सुन्दामा अलि अनौठो लाग्ने तर अब नगरी नहुने चर्चा हो विकास र प्रगतिबीचको भिन्नताको चर्चा । एकअर्काका पर्याय लाग्नेजस्ता शब्द भए पनि यी दुवै सम्पूर्ण रूपमा समानार्थी भने होइनन् । यही विकास र प्रगतिलाई एकै मानेर राज्यद्वारा गरिएका कामले अनि त्यसमा गरिएका खर्चले अपेक्षाकृत सफल नतिजा दिन सकेका छैनन् । ज्यादाजसो प्रगति नापजोख गर्न मिल्ने हुन्छ, तुलना गर्न मिल्ने हुन्छ अनि तथ्यांकका आधारमा विवेचन गर्न सकिने हुन्छ । अर्थशास्त्रीहरू, योजनाविदहरू, राजनीतिक कार्यकर्ता सबैले यस्ता नाप्न जोख्न सकिने तथ्यांकका आधारमै मूल्यांकन गर्ने गर्दछन् । विकासमा भने मानवीय भावना, मानवीय भोगाइ, मानवीय अनुभव आदिले निक्र्याैल गरेको वृद्धि, प्रगति आदिको प्रभाव प्रधान हुन्छ ।
यसका धेरैजसो अझ भनौं प्रमुख तत्व तथ्यांकले प्रतिनिधित्व गर्दैन । मित्रराष्ट्र भुटान आफ्नो मुलुकलाई खुशीको मात्रामा विकासको मात्रा नाप्ने सम्भवत पहिलो मुलुक हो । जनताको खुशी उनीहरूको आर्थिक सम्पन्नतामा निर्भर गर्दैन भन्ने भुटानको सोच कति ठीक वा बेठीक हो त्यसमा थप अनुसन्धान, विवेचन, खोज आदि हुँदै जालान् । भनिन्छ राजा महेन्द्र र नेता बीपीको बीचको सैद्धान्तिक भिन्नतामा एक राजनीतिबिना विकास हुनसक्छ र राजनीतिबिना विकास हुन सक्दैन भन्ने नै थियो रे । यो कुरा त्यसबेलाका पुराना राजनीतिक कार्यकर्ताको मुखबाट सुनिएको भनेर भन्नेबाट सुनिएकाले अरे भनेर भनियो । जब राजा वीरेन्द्रले ‘विकासको निमित्त राजनीति’ भन्ने नारा दिए त्यसले राजा महेन्द्रको यो सोचको खण्डन गर्यो ।
नागरिकको आवश्यकता, नागरिकको माग आदिसँग असम्बन्धित कुराहरू प्रगतिलाई विकास मान्न सकिँदैन र मानिनु पनि हुँदैन । त्यसका उपभोक्ता नागरिकसँग सर्वथा अपरिचित निर्माणहरू कुनै पनि अर्थमा विकास मान्न सकिने कुरा होइनन् । विषेश गरेर त्यस्ता परियोजना, निर्माणमा नागरिकको गोजीबाट खर्च व्यहोरिएको हुन्छ ।
थपमा चर्चा विवेचन अनि मूल्यांकन हुने बाटो तत्कालीन समयको निमित्त बन्द नै भयो । हुनसक्छ भुटानको जनताको खुशी आर्थिक सम्पन्नतामा निर्भर गर्दैन भन्ने सोच पनि राज्य उत्तराधिकरीले यसै गरेर खण्डन गर्न सक्छन् तर भविष्यमा यी दुवै धारणाहरूको विषयमा ऐतिहासिक, प्राज्ञिक अध्ययन अनुसन्धान हुने बाटो भने खुला छ । सन् २०१२ मा संयुक्त राष्ट्रसंघका तात्कालीन महासचिव वान कि मुनले एसडिएसएन अर्थात् दिगो विकासको समाधान सञ्जाल अर्थात् सस्टेनेबल डेभलपमेन्ट सलुसन नेटवर्क थालनी गरे । यसको उद्देश्य दिगो विकास लक्ष लागू गर्ने क्रममा आइपर्ने समस्या समाधानको निमित्त वैश्विक वैज्ञानिक तथा प्राविधिक दक्षता परिचालन गर्नु रहेको छ ।
यसले प्रकाशित गरेको प्रतिवेदनमा खुशीको सूचचांक नाप्ने ६ कुरा मानेको छ । १. कूल गार्हस्थ उत्पादन, २. जीवनको आशा ३. उदारता ४. सामाजिक भरोसा ५. स्वतन्त्रता ६. भ्रष्टाचार । यी तत्वहरूले सही अर्थमा व्यक्तिको खुशी नाप्न सक्लान् वा नसक्लान् त्यो अहिलेलाई विवेचनको विषय होइन । यसै पनि तथ्यांक, घटनाको गणना अदिको आधारमा कूल गार्हस्थ उत्पादन र भ्रष्टाचार नाप्न सकिन्छ । बाँकी चार तत्व भने नाप्न फेरि अरू कुनै कुराको प्रभावको त्यसमा पर्ने अनुमानले गर्ने कुरा हो । जीवनको आशा अर्थात् बा“च्ने आशा धेरै मात्रामा प्राप्त हुने स्वास्थ सेवामा निर्भर गर्दछ तर यो नै शतप्रतिशत भने होइन ।
उदारता, सामाजिक भरोसा तथा स्वतन्त्रता भने फरकफरक व्यक्तिको उही परिस्थितिमा पनि फरक फरक हुन सक्छन् । अर्थात् यी कुराहरू निरपेक्ष मापन हुने कुरा होइनन् सापेक्षतामा अनुभूति हुने कुरा हुन् । विकासको सम्बन्ध त्यसो उपभोक्तासँग प्रत्यक्ष रहेको हुन्छ । भएको र भनिएको प्रगतिसँग त्यसका उपभोक्ता कत्तिको जोडिएका छन् ? कत्तिको आत्मसात गरेका छन् ? जस्ता कुराले ती कुराहरू विकास हुन् कि मात्र प्रगति हुन् भन्ने कुरा निक्र्यौल हुन्छ । नागरिकको आवश्यकता, नागरिकको माग आदिसँग असम्बन्धित कुरा प्रगतिलाई विकास मान्न सकिँदैन र मानिनु पनि हुँदैन । त्यसका उपभोक्ता नागरिकसँग सर्वथा अपरिचित निर्माण कुनै अर्थमा विकास मान्न सकिने कुरा होइनन् । विशेष गरेर त्यस्ता परियोजना, निर्माणमा नागरिकको गोजीबाट खर्च व्यहोरिएको हुन्छ ।
यहाँ नागरिकको गोजी भन्नाले उनीहरूबाट संकलित राजस्वमात्र भनिएको होइन । कुनै पनि मुलुकले प्राप्त गर्ने वा गर्नसक्ने ऋण सापटीहरू राज्यले नागरिकहरूबाट संकलित राजस्वले नै तिर्नुपर्ने हुन्छ । अर्थात् यस्ता कुराहरू नागरिकलाई तुरुन्तै वा कालान्तरमा आर्थिक बोझ थप्ने हुन्छ । त्यस्तै चन्दा संकलनले गरिएका काम नागरिककै कमाइका प्रतिफल हुन् तर चन्दामा खर्च व्यहोर्ने नागरिकहरूको इच्छा पनि जोडिएको हुन्छ । तर, चन्दा भने स्वेच्छिक हुनुपर्दछ विद्रोहकालको जस्तै अनिवार्य स्वेच्छिक भने असम्बन्धित आर्थिक बोझ नै हुन् ।
यो संविधानअन्तर्गतका पहिलो निर्वाचनले निर्माण गरेको संरचनाले मुलुकभरि भ्युटावरहरूको होड चलायो । होम स्टेलगायत पर्यटन प्रवद्र्धनमा लाग्न व्यवसायीलाई प्रेरित गर्यो । प्रगतिको कसीमा यो युगान्तकारी परिवर्तन थियो तर के यसले सर्वसाधारणको जनजीवनमा सकारात्मता ल्यायो त ?
विकासको नाममा कुनै योजनाको कुरा हुने बित्तिकै एकथरी नागरिक त्यसमा आफ्नो भविष्यको लाभ देख्न पुग्छन् । अनि त्यसका निमित्त वातावरण बनाउन जोड लगाउने गर्दछन् । तथ्यांकको उपयोग अझ भन्ने हो भने दुरूपयोग गरेर सर्वसाधारणलाई सपनाको लोकमा पु¥याउने गरिन्छ । यस्तो काममा नाम चलेका सर्वंसाधारणले पत्याएका विज्ञ मानिएका नै लागेका हुन्छन् । जब त्यो परियोजनाले देखाएको सपनाको रत्तिभर पनि मिल्ने कुरा हुँदैन अनि आरम्भ हुन्छ परस्पर दोषरोपणको ।
यस्ता परियोजनाहरूमा राजस्वको खर्च, वैदेशिक ऋण वा अनुदान जस्ता स्रोतबाट भएको खर्चको जिम्मेवारी को हो ? किन कसैले जिम्मेवारी नलिने ? किन यो भ्रम सिर्जना गरेर थोपरिएको प्रगतिका हिस्सेदारले उचित सजाय नपाउने ? यस्ता प्रश्नको उत्तर गौण हुनु नै विकासको नाममा जथाभावी गरिने निर्माणका निरन्तरता हुन् । निश्चय नै हिजोको जीर्ण भवनको स्थानमा वर्तमानमा ठडिएको अत्याधुनिक भवन प्रगति हो तर के त्यो आवश्यक थियो त ? त्यसले जनजीवनमा कस्तो परिवर्तन ल्यायो अनि त्यो परिवर्तनले जनता कति सुखी भए ? यसको उत्तरमै विकास र प्रगतिको भेद उजागर हुन्छ ।
राज्यको ढुकुटी, राज्यको शक्तिमा पुगेकाहरूले त्यो ढुकुटी, शक्ति आदिको सही प्रयोग गरेका छन् कि छैनन् भन्ने प्रश्न नै आवश्यक छैन । अनेकौं काण्ड र त्यसका समाचारले भरिपूर्ण सबै सञ्चारमाध्यमहरूले प्रष्ट गरिरहेका छन् । बजेट लगातार घाटामा चलेको छ । वास्तविक राष्ट्रिय उत्पादन निरन्तर घटेको छ । सेवा व्यवसाय जस्ताका उत्पादनहरू प्राथमिक उत्पादन होइनन् । पर्यटन, वैदेशिक रोजगारी, जलस्रोतको निकासी वर्तमानमा सबै योजनाविज्ञको, राजनीतिकर्मीहरूको निमित्त मुलुकमा व्याप्त हुँदै गएको आर्थिक संकटको उपाय भएको छ । विगतका वर्षमा विकासका नाममा भएका प्रगतिले मुलुकको उत्पादनमा कति सकारात्मक प्रभाव पारेको छ भन्ने कुराको मूल्यांकन हुनुपर्ने आवश्यकता टड्कारो देखिँदैछ ।
पर्यटक आवागमन चाहे त्यो आन्तरिक होस् वा बाहृय त्यसको प्रभाव अर्थतन्त्रमा कत्तिको सकारात्मक परेको छ भन्ने मूल्यांकन अब पनि नगरे कहिले गर्ने ? विकास र प्रगति समानार्थी होइनन् विकास जनजीवनसँग जोडिएको हुन्छ प्रगति भौतिक नापजोखमा देखिन्छ जनजीवनसँग खासै सरोकार राख्दैन भन्ने बोध हुन आवश्यक भइसकेको छ । नेपालीमा उखान छ ‘नपाउनेले केरा पायो, बोत्रैmसँग खायो’ भन्ने । यो विगतमा प्रसस्त चरितार्थ भएको छ र यो क्रम रोकिने छाँटकाँट पनि छैन । सनकको भरमा वा आफ्नो नाम प्रचार गर्ने मनसाय जस्तो लाग्ने कामहरू हुने गरेका छन् । जो कोषको सही प्रयोगले मुलुकको आर्थिक अवस्था सुधारनोन्मुख हुने काम गर्न सकिने थियो त्यसको उपयोगले आर्थिक अवस्था झन् ओह्रालो लाग्ने काम हुनुभनेको नै नपाउनेले पाएको केरा हो ।
यो संविधानअन्तर्गतका पहिलो निर्वाचनले निर्माण गरेको संरचनाले मुलुकभरि भ्युटावरहरूको होड चलायो । होम स्टेलगायत पर्यटन प्रवद्र्धनमा लाग्न व्यवसायीलाई प्रेरित गर्यो । प्रगतिको कसीमा यो युगान्तकारी परिवर्तन थियो तर के यसले सर्वसाधारणको जनजीवनमा सकारात्मता ल्यायो त ? अनेकौं शिक्षण संस्था, प्रशिक्षण संस्था खुले । ती सबै विदेशको निमित्त योग्य कामदार वा विशेषज्ञ तयार गर्ने लक्षसाथ थिए । निश्चय नै यो ठूलो प्रगति थियो । नेपाललाई शिक्षाको हब बनाउने सपना पनि देख्न थालिएको थियो । यो प्रगति नै हो । तर, यो विकास थिएन खोक्रो प्रगति थियो । परिणाम वर्तमानमा नेपाल विदेशी विद्यार्थी आकर्षित गरेर शिक्षाको केन्द्र बन्ने भन्ने कुराभन्दा नेपाली विद्यार्थी नै रोक्ने कुरा प्रमुख हुन पुग्यो । नागरिकहरू हमेशा सुन्दर भविष्य र भविष्यको सुनिश्चितता खोज्छन् ।
यस्तो बेलामा उनीहरूको निमित्त मुलुकको सीमा गौण हुन्छ । जसरी अग्लो स्थानबाट पानीको बहाव होचो स्थानतर्फ हुन्छ त्यसै गरेर मानवको बहाव ज्यादा अवसरतर्फ हुन्छ । यदि मुलुकमा विदेशिने प्रवृत्ति मौलाउँदै गएको छ भने त्यो मुलुकले अवसर प्रदान गर्न नसकेको कारणले नै हो । प्रगतिले यो अवसर पैदा गर्न खासै सहायकको काम गर्दैन तर विकासले भने यो अवसर पैदा गर्दछ । आन्दधुन्द देखासिकीमा अरूले हात्ती चढे भनेर धुरी चढ्न गरिएका कामलाई विकास भन्न मिल्दैन प्रगति भने निश्चय नै हो । पोखरा र भैरहवा विमानस्थल यस्तै प्रगति हुन जसले जनताको आर्थिक उन्नति गर्नुको साटो आर्थिक बोझ बढाएका छन् । त्यसैले जनतासँग प्रत्यक्ष नजोडिएको र सकारात्मक परिणाम नदिने कुनै पनि प्रगति विकास होइनन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच