टेलिभिजनको स्क्रिनमा बडो गर्वका साथ भन्दै हुनुहुन्थ्यो : ‘हामीले विशालकाय भवन बनाइदिएका थियौँ र अहिले नेपाली कांग्रेसले बैठक गर्न पाएको छ । नत्र हालत हुने थियो ।’ म सोच्दै थिए नेताहरू, अथवा सरकारमा बस्नेहरूको दाबी विचित्रको हुने गरेको छ । ०५१ सालमा सरकारले वृद्धभत्ता दिने निर्णय गर्यो आफ्नै पैसा दिएको जस्तो दाबी गर्छ एमाले । ०४८ मा सरकारले ग्रामीण स्वावलम्बन कार्यक्रमको घोषणा गर्दै गाउँलाई पचास हजार दिने निर्णय गर्यो तर कांग्रेसको दाबी छ हामीले गरेका हौँ । पैसा दिनेहरू न एमाले हुन् न कांग्रेस । हामी जनताको करबाट जनतालाई दिइएका सहुलियतबाहेक केही पनि होइनन् । यो विशालकाय भवन पनि एमालेको निजी रकमको लगानी नभए पनि दाबी गर्न छाड्दैनन् । यस्ता अनेक उदाहरण छन् । कतै पुल, कतै बाटो, कतै अस्पताल पार्टीको खातामा नै जम्मा हुने गरेका छन् । त्योभन्दा पनि अघि बढेर व्यक्तिको खातामा जम्मा गर्ने प्रचलन व्याप्त छ ।
(ग) व्यक्तिवादी महारोग :
त्यो व्यक्तिवादी महारोग कांग्रेस महासमितिमा पनि प्रकट भएको छ । हामी सञ्चारकर्मीहरू त आफू अनुकूल कसैलाई भगवान् नै बनाउन शीर्षासन गरिरहेका हुन्छौँ । कांग्रेसमा यतिखेर : नीति, संगठन, समसामयिक राजनीति र आर्थिक अवस्थाबारेका प्रस्तावहरू प्रस्तुत भएका छन् । पदअनुरूप पार्टीले जिम्मेवारी दिएको छ । तर, ती प्रत्येक प्रस्तावहरूलाई व्यक्तिगत जस्तो भाष्य भइरहेको छ । ती पार्टीका प्रस्ताव हुन् भने पार्टीको स्वामित्व अन्तर्गतको प्रस्तुति हुनपर्छ । व्यक्तिगत हुन् भने स्वतन्त्र रूपमा प्रत्येक सहभागीहरूका प्रस्तावलाई फ्लोर खुला गर्दै विमर्शमा लैैजानु जरुरी हुन्छ । तर, कांग्रेसमा स्वयंघोषित समर्थकहरूको लोकरिझ्याइँ चलिरहेको हुनाले विधि, प्रक्रिया र व्यवहारबीच कुनै संगति देखिँदैन । यही असंगतिको परिणाम यतिखेर कांग्रेस विरोधाभाष र द्विविधाको चौबाटोमा उभिइरहेको छ । नेपाली कांग्रेसको नेतृत्वमा बनेको संविधानमा संघीयता, धर्म निरपेक्षता र राजनीतिक आरक्षण समानुपातिक प्रतिनिधित्वको व्यवस्था छ । अध्ययन, सरकारी सेवा वा अन्यत्रसमेत यो आरक्षणको एम्बुसमा पर्दै अनेक योग्यहरू पलायन भइरहेका छन् । राजनीतिमा फरक हुने कुरा भएन । गत साल १४ सय प्रतिनिधिमध्ये सात सयले धर्म निरपेक्षताको माग गरेका थिए त्यसमा केन्द्रीय सदस्यहरू थोरै थिए । अहिले ४० जनाभन्दा बढी केन्द्रीय सदस्यहरूले हस्ताक्षर गरिसकेका छन् । यदि महासमितिका लागि तयार प्रस्तावहरू गगन, विश्व र पूर्णका हुन् भने शंकर भण्डारी वा अरू कसैले धर्म, संघीयता आदिका विषयमा प्रस्तुत गर्ने प्रस्ताव पार्टीका किन हुन सक्दैनन् ? बैठकस्थल बाहिर भेटिएका धेरै पुराना कांग्रेसजनहरूले यो पंक्तिकारसँग यस्तै प्रश्न गरिरहे त्यहाँ बसुन्जेल ।
(घ) गठबन्धनको पीडा :
अर्को विषय कांग्रेसमा यतिखेर तातो भएर उठेको छ : गठबन्धनको । केन्द्रीय सदस्य डा. शेखर कोइरालाले वर्तमान गठबन्धन परिवर्तन हुनुपर्ने सार्वजनिक माग गर्नुभएको छ । उहाँले कांग्रेसकै नेतृत्वमा अब सरकार बन्नुपर्ने तर्क गर्नुभएको छ । उहाँको यो तर्क महत्वपूर्ण किन छ भने : पहिलो सरकारमा बसेर कांग्रेसको शाख स्खलित भइरहेको छ, निराशा थप भएको छ, दोस्रो नेतृत्व परिवर्तन गर्दा आफ्नो महत्व स्थापित हुनेछ, तेस्रो माओवादी नेतृत्वलाई दबाब सिर्जना हुनेछ र चौथो माओवादीको बदला सबैभन्दा दुई ठूला दलहरू मिलेर सरकार आलोपालो गर्नु उचित हुनेछ । यो अन्तिम तर्क उपयुक्त छ कार्यान्वयन हुन सकेमा । तर, एमाले यस निम्ति तयार हुन्छ ? कतै कांग्रेसको यस्तो प्रस्तावले एमालेसँग पूर्ववत् गठबन्धनमा माओवादी पुग्ने हो कि ? कांग्रेसको नेतृत्वलाई अरू साना दलले समर्थन गर्ने हुन् वा होइनन् ? संख्या कताबाट पुर्याउने हो ? कि देउवासँगको रिसमा ‘सौताको रिसले पोइको काखमा आची गर्ने’ पारा यो प्रस्ताव हो ? एकजना वृद्ध कांग्रेस मसँग प्रश्न गर्दै हुनुहुन्थ्यो । चुनावी गठबन्धनको प्रश्न महत्वपूर्ण छ । २०७९ को चुनावमा विपरीत विचार, सिद्धान्तका पाँच दलको गठबन्धनपछिको परिणाम हो यो । पाँच दलीय गठबन्धनलाई एमालेको झिनो विपरीत सहमतिको एम्बुसले झण्डै भित्तोमै पुर्याएको थियो । कांग्रेसको भन्दा एमालेको प्रत्यक्ष सिट केही कम भए पनि समानुपातिक जोड्दा करिब समान छ । अहिलेका अनेक हस्तीहरू गठबन्धनको जुइँनो समातेर संसदमा पुगेका छन् । तर, सैद्धान्तिक आधारमा त्यो चुनावी गठबन्धन सत्ता र शक्तिको सपनाबाहेक केही थिएन । असैद्धान्तिक गठबन्धन अबका दिनमा हुनुहुँदैन भन्ने तर्क जायज छ । तर, अन्तिम सत्य सत्ता मान्ने पुरानो वा नयाँ जोसुकै भए पनि कांग्रेसको पोखरीमा माछा मार्न व्यस्त छन् । बाहिर लोक रिझ्याइँको राजनीतिमा पोख्त खेलाडीहरूका यस्ता तर्कहरू विश्वसनीय छैनन् । यो तर्कको भित्री आशय वर्तमान गठबन्धन भत्काउने र आउँदो निर्वाचनमा डाडुपन्यु आफ्नो हातमा लिने अन्तइच्छा प्रतीत भएको मान्न किन सकिँदैन ? एकजना सहभागी महिला नेतृको जिज्ञासा थियो तर मसँग उत्तर थिएन ।
(ङ) धर्मका लागि सशक्त तम्बू :
हिन्दूराष्ट्रका पक्षमा हस्ताक्षर गराउँदै पुराना पाका नेता दामोदर गौतमसहित धेरै कांग्रेसहरूको तम्बू खडा छ । धर्म निरपेक्ष पार्टीको महासमिति बैठक प्रांगणमा धर्म स्थापनार्थ हस्ताक्षर गर्न उत्सुक समर्पितहरूको ताँती लामै देखिन्छ । अत्यन्त प्रभावशाली युवा नेता शंकर भण्डारीले नै नेतृत्व गरेको हुनाले यो ताँती उपेक्षायोग्य छैन भन्ने प्रमाणित हुन्छ । तर, पार्टीको बहुमत प्रस्ताव संशोधनका पक्षमा देखिँदैन । यदि मत संग्रह गर्ने हो भने नेपाली कांग्रेसका मतदाताहरू मध्ये कम्तीमा ५० प्रतिशतले हिन्दू राज्यका पक्षमा मत दिन सक्छन्, ६० प्रतिशतले संघीयताविरुद्ध मत दिन सक्छन् र केही प्रतिशत राजसंस्थाका पक्षमा पनि होलान् । तर, आश्चर्यको विषय के छ भने विचार जस्तो भए पनि, अभियान जुन रूपमा चलाए पनि, जसको नेतृत्व रहे पनि अन्ततः कांग्रेसजन चिसै पानीले नुहाउने निश्चित छ ।
(च) कांग्रेसविरुद्ध विकल्प दिने सामथ्र्य छ ?
यदि यसो होइन भने : वरिष्ठ नेताको माग गर्नेहरूले सहमत नभएको अवस्थामा सभापति देउवालाई नै हटाउने प्रस्ताव राख्न सक्छन् ? गठबन्धन गर्ने रणनीति निरन्तर भएमा गठबन्धन विरोधीहरूले के कांग्रेस पार्टीको अर्को कुनै विकल्प खोज्ने सामथ्र्य र साहस राख्छन् ? धर्मको मुद्दामा कांग्रेस असहमत भइरहेमा धर्म पक्षधरहरूले कांग्रेस परित्याग गर्ने र भारतमा जस्तो नयाँ विकल्प दिने सामथ्र्य राख्छन् ? देश र जनताको गति र दुर्गतिसँग यी कुनै पनि प्रश्नको गोरु बेचेसमान साइनो छैन । तर पनि उठेका छन् । यो पंक्तिकार सात फागुनको दिनभर गोदावरीको त्यो सुन्दर भूगोलको प्रकृतिलाई अनुभूत गर्दै कांग्रेसजनहरूले उठाएका यस्ता अनेक प्रश्नहरू र उनीहरूकै निष्कर्षको गाँठो फुस्काउने प्रयास गरियो तर गाँठो फुस्किनुको साटो कस्सिँदै गएजस्तो भएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच