बिस महिनाको पारिश्रमिकले खाद्यान्न सहयोग

दाने बोहरा हुम्ला, संवाददाता
Read Time = 4 mins

हुम्ला । हुम्लाको सिमकोट गाउँपालिका-१ का वडाध्यक्ष गोरख लामाले खाद्यान्न सामग्री सहयोग गर्नु भएको छ । दुई सय पन्ध्र घरधुरी रहेको वडा १ मा एक सय घरधुरीलाई पाँच केजी आटा, पाँच केजी नुन र एक लिटर (दुई प्याकेट) तेल सहयोग गर्नु भएको छ ।

वडाध्यक्ष लामा आफु निर्वाचित भएदेखि अहिलेसम्म बिस महिनाको पारिश्रमिक सरकारबाट आएको सेवा सुविधा बापतको रकमले वडावासीलाई खाद्यान्न सहयोग गर्नुभएको हो । वडाबासीको दुःख बुजेर बिस महिनाको पारिश्रमिक बापतको रकमले खाद्यान्न गर्नुभएको हो ।

बिस महिनाको रु चार लाख पचास हजार बराबरको खाद्यान्न सामग्री सहयोग गरेको वडाध्यक्ष लामाले बताउनुभयो । वडा १ मा तीन वस्ति भएकाले प्रत्येक वस्तिका अति विपन्न १५ घरधुरीलाई एक-एक बोरा चामल समेत सहयोग गरेको बताउनुभयो । ठेहे गाउँका पाँच, बैजीबाडा गाउँका पाँच र दोजाम गाउँका पाँच विपन्न घरधुरीलाई चामल समेत सहयोग गरेको उहाँको भनाई छ ।

त्यस्तै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा हुम्लाबाट खरिद गरी ढुवानी अनुदानमा चामल गाउँमै पुर्याएको उहाँले बताउनुभयो । सदरमुकाम सिमकोटदेखि ठेहे-दोजामसम्म एक बोरा चामलको ढुवानी रु एक सय पचास रुपैयाँ लाग्छ, त्यो सबै ढुवानी भाडा वडाध्यक्ष लामा आफुले तिरेको बताउनुभयो ।

वडा १ मा ठेहे गाउँमा एक सय घरधुरी रहेका छन् भने दोजाम र बैजीबाडा गाउँमा एक सय पन्ध्र घरधुरी रहेका छन् । दोजाम बैजीबाडा गाउँका घरधुरीलाई आइतबार सहयोग वितरण गरिने भएको वडाध्यक्ष लामाले बताउनुभयो । आफ्नो वडामा रहेका प्रत्येक घरधुरीलाई वितरण गर्ने भएको वडाध्यक्ष लामाले बताउनुभयो ।

खाद्यान्न अभाव भएको समय गाउँमै पुगेर राहत वितरण गर्दा स्थानीय खुसि भएका थिए भने वडाध्यक्ष लामालाई धन्यवाद दिनुका साथै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गरेको स्थानीय रंग भण्डारीले बताउनुभयो ।

दुई विरामीको निःशुल्क उद्धार

यस्तै वडाध्यक्ष लामाले दोजाम गाउँका विरामी हर्क बहादुर लामालाई गाउँदेखि सदरमुकाम सिमकोटसम्म व्यक्तिगत खर्चमा उद्धार गरेको बताउनुभयो । दोजामदेखि सिमकोटसम्म लाग्ने गाडी भाडा रु १२ हजार आफैले दिएको उहाँले बताउनुभयो ।

यस्तै ठेहे गाउँमा लाग्ने चैतलो मेलामा ढुंगाको छेलो (सटपुट) हान्ने क्रममा घाइते भएका साउने भण्डारीलाईसमेत उद्धार गरेको उहाँले बताउनुभयो । ढुंगाको छेलो लागेर घाइते भएका भण्डारीलाई गाउँदेखि सदरमुकामसम्म उद्धार गर्नुका साथै सिमकोट देखि नेपालगञ्जसम्मको जहाज भाडासमेत आफुले तिरेको उहाँले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?