नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन कायमै राख्ने

भाेजराज रोस्यारा कैलाली, संवाददाता
Read Time = 3 mins

नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ । आइतबार बसेको प्रदेशसभा संसदीय दलको बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेका हो ।

प्रदेश सभा, संसदीय दलको कार्यालयमा बसेको बैठकमा प्रदेश सभा सदस्य कैलाश चौधरी र टीका थापा भने सहभागी हुनु भएको थिएन । कैलाश चौधरी र टीका थापाबाहेक सरकारमा सहभागी पाँच जना सदस्यहरूको बैठकमा उपस्थिति रहेको थियो ।

बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै आर्थिक मामिला मन्त्रीसमेत रहनुभएका घनश्याम चौधरीले अहिलेको सरकारलाई नै समर्थन कायम राख्ने र चाँडै मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिने बताउनुभयो । उहाँले यो हप्ता भित्रै सरकारले विश्वासको मत लिने बताउनुभएको छ ।

बैठकमा सहभागी नभएका प्रदेशसभा सदस्यहरूलाई समेत सरकारमा सहभागी गराउने विषयमा छलफल भइरहेको दाबी संसदीय दलका नेता चौधरीको छ । केन्द्रमा नयाँ गठबन्धनमा सामेल भएर प्रधानमन्त्रीलाई विश्वासको मत दिएका बेला प्रदेशमा छुट्टै समीकरण बनाएर नयाँ सन्देश दिन खोजिएको उहाँले टिप्पणी गर्नुभएको छ ।

नागरिक उन्मुक्ति पार्टीले मुख्यमन्त्री शाहलाई समर्थन कायमै राखे कांग्रेसका १८ र उन्मुक्तिका सात गरेर सरकारको पक्षमा २५ जना प्रदेश सभा सदस्य संख्या पुग्नेछ । शाह नेतृत्वको सरकार टिकिरहन राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र प्रदेश सभा सदस्य डाक्टर ताराप्रसाद जोशीको समर्थन आवश्यक पर्नेछ । बहुमत पु¥याउन सरकारको पक्षमा २७ जना सदस्यको समर्थन हुनुपर्छ ।

संघमा राजनीतिक समीकरण फेरिएसँगै माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले पार्टीले समर्थन फिर्ता लिएपछि सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह अल्पमतमा पर्नुभएको छ । नागरिक उन्मुक्तिले समर्थन फिर्ता नलिएपछि मुख्यमन्त्री शाहले आफ्नो पक्षमा बहुमत पु¥याउन उक्त पार्टीबाट चार जनालाई मन्त्री र एक जनालाई राज्यमन्त्री बनाउनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?