नारी विद्रोहका तीन रूप : इन्द्रमाया, सुम्निमा र मोदिआइन

डा. नारायण चालिसे
Read Time = 24 mins

साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाको ११०औं जन्मजयन्तीका अवसरमा उनका उपन्यासका चर्चित नारी पात्रहरू इन्द्रमाया, सुम्निमा र मोदिआइनका चारित्रिक विशेषताका बारेमा सङ्क्षेपमा चर्चा गर्ने काम यस आलेखमा गरिएको छ । एउटा सुन्दर पक्ष के छ भने बीपीले आफ्ना कृतिका सबै नारी पात्रहरूप्रति सहानुभूति राखेका छन् भने धेरैजसो नारी पात्रहरूलाई उसको अधिकार प्राप्तिको यात्रामा मद्धत गरेका छन् । अझ कुनै-कुनै पात्रहरूलाई त कोइरालाले धेरै पुल्पुल्याएर राख्दा कोइरालाको स्वतन्त्रताको तहलाई नै उछिनेर अघि बढ्न खोजेका पनि छन् ।

तीन घुम्ती उपन्यासकी नारी पात्र इन्द्रमाया, सुम्निमा उपन्यासकी नारी पात्र सुम्निमा र मोदिआइन उपन्यासकी नारी पात्र मोदिआइन (नारी, मछुवारिन) (इन्द्रमाया, सुम्निमा र मोदिआइन) यी तीन पात्रलाई उभ्याएर कोइरालाको चरित्र निर्माणकला र नारी पात्रका माध्यमले व्यक्त गर्न खोजेको सन्देश ज्यादै महत्वपूर्ण छ । उपन्यासकार कोइरालाका नारी पात्रहरूमध्येका यी चर्चित नारीहरू जसलाई केन्द्रीय पात्र बनाएर कोइरालाले अलग अलग उपन्यासहरू निर्माण गरेका छन् । साथै उपन्यासकार कोइरालाको वैचारिक मनोयोगको एउटा महत्वपूर्ण पक्ष यी पात्रहरूको छनौट र तिनका माध्यमले दिन खोजेको सन्देश पनि हो ।

आ-आफ्नो समयको समाज र परम्परासँग कोइरालाका यी तीन नारी पात्रहरूले गरेको प्रकट र अप्रकट विद्रोहका माध्यमबाट उपन्यासकार कोइरालाको नारी पात्रका माध्यमले व्यक्त गर्न चाहेको नारी अधिकार र कर्तव्यप्रतिको वैचारिक सन्देशको रेखाङ्कन गर्ने काम यस आलेखको मुख्य विषय भएको छ । विद्रोह भनेको विमतिको रूप हो । यो भिन्न भिन्न शैलीमा प्रकट हुन्छ । मुखर भएर गरिएको सङ्घर्ष विचार र व्यवहारबाट व्यक्त गरिएको पृथक् अभिव्यक्ति समेतले विद्रोहको सङ्केत गर्दछन् तसर्थ इन्द्रमाया, सुम्निमा र मोदिआइनका विचार र व्यवहारहरू पनि नारी विद्रोहका विविध रूप हुन् ।

विद्रोह भनेको विमतिको रूप हो । मुखर भएर गरिएको सङ्घर्ष विचार र व्यवहारबाट व्यक्त गरिएको पृथक् अभिव्यक्ति समेतले विद्रोहको सङ्केत गर्दछन् तसर्थ इन्द्रमाया, सुम्निमा र मोदिआइनका विचार र व्यवहारहरू पनि नारी विद्रोहका विविध रूप हुन् । 

इन्द्रमाया : इन्द्रमाया, सुम्निमा र मोदिआइन यी तीनै पात्रहरू उपन्यासकार कोइरालाकै मस्तिष्कका उपज हुन् । तर यी तीन पात्रहरूको चरित्रमा आ-आफ्नै विशेषताहरू छन् । इन्द्रमायाले आफ्नो जीवनका सबै निर्णयहरू आफ्नै इच्छामा गरेकी छ । उसका केही निर्णय समाजको निम्ति सुपाच्य छैनन् । पति रोज्ने, सन्तान जन्माउने र सन्तानको रेखदेख गरेर पतिलाई प्रेम गर्ने नारीको अधिकार हो । पति रोज्न नपाउँदा भागेर बिहे गर्छन्, आमा बन्न नपाउँदा अरू नै लोग्ने मान्छेलाई गर्भधारण प्रक्रियाको निम्ति साथमा लिन्छन् र त्यसरी जन्माएका सन्तानलाई स्वीकार गर्न नचाहने आफ्नै पतिलाई पनि त्याग गरेर नारीले सन्तानको पालनपोषण गरेर आफ्नो नारी अधिकारलाई सुरक्षित गर्छन् भन्ने सन्देश प्रवाह गर्ने इन्द्रमायाको तर्क आफ्नो ठाउँमा ठीक छ ।

बाबु आमाले इन्द्रमायाको इच्छामुताविकको केटोसँग बिहे नगरी दिने भएपछि नेवार कन्या इन्द्रमायाले ब्राहृमण प्रेमी पीताम्बरलाई पति रोजेर पहिलो अधिकारको सुरक्षा गरी । केही वर्षसम्म पति पीताम्बरबाट आफ्नो सन्तान नजन्मिएपछि र स्वयं पतिले समेत तिमी बन्ध्या पो छौ कि ? भनेर प्रश्न गरेपछि नारीले निकै सम्मानपूर्वक जोगाएर राख्ने गरेको सतीत्वलाई नै दाउमा राखेर त्यो भन्दा धेरै महत्वपूर्ण मातृअधिकारको सुरक्षाको निम्ति पति जेल गएको समयमा रमेश भन्ने युवकलाई साथी बनाएर गर्भधारण गरी, छोरी जन्माई र गौरवपूर्ण किसिमले भनी म बन्ध्या रहिनछु, मैले आमा बन्ने अधिकार सुरक्षित गरेँ, म पूर्ण नारी बनेँ ।

रमेशसँगको सहयात्रालाई उसले केवल सम्झौता मानी । उसले आफू र पीताम्बरबीचको प्रेममा रमेशसँगको सहवास कुनै अर्थमा पनि व्यवधान बन्दैन । प्रेम, आस्था, समर्पण छुट्टै कुरा हो त्यसमा शरीरको खाँचो टार्ने वैकल्पिक बाटो वा आमा बन्ने हकको संरक्षणमा खोजिएको खेतालो रमेशले कुनै पनि अर्थ राख्दैन । बरू अभाव र अपूर्णतामा गरिएको प्रेमभन्दा पूर्णतामा गरिएको प्रेम अझ प्रगाढ बन्न सक्छ भन्ने तर्क दिई । रमेशसँग सुतेको भोलिपल्ट बिहानको सूर्यलाई अझ चम्किलो देखी, त्यो दिन पति पीताम्बरप्रति अझै बढी प्रेम बढेको पाई र पशुपतिमा जल चढाउँदा झन् बढी पुलकित भई ।

हुन त त्यस दिन पशुपतिमा जल चढाउँदै इन्द्रमायाले आफ्नो अशुचीतालाई पवित्र तुल्याइदिन पशुपतिसँग प्रार्थना पनि गरेकी हो । आपूm हिँडेको बाटो परम्परित र वैधानिक होइन भन्ने स्वीकार गरेकै हो तापनि नारीलाई आफ्ना अधिकारबाट वञ्चित पार्ने परम्पराप्रति नै इन्द्रमायाको विद्रोह भएकाले उसले आफ्नो बाटोलाई नै सही ठानेरै यो कदममा अगाडि बढेकी हो । जेलबाट छुटेर पति पीताम्बर घरमा आयो । इन्द्रमायाको सतीत्वमा प्रश्न उठायो । उसले अवैधानिक बाटो हिँडेर आर्जेको धन (छोरी)लाई अस्विकार गर्ने, छोरीलाई त्यागे स्वीकार गर्ने निर्णय सुनायो ।

इन्द्रमायाले भनी सतीत्व मेरो चासोको विषय हो । सतीत्व रूपी धनको नाश भएर हुने क्षति मेरो क्षति हो । त्यो मेरो धन हो, मेरो धनमा तिमीलाई किन त्यति धेरै चासो ? सतीत्वको त्यागबाट हुने हानि र त्यसको संरक्षणबाट पाउने लाभ दुवैकी अधिकारी म हुँ भने तिमीलाई त्यसले के नोक्सान गर्‍यो ? भन्ने तर्क अघि सारी । त्यसैगरी छोरीको आगमनले तिमी प्रतिको मेरो प्रेममा कुनै कमी आएको छैन झन् बढेको छ ।

साथै छोरी विनाकी मलाई स्विकार गर्ने र छोरी अस्विकार गर्ने तिम्रो पुरुष अहङ्कार र अपूर्णताप्रति मेरो सहानुभूति छ भनेर पीताम्वरलाई जवाफ दिई र मातृत्व रक्षाको अधिकारको निम्ति आफूले सबैभन्दा बढी प्रेम गरेर रोजेको पति/जीवनसाथीलाई नै छोडेर छुट्टै बस्ने निर्णय गरी । यस प्रकार प्रत्येक निर्णयमा आफ्ना तर्क अघि सारेर इन्द्रमायाले आफ्नो अधिकारको संरक्षणका खातिर गरेको सङ्घर्ष निकै अर्थपूर्ण रहृयो । इन्द्रमायाले के पाई र के गुमाई भन्ने कुरा छुट्टै बहसको विषय हो ।

सुम्निमा : सुम्निमाको चरित्र निर्माण उपन्यासकार कोइरालाको अर्को सशक्त प्रस्तुति हो । प्रकृति रूप सुम्निमामा स्वाभाविक मानवजीवनको प्रतिबिम्ब प्राप्त गर्न सकिन्छ । सुम्निमाको जीवन र उसको जीवन दर्शन ज्यादै आकर्षक र लोभलाग्दो पनि छ । सुम्निमाको कोणबाट हेर्दा देखिने जीवनको दृश्य मनमोहक छ । जीवनभर सुम्निमाले आफ्नो दृष्टिकोण यथावत् राखी आफ्नो निर्णयमा पछुतो पनि गरिन । तर, सोमदत्तको प्रेमले सुम्निमालाई निकै कमजोर, दुःखी र मर्माहत तुल्यायो । सङ्लो स्फटिक जस्तो मनकी सुम्निमा मनले बाँच्ने नारी हो, उसले धेरै मस्तिष्कको प्रयोग गरिन तापनि उसका मनका अभिव्यक्तिहरू पनि मस्तिष्कलाई चुनौती दिने खालका पनि थिए ।
प्राकृतिक नियमलाई पछ्याइरहनेलाई जीवन बाँच्न सायद सजिलो पनि छ । जब नियमको विपक्षमा अर्को अर्को नियमलाई थोपर्ने बौद्धिक प्रयत्न हुन्छ तब जीवन बढी तनावग्रस्त हुन्छ भन्ने दृष्टान्त पनि सुम्निमा उपन्यास हो । बाल्यकालमा गाई चराउन कोशी नदीको किनारमा जाँदा भेटेको ब्राहृमण बालक सोमदत्त सुम्निमाभन्दा भिन्न शारीरिक बनोटको थियो । उसको शरीर धर्मको भिन्नता बाहेक सुम्निमालाई सोमदत्त अरू होइन । अर्थात् एउटा भाले अर्को पोथीको नाता र नियमबाहेक थोपरिएका अन्य नियम नजान्ने सुम्निमाले सोमदत्तलाई मित्रवत्, पुरुषवत्, प्राणीवत् प्रेम गरी जुन निःस्वार्थ, निश्छल, निष्कपट र निरुपाधिक थियो ।

सहज थियो, स्वाभाविक थियो । त्यसमा सोमदत्तका ओखरे दर्शन र नियमको बौद्धिक हथौडाले ठोक्दा ठोक्दा सुम्निमा मर्माहत भई । आफूले आफ्नो ठानेको सोमदत्तले परको ठान्यो, फोहरी ठान्यो, कुसंस्कारी ठान्यो, गँवार ठान्यो, असभ्य ठान्यो । सबै आरोप सुम्निमाले स्वीकारी तर एउटै सत्य जो प्राकृतिक सत्य हो जैविक सत्य हो । मानिसको थान्कामा मानिस सरह व्यवहारको प्रयोग नै जीवन हो भनेर बुझेकी र प्रकृतिको गतिभन्दा भिन्न र उल्टो गतिमा हिँड्न खोज्नै हुँदैन भनेर जानेकी सुम्निमाले सबै परिस्थितिमा आफ्नो मानवीय मर्यादालाई पालन गरी । सोमदत्तले तिरस्कार ग¥यो उसले स्वीकार गरी, उसले अर्कै युवकलाई आफ्नो बनाई ।

तनले त आफ्नो बनाइछ मनले आफ्नो बनाउन सकिनछ । उसले भन्यो सुम्निमासँगसँगै सुतेर पनि मैले सुम्निमालाई पाइन । हो त्यो तत्त्व मन थियो जुन सोमदत्तलाई दिएकी थिई । अप्ठ्यारो ठाउँमा फसाइ छ मन सुम्निमाले । त्यसैले सोमदत्तविनाको जीवन सुखी पनि बन्न सकेन । तापनि सुम्निमाले गुनासो गरिन, मर्यादा तोडिन । आफ्नो शरणमा आएको सोमदत्तलाई पनि पुलोमाको जिम्मा पठाई र आफ्नी छोरी र सोमदत्तको छोरालाई भनी-तिमीहरूको जीवन सुखी रहोस् अनि सोमदत्तको छोरालाई भनी-तिम्रा बा ठूला तपस्वी थिए ! हो नारीको यति विधि सुन्दर रूपमा चरित्र निर्माण गर्न सक्ने क्षमता उपन्यासकार कोइरालाको विशिष्ट पक्ष हो भन्ने लाग्दछ ।

हारजीतको द्वन्द्वमा सक्रिय नहुँदा नहुँदै पनि सुम्निमा त्यो सङ्घर्षमा सामेल हुनु पर्‍यो । आफ्ना स्वाभाविक जिज्ञासाहरूबाहेक आफ्नो कुनै आग्रह नरहेकी सुम्निमाले नजानेरै, थाहा नपाएरै सोमदत्तलाई मन पराइछ जसले उसको भौतिक जीवनका सबै कुरा पुगेर पनि अपुरो जस्तै रहिरहृयो र आफूले पुर्‍याउन नसकेका इच्छा साकार हुने सपना आफ्ना सन्ततिमा देखेर सबैको मर्यादाको कदर गरेर, सबैका भावनाको सम्मान गर्ने र मिलेर जीवन चलाउने सल्लाह दिएर सुम्निमाले जीवनबाट विदा लिएको पाइन्छ । सुम्निमाले भोगेको जीवन पनि नारी जीवनको ज्यादै मार्मिक र सम्वेदनशील सङ्घर्ष हो ।

मोदिआइन : नारी आकाङ्क्षा र विद्रोहको ज्यादै गम्भीर रूप मोदिआइन पात्रमा पाइन्छ । नारी प्रतिको सम्मान, नारी पक्षधरता र नारी अधिकारको निम्ति लडिएको सशक्त लडाइँ मोदिआइनमा भएको छ ।मोदिआइनभित्र महाभारतको युद्धकालकी प्रेमाकाङ्क्षी युवती नारी, अतृप्त प्रेमाकाङ्क्षाकी अर्की प्रतिरूप युवती मछुवारिन र स्वयं मोदिआइन समेत समेटिएका छन् । तीन समयका तीनै नारीहरू र ती तीनै नारीकी प्रतिनिधि मोदिआइन समय, समाज र परम्पराका सिकार बनेर कुण्ठित जीवन बाँच्न बाध्य भएका छन् । नारी पहिला कुण्ठित युवती हो, उसको लोग्ने कुरुक्षेत्रको लडाइँमा कौरवहरूको पक्षबाट लडेर मरेको थियो ।

कौरवहरू र पाण्डवहरूका बीचमा अंशवण्डाको विषयमा उठेको भनिएको विवादले युद्धको रूप लिएको थियो । भगवान् श्रीकृष्णलगायत कौरव र पाण्डव पक्षका श्रेष्ठजनहरूसँग युद्ध रोक्न र सम्झौता गर्न अनुनय विनय गर्दा पनि नमानेर भएको नरसंहारी युद्धमा लाखौं मानिसको मृत्यु भएको थियो । उक्त युद्धमा हजारौँ प्रेमाकाङ्क्षी नारीहरूका आफ्ना प्रियजनको मृत्यु भएको थियो । निकै अनुरोध गर्दा पनि युद्ध रोक्नपट्टि नलागेर आफ्ना प्रियजनलाई युद्धमा होमेको विरोधमा नारीलगायतका हजारौंँ युवतीहरूले भगवान् श्रीकृष्णको समेत आलोचना गरेका थिए ।

त्यही समयदेखि पुरुष शोषणको सिकार बनेकी नारी अर्को जन्ममा मछुवारिनको रूप लिएर आफ्ना प्रियजनको खोजीमा भौँतारिएकी थिई भने तेस्रो जन्ममा मोदिआइनको रूप लिएर बुढो मोदीकी पत्नी बनेर आफ्नो प्रियजनको खोजी गरेकी थिई । पहिल्यै जन्मदेखि आफ्ना इच्छाविरुद्ध भएका कर्मको विरोध गर्दै आएकी मोदिआइनले पछिल्लो जन्मसम्ममा पनि आफ्नो प्रेमी त पाइन नै साथसाथै बुढो र रोगी मोदीकी पत्नी बनेर आफ्ना जैविक आकाङ्क्षा मार्न बाध्य भई । जुन कुरा सानोबाबुसँगको वार्तामा मोदिआइनले सङ्केत गरेकी छ र प्रियजनहरूलाई मारिरहने प्रवृत्तिको विरोध गरेकी छ ।

हाम्रो सभ्यता, संस्कृति र समाज निर्माणको क्रममा नारी जातिका आफ्ना कुण्ठाका विभिन्न रूप छन् र तिनका विद्रोहका पनि आफ्नै अवस्थाहरू छन् । प्रत्येक नारीले आफ्नो अधिकारको सुरक्षा र कर्तव्यको सम्मान चाहेका छन् । 

मानव भएर मानवको जीवन बाँच्न पनि आफ्नो इच्छा बाँच्न नपाइने र कुनै कुनै मानवलाई देवता तुल्याउन खोज्ने असान्दर्भिक कर्मको विरोध गरेर आफ्ना असन्तुष्टि पोख्ने, नारी विद्रोहको साङ्केतिक रूप प्रदर्शन गर्ने र नारी अधिकारका पक्षमा आफ्नो इच्छा प्रकट गर्ने काम मोदिआइन पात्रका माध्यमबाट भएको छ ।

सुम्निमा इन्द्रमायाभन्दा धेरै-धेरै वर्षअगाडिकी नारीहरूकी प्रतिनिधि हो । जतिखेर मानिसको सभ्यता भर्खर मात्र प्रारम्भ भएको थियो । देवता र मानिसका कर्मको विभाजनको बहस चलेको समय थियो । मानिसले आफूलाई देवता बनाउने कर्म गर्ने गर्थे । हुन त कतिपय किम्बदन्ती पनि होलान् तापनि सुम्निमाले अनार्य किरात र आर्य ब्राहृमणहरूका बीचको जीवनसम्बन्धी प्रारम्भिक बहसमा निर्णायक कुरा गरेकी छ । सुम्निमाले पनि मानिसको पक्षमा र नारीको पक्षमा बोलेरै आफ्नो जीवन व्यतीत गरेकी छ । मानिसले मानिसकै गुणधर्मलाई अङ्गाल्नु पर्छ ।

सृष्टिका दुई प्राणी स्त्री र पुरुषका बीचको प्राकृतिक नाता छ । शरीरका आफ्ना आकाङ्क्षा, आग्रह र सीमाहरू छन् । प्रकृति र पुरुषको योगबाट जीवन चल्छ । त्यसरी नै जीवन चलाउनु पनि पर्छ । प्रकृतिलाई अर्थात् नारीलाई उपेक्षा गरेर जीवन सुखी बन्न सक्दैन । शास्त्रधर्म मानिसले पछि आर्जेको ज्ञान हो, प्रकृत धर्म साश्वत् छ जसलाई पालन गर्ने र अरू नियमलाई बढाउँदै लैजाने हो भनेर सोमदत्तलाई सहज जीवन, स्वाभाविक जीवन, मौलिक जीवनलाई सम्मान गर्न निकै अनुरोध गरेकी छ । आफ्नो तर्कमा अडिग रहने र आफ्नो मर्यादामा रहिरहने सुम्निमाले शरीर धर्मानुरूप सोमदत्तलाई आफ्नो पार्ने मर्यादित बाटोमा प्रयत्न गरे पनि सफल हुन सकिन ।

त्यसपछिका दिनमा सोमदत्तको मार्गमा अवरोध हुन चाहिन । यद्यपि सोमदत्त जीवनभर सुम्निमाकै सम्झनाले दुःखी रहृयो । उसको योग अनुष्ठान सफल भएन तापनि सुम्निमाले व्यवधान गरेको नभई स्वयं सोमदत्तकै मनस्थिति उसको असफलतामा कारण बन्यो । सुम्निमाले भौतिक देहलाई सर्वेसर्वा मानेर बसी तर त्यस शरीरमा बस्ने मनको मर्म बुझ्न नसकेर दुःखी भई । सुम्निमा घोषित रूपमा परम्पराको सिकार बनिन तापनि उसले बेहोरेको नारी मनको विश्वासलाई कसैले चोट पुर्‍याएकाले दुःखी भई र यो जीवन आफ्ना-आफ्ना अडानमा आफूहरूले खेर फाले पनि सन्ततिले समन्वयको बाटो रोजेर सुखी रहून् भन्ने अपेक्षा गरेर ज्यादै शिष्ट र उच्चस्तरको त्याग गरेर नारी जातिको सङ्घर्षमा सहभागी भई ।

त्यस्तै महाभारतकालकी नारी, त्यस्तै अर्को कुनै जन्मकी मछुवारिन र पछिल्लो जन्मकी मोदिआइनको जीवन नारी कुण्ठा, अपमान र तिरस्कारको सिकार बनेर बितेको बुझिन्छ । नारी बनेर मोदिआइनले व्यक्त गरेका मानवसम्बन्धी र नारीसम्बन्धी चासो र चिन्ताका विषयका कुरा श्रीकृष्ण समेतलाई नारी भावनाको कदर भएन, मानव जातिको अपमान भयो, मानिसलाई द्यौता बनाउन नखोज भनी बोलेका मार्मिक भनाइहरू र पटक-पटक प्रियजनको खोजीमा जन्म लिने क्रममा मोदिआइन बन्न आइपुगेको भन्ने भनाइको सारसङ्क्षेपबाट मोदिआइन पनि इतिहासले अपमान गरेर कुण्ठित र सङ्घर्षशील जीवन बाँच्न विवश युवती हो भन्ने बुझिन्छ ।

यी तीन नारीका अलग अलग रूपका नारी विद्रोह र अधिकारका अभिव्यक्तिहरूको आफ्नै विशिष्ट महत्व छ । हाम्रो सभ्यता, संस्कृति र समाज निर्माणको क्रममा नारी जातिका आफ्ना कुण्ठाका विभिन्न रूप छन् र तिनका विद्रोहका पनि आफ्नै अवस्थाहरू छन् । प्रत्येक नारीले आफ्नो अधिकारको सुरक्षा र कर्तव्यको सम्मान चाहेका छन् । त्यसको निम्ति भिन्न भिन्न स्वरमा आफ्ना साङ्केतिक अभिव्यक्तिहरू दिएका छन् भन्ने सन्देश प्रवाहको निम्ति उपन्यासकार बीपी कोइरालाका नारी पात्रहरूमध्येका सशक्त यी तीन नारी चरित्रको भूमिका र योगदानले आफ्नै महत्व राख्दछन् भन्ने लाग्दछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?