राप्रपा नेपालले व्यवस्था परिवर्तनको मागसहित राष्ट्रव्यापी आन्दोलन सुरु गरेको छ । यो आन्दोलन कत्तिको प्रभावशाली बनेर अगाडि बढ्न सक्ला त्यो बिस्तारै देखिँदै जाने कुरा हो । तर, आन्दोलनका लागि गरिएका मागहरू जनमानसमा कत्तिको प्रभाव छोड्न सक्ने खालका छन् त्यो भने महत्व राख्ने प्रश्न हो । बेलाबेलामा राज्यप्रणालीका विरुद्धमा आन्दोलनहरू हुनुलाई स्वाभाविक मान्नुपर्छ । त्यसका लागि आन्दोलन आवश्यक हो कि होइन ? यदि निरंकुशताका विरुद्ध आन्दोलन अपरिहार्य छ भनेमात्र त्यस आन्दोलनले जनताको साथ र सहयोग पाउने हो । होइन भने त्यस्ता आन्दोलनहरू बेमौसमी बाजाजस्ता बनेरमात्र देखा पर्छन् र जनता यसको रमिते बन्छन् । कुनै–कुनैबाहेक इतिहासका सबै आन्दोलन सफल बन्न सकेका छैनन् ।
आन्दोलनको सफलता र असफलताका लागि जनताको हात हुनेगर्छ । जनताको व्यापक सहभागिता भएका आन्दोलनहरू सफल भएका छन् र जनसहभागिता नभएका आन्दोलनहरू सफल भएका छैनन् । बेला-बेला प्रणालीमा सुधार गर्दै जानुपर्ने आवश्यकता पनि हुनसक्छ । त्यसका लागि विद्यमान संविधान, ऐन, कानुन संशोधन गर्दै जानुपर्छ तर एउटा राज्यप्रणालीले राम्ररी आफ्नो गति लिन नपाउँदै प्रणाली वा व्यवस्था नै खारेजीको माग राखेर आन्दोलन गर्नु कत्तिको जायज हुनसक्ला ? त्यसतर्फ आन्दोलन गर्ने पक्षले सोच्नुपर्छ । २०६२/०६३ मा तत्कालीन राजाको निरंकुशता र परिवर्तनको माग राखेर पार्टीहरूले गरेको आन्दोलनमा जनताको सहभागिता देखेर आन्दोलन दबाउन लागिपरेको पक्ष आफैं डराएको थियो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कमल थापा त्यसबेला राजाको निकटस्थ रही जिम्मेवार र शक्तिशाली मन्त्री हुनुहुन्थ्यो । उहाँको आदेशबाट तत्कालीन समयमा धनजनको ठूलो क्षति भएको थियो । हाल व्यवस्था परिवर्तनको माग राखेर उहाँहरू आन्दोलन गरिरहनुभएको छ । त्यसकारणले यस आन्दोलनमा जनताको व्यापक संलग्नता हुनसक्ने अवस्था रहँदैन । हो, वर्तमान राज्यप्रणालीले जनचाहना बमोजिम काम गर्न सकेको छैन । यसको व्यापक विरोध भइरहेको छ तर यसो भन्दैमा व्यवस्थाकै विरुद्धमा जनता उत्रिनुपर्ने समय भइसकेको छैन । किनभने यो प्रणाली संसारकै सबैभन्दा उदार र जनतालाई अधिकार दिने प्रणाली हो । हिजो परिवर्तन चाहनेहरूको मात्र प्रणाली होइन यो । यो त हिजोका दिनहरूमा प्रणाली परिवर्तनलाई रोक्न खोज्नेहरूको समेत प्रणाली हो । अर्थात् परिवर्तन चाहने र नचाहने दुबैलाई बराबरी अधिकार दिने प्रणाली हो लोकतन्त्र ।
त्यसकारण लोकतन्त्रको अर्को विकल्प नै हुँदैन, लोकतन्त्रको विकल्प लोकतन्त्र नै हुनसक्छ । त्यसैले हाल हाम्रो देशमा रहेको लोकतन्त्रात्मक गणतन्त्रको जति विरोध भए पनि अर्को विकल्प हुनै सक्दैन । यसको विकल्प अझै परिमार्जित, परिष्कृत र उन्नत लोकतन्त्रमात्रै हुनसक्ने धारणाहरू आइरहेका छन् । यस्तो धारणामा सत्यता छ । लोकतन्त्र समाप्त हुने बित्तिकै अर्को एउटा निरंकुशता आउने हो । त्यसको नाम जे भए पनि त्यसले जनताका अधिकारहरूलाई कुण्ठित गर्छ नै । त्यसैले व्यवस्थाको विरुद्धमा त्यति धेरै आवाजहरू उठ्ने गरेका छैनन् तर व्यवस्थाको सञ्चालक नेताहरूका विरुद्धमा चाहिँ प्रसस्त आवाजहरू उठ्ने गरेका छन् । त्यो भने स्वाभाविक हो ।
नेताहरूले प्रणालीको दुरुपयोग गरेर यसको अवैधानिक दोहन गरी कुस्त आर्जन गरिरहेका छन् । आपूm र आफन्तको मात्र हितका कार्य उनीहरूबाट भइरहेका छन् । हिन्दु अधिराज्य र संवैधानिक राजतन्त्रको माग प्रणालीविरुद्धको मागभन्दा अलिक सघन रूपमै उठाइँदैछ । यसले भने अलिक बढी समर्थन पाउँन सक्छ । अधिकांश नागरिक हिन्दु भएको देश हो नेपाल । त्यसमा पनि ओमकार परिवारलाई समेत समेट्दा ९० प्रतिशत भन्दा बढी ओमकार परिवारकै मानिसहरू छन् । यति हुँदाहुँदै पनि थोरै संख्यामा भए रहेका प्रायोजित धर्मका व्यक्तिहरूबाट हिन्दु धर्मविरुद्ध अनेक खालका गतिविधि हुन थालेका छन् । यस्ता मागले समर्थन पाउन सक्छन् तर नेपालको संविधानमा धर्मनिरपेक्षता लेखाउन अन्तर्राष्ट्रिय क्षेत्रबाटै अनेकौं खेल भएका कारण हिन्दुराज्यको माग स्वाभाविक भए पनि यो माग पूरा गराउन सजिलो छैन ।
रहृयो कुरा संवैधानिक राजतन्त्रको । राजतन्त्रको आवश्यकता देख्ने र संवैधानिक राजतन्त्रको पक्षमा इतिहासदेखि नै समर्थन गर्दै आएको नेपाली कांग्रेस पार्टीसमेत पछिल्लो समयमा आधिकारिक रूपमा गणतन्त्रको पक्षमा लाग्यो । यस पार्टीभित्र हिन्दुराज्यको माग गर्नेहरूको संख्या धेरै छ तर राजतन्त्रको पुनःस्थापना हुनुपर्छ भनेर बोल्नेहरूको संख्या धेरै कम छ । अन्य विभिन्न कम्युनिष्ट पार्टीहरू त राजतन्त्रको विरुद्धमै हुने नै भए । राप्रपाले गरेको यो मागमा त्यति धेरै शक्ति छैन । यस कारण दुर्गा प्रसाईं, राप्रपा र मिटरब्याज तथा लघुवित्तपीडितहरूको समूहको समर्थन लिएर गर्न लागिएको यो आन्दोलन औचित्यपूर्ण छैन । सरकारलाई सचेत गराउने हकमा भने यसले केही प्रभाव छोड्न सक्न । बेलाबेलामा यस्ता आन्दोलन भइरहनुलाई अनुचित मान्नुपर्ने कुनै कारण छैन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच