काठमाडौं । सयौँ कालजयी गीत, भजन नेपाली सांगीतक क्षेत्रमा अर्पण गर्नुभएका भजन शिरोमणि भक्तराज आचर्यको भौतिक देह सधैँका लागि विलीन भएको छ । सोमबार अपराहृन ८२ वर्षको उमेरमा निधन हुनुभएका आचार्यको मंगलबार पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । उहाँका छोरा गायक सत्यराज र स्वरूपराज आचार्यले उहाँको पार्थिव शरीरमा दागबत्ती दिनुभएको थियो । अन्तिम संस्कारअघि उहाँको पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि सानो गौचरनस्थित संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा राखिएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्व. आचार्यको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान गर्नुभएको थियो । प्रतिष्ठानका कुलपति निशा शर्माले पुष्पहार अर्पण गरी श्रद्धाञ्जलि अर्पण सुरु गर्नुभएको थियो । आचार्य गत दशैँमा लडेर घाइते हुनुभएको थियो । जसका कारण उहाँको टाउकोमा चोट लागेको थियो । त्यसपछि उहाँ घरमै आराम गर्दै आउनुभएको थियो । उहाँको महाप्रस्थानले नेपाली गीत संगीत क्षेत्र स्तब्ध बनेको छ ।
गीत-संगीतमा आचार्यको योगदान महत्वपूर्ण : प्रधानमन्त्री
प्रधानमन्त्री प्रचण्डले स्व. आचार्यले दिएको योगदानले गीत-संगीत क्षेत्रमा लामो समयसम्म उत्प्रेरणा र दिशानिर्देशन गरिरहने बताउनुभयो । आचार्यको पार्थिव शरीरमा श्रद्धाञ्जलि अर्पण गर्दै प्रधानमन्त्री प्रचण्डले उहाँको योगदान मुलुकका लागि महत्वपूर्ण रहेको स्मरण गर्नुभएको थियो । ‘उहाँले गीत-संगीतको क्षेत्रमा जुन योगदान गर्नुभएको छ, त्यो अमर अजर नै रहन्छ । कालजयी नै छन् उहाँका योगदानहरू । त्यसले गीत-संगीत क्षेत्रलाई लामो समयसम्म उत्प्रेरणा दिइरहने छ, दिशानिर्देश गर्नेछ’, प्रधानमन्त्री प्रचण्डले भन्नुभयो । उहाँले आचार्यको योगदानलाई राज्यले उच्च सम्मान गर्ने बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले आचार्यको उपचारमा भएको खर्चमा सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि जनाउनुभएको थियो । ‘उहाँको उपचारको सन्दर्भमा भएको खर्चका सम्बन्धमा र आउने दिनमा गर्नुपर्ने अन्य कामहरूको बारेमा म परिवारका अन्य सदस्यहरू जो आफैँ पनि संगीत र कलाको क्षेत्रमा स्थापित हुनुहुन्छ, कुराकानी गरेर जे गर्न सकिन्छ, नेपाल सरकारको तर्फबाट त्यो सहयोग हुने विश्वास व्यक्त गर्दछु,’ प्रधानमन्त्री प्रचण्डले भन्नुभयो ।
सांगीतिक जगत्का सुविख्यात नक्षत्रको क्षति : ओली
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले स्व. आचार्यको निधनले देशलाई अपूरणीय क्षति पुगेको बताउनुभयो । स्व. आचार्यको पार्थिव शरीरमा श्रद्धाञ्जलि अर्पण गर्दै उहाँले नेपाली सांगीतिक जगत्का सुविख्यात नक्षत्रको क्षति भएको बताउनुभयो । उहाँले स्व. आचार्यले नेपाली भजनलाई नयाँ आयाम दिन सफल व्यक्तिको रूपमा चिन्ने गरेको पनि बताउनुभयो । ‘नेपाली सांगीतिक जगत्का एउटा सुविख्यात नक्षत्र, नेपाली भजनलाई नयाँ आयाम दिन सफल भजन शिरोमणिको उपाधिबाट विभूषित, जनस्तरमा अत्यन्त लोकप्रिय र नेपाली संस्कृतिको क्षेत्रमा, कलाको क्षेत्रमा र संगीत, गायनको क्षेत्रमा असाधारण योगदान पु¥याउनुहुने भक्तराज आचार्य हामीमाझ रहनुभएन, यो अत्यन्त दुःखको कुरा हो र अपूरणीय क्षति हो’, अध्यक्ष ओलीले भन्नुभयो । उहाँले भजन शिरोमणिको उपाधिबाट विभूषित आचार्य जनस्तरमा लोकप्रिय र नेपाली संस्कृतिको क्षेत्रमा, कलाको क्षेत्रमा र संगीत, गायनको क्षेत्रमा असाधारण योगदान पुर्याएको बताउनुभयो ।
‘संगीत विश्वविद्यालयको देहावसान’
स्व. आचार्यको पार्थिव शरीरमा श्रद्धाञ्जलि अर्पण गर्दै वरिष्ठ कलाकार नीर शाहले नेपाली आधुनिक र भक्ति संगीतमा भक्तराज आचार्यको अतुलनीय योगदान रहेको बताउनुभयो । शाहले संगीतकारमा हुनुपर्ने सबै गुणहरू भएको व्यक्तिका रूपमा चित्रण गर्नुभयो । उहाँले संगीतको विकासका लागि सचेत मानिसको श्रेणीभन्दा माथि उठेर संघर्ष गर्ने व्यक्ति स्व. आचार्य रहेको टिप्पणी गर्नुभयो । यस्तै, कलाकार जितु नेपालले आचार्यको भौतिक शरीरले नेपालीलाई छोडे पनि उहाँका सिर्जना सधैँ नेपालीमाझ अमर भइरहने बताउनुभयो । उहाँले संगीत विश्वविद्यालयको देहावसान भएको बताउनुभयो ।
आचार्यलाई सुर सम्राट् भन्नुपर्छ : बास्कोटा
स्व. भक्तराज आचार्यलाई नेपाली सुर सम्राट् भनेर भन्र्नुपर्ने वरिष्ठ संगीतकार शम्भुजित बास्कोटाले बताउनुभएको छ । स्व. आचार्यको पार्थिव शरीरमा श्रद्धाञ्जलि अर्पण गर्दै वरिष्ठ संगीतकार बास्कोटाले यस्तो बनाउनुभएको हो । ‘उहाँले ‘हिँड्दा हिँड्दै’ बोलको मेरो एउटा गीत गाउनु भएको छ । भक्तराज आचार्यलाई नेपाली सुर सम्राट् भनेर भन्नुपर्छ । उहाँले भजन शिरोमणि भनेर पनि टाइटल पाउनुभएको छ । त्यो पनि ठिक छ’, संगीतकार बास्कोटाले भन्नुभयो । गत महिना एक कार्यक्रममा आचार्यसँग भेट भएको बताउँदै उहाँले भन्नुभयो, ‘नेपालमा गीत संगीतमा सुर के हो भन्ने कुराको ज्ञान उहाँले सिकाउनुभएको हो । मेरो उहाँसँग पहिलो भेट २०३१ सालमा रेडियो नेपालमा भएको थियो । रेडियोमा हामीले सँगै काम पनि गर्यौँ, प्रसिद्धि पनि कमायौँ । उहाँसँगको उठबसको क्षण अहिले झलझली याद आइरहेको छ । अहिले म उहाँको निधनको पीडामा धेरै बोल्न सक्ने पक्षमा छैन ।’
अमर स्वरका धनी : सापकोटा
संगीतकार चेतन सापकोटाले स्व. भक्तराज आचार्यलाई अमर स्वरका धनी रहेको बताउनुभयो । स्व. आचार्यको पार्थिव शरीरमा श्रद्धाञ्जलि अर्पण गर्दै संगीतकार सापकोटाले यस्तो बनाउनुभएको हो । उहाँले भन्नुभयो, ‘अमर स्वरका धनी हो उहाँ । रेडियो नेपालमा आफ्नो जिन्दगी अर्पण गरेको व्यक्तित्व हो उहाँ । भीषण प्रतिभा, शब्द उच्चारण धेरै राम्रो । उहाँजस्तो शब्द उच्चारण गरेर गाउने व्यक्ति नेपालमा कोही छैन ।’ स्व. आचार्यलाई सुरका राजा भएको बताउँदै संगीतकार सापकोटाले भन्नुभयो, ‘भारतीय गायक गुलाम अलीले पनि उहाँको सुरको तारिफ गर्दै ‘सुरका महाराज’ भन्नुभएको थियो । उहाँको जति सुर लाग्ने गायक नेपालमा अहिलेसम्म छैन ।’
श्रद्धाञ्जलि अर्पणमा मन्त्रीदेखि कलाकारसम्म
आचार्यको अन्तिम श्रद्धाञ्जलिका लागि ठूलो संख्यामा कलाकार तथा राजनीतिज्ञ नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान पुगेका थिए । अन्तिम श्रद्धाञ्जलि दिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायत राजनीतिज्ञ प्रतिष्ठान पुगेका थिए । यस्तै, हरिहर शर्मा, हरिवंश आचार्य, दीपाश्री निरौला, संगीतकार शम्भुजित बास्कोटा, वसन्त सापकोटा, गायक आनन्द कार्की, अञ्जु पन्तलगायत ठूलो संख्यामा कलाकर्मी तथा शुभेच्छुक अन्तिम श्रद्धाञ्जलिका लागि प्रतिष्ठान पुगेका थिए ।
गुञ्जियो- ‘जहाँ छन् बुद्धका आँखा...’
भजन शिरोमणि आचार्यलाई नाट्य प्रज्ञा प्रतिष्ठानको प्रांगणमा अन्तिम श्रद्धाञ्जलि क्रममा उहाँका केही चर्चित गीत गुञ्जिएका थिए । प्रज्ञा प्रतिष्ठानमा उपस्थित कलाकारहरूले उहाँको सम्झनामा, ‘जहाँ छन् बुद्धका आँखा...’ गुन्गुनाएका थिए । त्यस क्रममा भक्तराजका दुई छोरा सत्य र स्वरूपले पनि बुवाको उक्त कालजयी गीत गाउनुभएको थियो । भक्तराजको गीत गुञ्जिँदा श्रद्धाञ्जलि दिन जम्मा भएका कलाकारदेखि सर्वसाधारण भावुक बनेका थिए । उहाँका ‘जीवन भनूँ त घात छ..., मुटु जलिरहेछ, यो मन गलिरहेछ..., जति चोट दिन्छौ देऊ मायालु..., सबै बेहोसी नशा पिएर..., हजार आँखा हेर्ने मेरी मायालुलाई..., भुल्नै सकिनँ त्यो क्षण मिलनको..., सबैबाट तिरस्कृत..., यो कथा सुरु गरेर..., आँसुजस्तो हो जीवन..., हजार सपनाहरूको माया लागेर आउँछ...., जहाँ छन् बुद्धका आँखा...., कोही नगरोस् प्रेम अमर... जस्ता गीत पछिल्लो पुस्तासम्म लोकप्रिय छन् ।
यस्तै, ‘एकदिन मैले प्रभुसँग सोधेँ..., तन मन वचनले..., सब निदाए प्रभु, लौन अब मेरो प्रभु..., जगत कि आमा..., अनन्तदेखि बगिरहेको..., जय गुरु गणपति मंगल मूर्ति..., श्री राम प्रभुको चरण कमलमा..., प्रेम प्रभुको शाश्वत धारा..., बजिरहेछ बाँसुरी..., भगवान् जीवन नाऊ..., भव सागरमा डुबी सकेँ म..., रहेन छ केही..., कति लिन्छौ परीक्षा भगवान्..., दुःखै दुःख मिल्दा पनि..., दुर्गे देऊ भक्ति त मलाई..., न धन त्यागेर त्यागी हुन्छ..., हामी भुलेछौ धनजन मधले..., हे मनमोहन मुरलीवाला..., सजल सजल यो नैन भिखारी..., राम यहीँ छन् श्याम यहीँ छन्..., भगवान् दर्शन कसरी पाऊँ..., ईश्वर प्रभु नै अन्तर्यामी...’ जस्ता भजन पनि त्यतिकै लोकप्रिय छन् ।
सदा-सदाका लागि गुञ्जिरहने छन्
बुबा बलभद्र र आमा रेनुकाको कोखबाट वि.सं. १९९९ साल असोज १६ मा धनकुटामा जन्मिनुभएका आचार्यले साढे एक वर्षमै बुबा गुमाउनुभएको थियो । सोही बेला गाउँमा चलेको महामारीका कारण आमासँगै उहाँ भारतको डुअर्सको चियाबगान पुग्नुभएको थियो जहाँ उहाँले जीवनका ३१ वर्ष बिताउनुभयो । विस्तारै आमाको अवस्था पनि कमजोर हुँदै गएपछि कम उमेरमै उहाँले पारिवारिक दायित्व सम्हाल्नुपरेको थियो । जस्तोसुकै विपत्तिमा पनि संगीतप्रतिको उहाँको लगाव जारी नै रहृयो ।
तीसको दशकको सुरुवातसँगै उहाँको सांगीतिक जीवनले मोड लिएको थियो । वि.सं. २०३० सालमा काठमाडौंमा भएको ‘अधिराज्यव्यापी राष्ट्रिय गीत प्रतियोगिता’मा उहाँले गाएको ‘होसियार यस बखत समयको मुखलाई चिन...’ प्रथम भएको थियो र उहाँले स्वर्ण पदक प्राप्त गर्नुभएको थियो । यस गीतका संगीतकार तथा रचनाकार अम्बर गुरुङले पनि स्वर्ण पदक प्राप्त गर्नुभएको थियो ।
प्रतियोगितामा प्रथम भएपछि रेडियो नेपालमा उहाँ जागिरे हुनुभएको थियो । रेडियो नेपालमा करारको जागिर खानुभएका उहाँ सुब्बा हुँदै अधिकृत हुनुभएको थियो । अधिकृत भएको करिब ११ वर्षपछि उहाँले राजीनामा दिनुभएको थियो ।
वि.सं. २०४६ सालसम्ममा उहाँले साढे चार सय गीत रेकर्ड गर्नुभएको थियो । थुप्रै गीतको पनि उहाँले रचना गर्नुभएको छ । आचार्यले भजन, आधुनिक, गजल, राष्ट्रिय, बाल गीतलगायत चलचित्रको पाश्र्व गायनसमेत गर्नुभएको छ । आचार्यले आफ्नो जीवन कालमा चार सयभन्दा बढी गीतमा स्वर तथा संगीत दिनुभएको छ ।
वि.सं. २०४६ सालको एक साँझ बौद्धमा सांघातिक हमला भएपछि भक्तराजका टाउकामा झण्डै सयभन्दा बढी टाँका मार्नुपरेको थियो । त्यसयता लगभग उहाँको गायनयात्रामा विराम लागेको थियो । २०५० सालमा जिब्रोको क्यान्सरका कारण संगीतबाट टाढा मात्रै होइन राम्रोसँग बोल्न उहाँ नसक्ने हुनुभएको थियो । त्यसयता उहाँले झोलिलो पदार्थको सहारामै जीवन बिताउनुभएको थियो ।
स्वर्गीय आचार्यले भजन शिरोमणि, पद्मश्री पुरस्कार, गोरखा दक्षिणबाहु, त्रिशक्ति पट्ट (पहिलो), वीरेन्द्र-ऐश्वर्य सेवा पदक, राष्ट्रिय प्रतिभा पुरस्कार, छिन्नलता पुरस्कार, राष्ट्रिय संगीत सम्मान २०७५ लगायत थुप्रै दीर्घ साधना सम्मान, पुरस्कार र अवार्ड प्राप्त गर्नुभएको छ । आचार्यको जीवनीमाथि ‘आचार्य’ नामक नेपाली चलचित्र पनि बनेको छ, जसमा भक्तराज आचार्यको जीवनका हरेक उतार-चढावको बारेमा देखाइएको छ । उक्त चलचित्रमा उहाँका छोरा सत्यराज आचार्यले नै भक्तराज आचार्यको भूमिका निर्वाह गर्नुभएको छ । आचार्यको नेपाली सुगम संगीतमा विशिष्ट स्थान छ । आचार्यका श्रीमती, दुई छोरा-बुहारी र दुई नाति हुनुहुन्छ । गीत गाउन असमर्थ भएको ३४ वर्षपछि भजन शिरोमणि आचार्य सधैँका लागि हामीबाट बिदा हुनुभएको छ । उहाँ यो संसारमा नरहे पनि उहाँका कालजयी गीत–संगीतहरू सदा-सदाका लागि गुञ्जिरहने छन् । भजन शिरोमणिप्रति हिमालय टाइम्स परिवार हार्दिक श्रद्धासुमन अर्पण गर्दछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच