
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०८०/०८१ को साउनयता विद्युत् वितरणतर्फका नौ सबस्टेसन निर्माण गरी सञ्चालनमा ल्याएको छ । प्राधिकरणले विद्युत् ग्रिड सबस्टेसनबाट वितरण सबस्टेसनसम्म विद्युत् पुर्याउन र वितरण सबस्टेसनबाट उपभोक्तासम्म विद्युत् पुर्याउन ३३ तथा ११ किलोभोल्ट (केभी) र चार सय भोल्टका लाइन पनि निर्माण गरी सञ्चालनमा ल्याएको छ ।
साउनदेखि हालसम्म वितरणतर्फका ३३/११ केभी क्षमताका नौ वितरण सबस्टेसन निर्माण गरी सञ्चालनमा ल्याइएको प्राधिकरणले जनाएको छ । जसबाट सबस्टेसन निर्माण क्षेत्रको विद्युत् आपूर्तिमा सुधारका साथै चुहावट पनि घटेको प्राधिकरणको दाबी छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उपभोक्तालाई भरपर्दो, गुणस्तरीय, पर्याप्त र सुरक्षित विद्युत् उपलब्ध गराउन देशभरि नै वितरणतर्फका लाइन र सबस्टेसन निर्माण अभियानकै रूपमा चलिरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘विद्युत् नपुगेका ठाउँमा विद्युतीकरण गर्न र पुगेका ठाउँको आपूर्ति सुधार गर्न वितरण प्रणालीको विस्तार र सुदृढीकरण व्यापकरूपमा गरिरहेका छौँ, संघीय राजधानी काठमाडौं उपत्यकासहित देशका प्रमुख शहर तथा औद्योगिक क्षेत्रको विद्युत् आपूर्ति भरपर्दो तथा गुणस्तरीय र भविष्यमा बढ्ने मागलाई सन् २०५० को समयसीमा निर्धारण गरी उच्चस्तरको, भरपर्दो र विश्वसनीय विद्युतीय भार बोक्न सक्ने प्रसारण र वितरणतर्फका लाइन र सबस्टेसन निर्माणलाई चरणबद्धरूपमा अघि बढाइसकेका छौँ ।’
जसका लागि हाल सञ्चालनमा रहेका प्रसारण तथा वितरण लाइन र सबस्टेसनको स्तरोन्नति तथा सुदृढीकरण र नयाँ प्रसारण लाइन र सबस्टेसनको निर्माण सुरु गरिएको उहाँको भनाइ थियो । प्राधिकरणले इलामको पश्चिम क्षेत्र र पाँचथरमा विद्युत् आपूर्तिका लागि ३३/११ केभीको चिसापानी सबस्टेसन, मकवानपुरको बागमती तथा बकैया गाउँपालिकामा विद्युत् आपूर्तिका लागि छतिवन सबस्टेसन, म्याग्दीको मंगला, मालिका तथा धौलागिरि गाउँपालिकामा विद्युत् आपूर्तिका लागि दरबाङ सबस्टेसन र नवलपरासी (बर्दघाट-सुस्ता पूर्व)को बुलिङटार गाउँपालिका क्षेत्रमा विद्युत् आपूर्तिका लागि बोझपोखरी सबस्टेसन निर्माण गरी सञ्चालनमा ल्याएको छ ।
नेपाल सरकार तथा प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलियतपूर्ण वितरण प्रणाली सुदृढीकरण तथा विस्तार आयोजनामार्फत् सबस्टेसन निर्माण गरिएको प्राधिकरणले जनाएको छ । आयोजनाअन्तर्गत देशभरि २५ नयाँ सबस्टेसन निर्माण र १२ सबस्टेसनको स्तरोन्नति तथा वितरण सञ्जाल निर्माण अघि बढाइएको थियो । २५ सबस्टेसनमध्ये पाँचवटा निर्माण अन्तिम चरणमा रहेको र सबस्टेसन स्तरोन्नति सम्पन्न भइसकेको छ ।
विश्व बैंकको ग्रिड सोलार तथा ऊर्जा दक्षता परियोजनामार्फत् प्राप्त सहुलियतपूर्ण ऋणमा मकवानपुरको मनहरी, सिन्धुलीको दुधौली, दोलखाको नाम्दु र ललितपुरको उनिचौरमा वितरणतर्फको ३३/११ केभी सबस्टेसन निर्माण गरी सञ्चालनमा ल्याइएको छ । त्यस्तै, विश्व बैंककै सहुलियतपूर्ण ऋणमा रामेछापको बाम्तीमा वितरण सबस्टेसन निर्माण गरिएको छ । उक्त सबस्टेसनसम्म पुग्ने ३३ केभी प्रसारण लाइन र त्यहाँबाट विद्युत् आपूर्तिका लागि लाइन पनि निर्माण गरी सञ्चालनमा ल्याइएको प्राधिकरणले जनाएको छ ।
पिपिए प्रक्रिया सुरु
नेपाल विद्युत् प्राधिकरणले साना जलविद्युत् आयोजनाको विद्युत् खरिद सम्झौता (पिपिए) प्रक्रिया अघि बढाएको छ । सञ्चालक समितिको बैठकबाट निर्णय भएअनुसार प्राधिकरणले मंगलबार एक सूचना जारी गर्दै १० मेगावाटसम्मका आयोजनाको पिपिएका लागि आउन आहृवान गरेको छ । नदी प्रवाहमा आधारित (आरओआर) र अर्धजलाशययुक्त साना आयोजनाको पिपिए हुनेछ । विद्युत् खरिदबिक्री सम्झौता भइसकेका आरओआर र पिआरओआर आयोजनाको उत्पादन क्षमता २५ प्रतिशतसम्म बढे पनि प्राधिकरणले खरिद गर्ने जनाएको छ । ऊर्जा उत्पादकहरूले विगत लामो समयदेखि विद्युत् आयोजनाको पिपिए गर्न सरकार तथा प्राधिकरणलाई दबाब दिँदै आएका थिए । तर, प्राधिकरणले उत्पादित विद्युत्को बजार ग्यारेण्टी नहुँदा नयाँ आयोजनाका लागि पिपिए गर्न आनाकानी गर्दै आएको थियो । पछिल्लो समय नेपालमा उत्पादित विद्युत् भारतले किन्ने सम्झौता गरेसँगै प्राधिकरणले पिपिए खुला गरेको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच