काठमाडौं । आजदेखि देशभरका सिनेमाघरमा चलचित्र ‘गोखा वारियर’ प्रदर्शनमा आएको छ । शुक्रबार प्रदर्शनअन्तर्गत आजदेखि मिलन चाम्स निर्देशित यो चलचित्र सिनेमाघरमा आएको हो । निर्देशक मिलन चाम्स निर्देशित ऐतिहासिक अन्तर्राष्ट्रिय चलचित्र हो ‘गोर्खा वारियर’ । यो चलचित्रको पहिलो ट्रेलर केही समयअघि सार्वजनिक गरिएको थियो भने दोस्रो ट्रेलर सोमबार सार्वजनिक गरिएको थियो ।
चलचित्रको दोस्रो ट्रेलरमा त्यतिबेलाको समाज, बेलायती गोर्खा सेनामा भर्ना हुँदाको उत्साह र त्यसपछिको संघर्षमा केन्द्रित छ भने चलचित्रको पहिलो ट्रेलर बेलायती गोर्खा सैनिकले सन् १९४९ मा मलायको इमरजेन्सी जंगल युद्धमा गरेको लडाइँको सेरोफेरोमा छ ।
यो चलचित्रको पहिलो प्रिमियर भदौमा लण्डनस्थित विश्वकै प्रतिष्ठित मानिने ‘आइम्याक्स सिनेवल्र्ड’मा गरिएको थियो । यो हलमा प्रिमियर हुने ‘गोर्खा वारियर’ पहिलो नेपाली चलचित्र हो । बेलायतपछि निर्देशक चाम्सले नेपालमा मात्र तीन ठाउँमा प्रिमियर गर्नुभएको छ । फागुन ५ गते धरान, फागुन ७ गते पोखरा र बुधबार साँझ काठमाडौंको बिग मुभिजमा प्रिमियर आयोजना गरिएको छ । काठमाडौंको प्रिमियर शोमा शीर्षस्थ नेतादेखि विभिन्न देशका राजदूतहरूसम्मको उपस्थिति थियो ।
विभिन्न ठाउँमा गरिएका रेड कार्पेट प्रिमियरमा अतिथि तथा दर्शकबाट पाएको सकरात्मक प्रतिक्रियाबाट आफू निकै उत्साहित भएको निर्देशक मिलन चाम्सले बताउनुभएको छ ।
चलचित्र नेपाली, अंग्रेजी, कोरियन र हिन्दी भाषामा निर्माण गरिएको छ । चलचित्रमा नवअभिनेता रितेश चाम्स, विजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, बिरूप घले, सारा राईलगायत कलाकारको अभिनय छ ।
लण्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको यो चलचित्रको निर्मातामा सुमन राई र सुस्मिता वाइवा हुनुहुन्छ भने कार्याकारी निर्मातामा प्रशान्त थापा र सह-निर्मातामा रूपमा सुरेश राई रहनुभएको छ ।
इतिहासको पानासँग जोडिएको चलचित्र : ओली
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले चलचित्र ‘गोरखा वारियर’ फरक फरक भाषामा बिस्तारित गर्नुपर्ने बताउनुभएको छ । बुधबार काठमाडौंमा चलचित्रको प्रिमियर शो हेरिसकेपछि सिनेपत्रकारहरूसँगको कुराकानीका क्रममा उहाँले यस्तो धारणा राख्नुभएको हो ।
उहाँले चलचित्र गोरखा वारियर नेपालीहरूको इतिहासको एउटा कालखण्डलाई प्रभावकारी ढंगले बनाइएको बताउनुभयो । उहाँले नेपालीको बहादुरी गाथालाई चलचित्रमा प्रस्तुत गरिएको सुनाउनुभयो । अध्यक्ष ओलीले चलचित्रसँगै चलचित्रमा अभिनय गर्ने कलाकारहरूको अभिनय जीवन्त रहेको बताउनुभयो । उहाँले विभिन्न भाषामा चलचित्र प्रस्तुत गर्दा विश्वबजारमा आफैं गोरखा वारियरले बजार विस्तार र प्रतिस्पर्धा गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘हाम्रो एउटा इतिहासको पानासँग जोडिएको फिल्म रहेछ । यसले हाम्रो इतिहासको एउटा कालखण्डलाई सम्झाउँछ । फिल्म मन छुनेछ । कहिले कहिले भावुक बनाउँछ । एकातिर लडाइँ गर्दागर्दै अर्कोतिर मानवीय भावनाबाट पनि प्रेरित छ । फिल्म हेर्न थालेपछि सकिएको थाहा नै हुन्न ।’
पर्यटनमन्त्री सुदन किरातीले चलचित्र हेर्दा आफूले युद्धमा शहद भएका हजुरबुबा र बुबालाई सम्झिएको स्मरण गर्नुभयो । यस्तो विषयमा चलचित्र बनाउन राज्यको तर्फबाट वातावरण निर्माण हुनुपर्ने उहाँको भनाइ थियो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले चलचित्रले नेपालीको वीरताको गाथालाई विश्वभर फैलाउने बताउनुभयो । ‘हामो देश नेपाललाई सगरमाथा झैं गोर्खालीको देश भनेर पनि चिन्ने गरिन्छ तर यस्तो विषयमा चलचित्र निर्माणको संख्या निकै कम हुनु भने दुःखद् हो । यस्ता चलचित्रलाई हामीले हेरेर पनि हौसला प्रदान गर्नुपर्छ’, अध्यक्ष लिङ्देनले भन्नुभयो ।
अभिनेता हरिवंश आचार्यले चलचित्रमा गोर्खालीहरूको वीरताको कथा भनिएको र त्यो कथाभित्रको वेदना र छट्पटाहटलाई मनछुने ढंगले पस्किएको भन्दै प्रशंसा गर्नुभयो । अभिनेता सरोज खनालले अहिले आइरहेका चलचित्रभन्दा ‘गोर्खा वारियर’ निकै पृथक रहेको जिकिर गर्नुभयो । चलचित्रले उठाएको कथा धेरै पुरानो नभए पनि धेरै नेपालीलाई थाहा नभएकाले त्यसलाई प्रष्ट रुपमा देखाइएको उहाँको भनाइ थियो । हाँस्य कलाकार किरण केसीले वीर गोर्खाली किन भनिन्छ भन्ने कुरा चलचित्र हेरेपछि आफू प्रष्ट भएको बताउनुभयो ।
प्रिमियरमा नेपालका लागि संयुक्त अधिराज्यका राजदूत रोब फेन, एमाले नेता शेरधन राई, पूर्वमुख्यमन्त्री हिक्मत कार्की, राप्रपा नेता तथा सांसद् ज्ञानेन्द्र शाहीलगायतको उपस्थिति थियो । उहाँहरूले चलचित्रमा उठान गरिएको विषय र प्रस्तुतीकरणको तारिफ गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच