जङ्गली जनावरले आक्रमण गर्न थालेपछि स्थानीयमा त्रसित

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 9 mins

पर्सा । पर्साको पटेर्वासुगौली-२ लक्ष्मीपुर निवासी २३ वर्षीय सरोज अधिकारीलाई गत बिहीबार बाघले आक्रमण गरी घाइते बनायो । बाघको आक्रमणमा परी टाउको, हात र शरीरको विभिन्न भागमा चोट लागेका अधिकारीको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ ।

पटेर्वासुगौली-२ थरकट्टी गाउँका ३२ वर्षीय मनोज महतो उराँवको गत पुस ८ गते साँझ बाघले आक्रमण गरी ज्यान लियो । साँझको समयमा शौच गर्न गएका उराँवको शव क्षतविक्षत् अवस्थामा बिहान फेला परेको थियो । नेपाल प्रहरी र गाउँलेले जङ्गलदेखि करिब ५० मिटर टाढा बाघले मारेको अवस्थामा शरीरको केही भाग मात्र फेला पारेको थियो ।

हिजो साँझ पर्साको जिराभवानी गाउँपालिका-४ मा बाघले पूर्ववडाध्यक्ष सुभाष राउतसहितका स्थानीयवासीको बाख्रालाई आक्रमण गरेको छ । सोही गाउँपालिका-५ हरैया पहाडीटोलस्थित राउतले पालेका चौपायालाई खोरभित्रै पसेर बाघले आक्रमण गरी मारेको उहाँले बताउनुभयो ।

बाघले दुईवटा बाख्रालाई खोरमै मारेको र एउटा खसीलाई घिसारेर केही पर लगेको प्रहरी चौकी शङ्करसरैयाले जनाएको छ ।

यही फागुन १६ गते पर्सागढी नगरपालिका-७ निवासी ललन यादवको गोठमा राखेको सात वटा बाख्रा मारेको बाघले सोही राति पर्सागढी-१ कोलाभार निवासी मायादेवी मोक्तानको गोठमा रहेका चार बाख्रा खाएको थियो ।

गत कात्तिक ८ गते जङ्गली हात्तीले आक्रमण गर्दा पर्सागढी नगरपालिका-१ निवासी एकवाल हजराको मृत्यु भएको थियो । सोही राति ती हात्तीले सो गाउँका एक दर्जन स्थानीयवासीको घर भत्काएर अन्नबाली खाएको थियो ।

विगत दुई महिनाको अवधिमा पटेर्वासुगौली, पर्सागढी र जिराभवानी गाउँपालिकामा बाघ र हात्तीको आक्रमणबाट दुई दर्जन भन्दाबढी व्यक्ति घाइते भएका र तीन दर्जन भन्दाबढी पशुचौपाया मारेको इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक रामराजा केसरीले जानकारी दिनुभयो । योसँगै जिल्लाका विभिन्न गाउँबस्तीमा बाघ, हात्तीलगायत जङ्गली जनावरको आक्रमणबाट बर्सेनी सर्वसाधारणले ज्यान गुमाउँदै आएका उहाँको भनाइ छ ।

जङ्गली जनावरको आक्रमणमा परी कतिपयको घटनास्थलमै मृत्यु हुने गरेको छ भने कतिपयको उपचार भए पनि घाउमा सङ्क्रमण भएर केही समयपछि मृत्यु हुने पाइएको प्रहरी निरीक्षक केसरीले बताउनुभयो ।

पर्सा राष्ट्रिय निकुञ्जका साथै राष्ट्रिय वन तथा जङ्गलबाट आउने बाघ, हात्तीलगायतका जङ्गली जनावर मानवबस्ती पसेर मानवीय तथा पशुचौपायालाई क्षति पुर्‍याउनुका साथै गहुँ, तरकारीबाली नाली नष्ट गर्न थालेपछि स्थानीय राति जाग्राम बस्न बाध्य भएका छन् । जिराभवानी, ठोरी, पटेर्वासुगौली, पर्सागढी र सखुवा प्रसौनी गाउँपालिकाका एकदर्जन गाउँका किसान जङ्गली जनावरबाट पीडित भएका छन् ।

वन जङ्गलबाट आउने चित्तल, हात्ती, हरिण, निलगाई, बँदेल, बाँदर, भालु, मयूरलगायत जनावरले गहुँ, मकै, आलु, तोरीसहति पशुचौपायामाथि आक्रमण गर्न थालेपछि अन्नबाली र घरपालुवा पशुचौपाया जोगाउन जाग्राम बस्न बाध्य भएको ठोरी गाउँपालिकाका रञ्जित श्रेष्ठले बताउनुभयो । राष्ट्रिय वनमा घेरवार नहुँदा दैनिकजसो आउने जङ्गली जनावरले बालीनली नष्ट पार्ने गरेको उहाँको भनाइ छ ।

खासगरी रातिको समयमा आउने जङ्गली जनावरले गहुँबालीमा क्षति पुर्‍याउने गरेकाले क्षति न्यूनीकरणका लागि सो ठाउँमा मचान बनाएर निगरानी गरिरहेको जीराभवानी गाउँपालिकाका किसान शङ्कर महतोले बताउनुभयो । रातिको समयमा आउने हात्तीलाई धपाउन किसानले पटका पड्काउने र अन्य जङ्गली जनावरलाई भगाउन टिन ठटाउने, हो-हल्ला गर्ने गरेको उहाँको भनाइ छ ।

स्थापनाकालदेखि नै पर्सा राष्ट्रिय निकुञ्ज र राष्ट्रिय वनका जीवजन्तुले बर्सेनी उत्पात मच्चाँदै जनधनको क्षति पुर्‍याउँदै आएकाले यसको नियन्त्रणमा ठोस् पहल गर्न सरकारसँग स्थानीयवासीले आग्रह गरेका छन् ।

जङ्गली जीवजन्तुको आक्रमणबाट आफूहरुको जीवन नै सङ्कटमा परेको पटेर्वा सुगौलीका स्थानीय सुमन अधिकारीले बताउनुभयो । “कतिबेला जङ्गलबाट बाघ, भालु र हात्ती आउँछन् र आक्रमण गर्छन् भन्ने त्रासमा हामी बाँचिरहेका छौँ”, उहाँले भन्नुभयो, “जङ्गली जनावरका कारण नत स्वतन्त्र रुपमा हिँडडुल गर्न सकिन्छ, नत निर्धक्कपूर्वक घरमा सुत्न पाइरहेका छौँ ।”

पटक-पटक जङ्गली जनावरको नियन्त्रणको लागि स्थानीयवासीबाट माग उठ्दै आए पनि सरकारीस्तरबाट कुनै पहल नभएको सुनाउँदै ठोरीका रामबहादुर श्रेष्ठले भन्नुभयो, “हामीले जङ्गली जनावरको आतङ्क रोक्न धेरै पटक आवाज उठायौँ । अहिलेसम्म हाम्रो समस्या समाधान भएको छैन ।”

जङ्गली जनावरले दिउँसै आक्रमण गर्न थालेपछि आजित भएका स्थानीयवासीले यसको दीर्घकालीन समाधानका लागि सरकारलाई दबाब दिन र आफू पनि सक्रिय रहन स्थानीय जनप्रतिनिधिसँग आग्रह गर्दै आएका छन् ।

जिल्लास्थित डिभिजन वन कार्यालयका प्रमुख हेमन्त साहले राष्ट्रिय वन जङ्गल आसपासको क्षेत्रमा जङ्गली जनावरले आतङ्क मच्चाउँदै आएको स्वीकार्दै समस्या समाधानका लागि पहल गरिरहेको बताउनुभयो ।

बजेट तथा आवश्यक कानुनको अभावले समग्र जङ्गल क्षेत्रमा घेरबार गर्न नसकिएपछि जङ्गली जनावरले बढी क्षति पुर्‍याउने क्षेत्रमा ठूलो खाल्डो खनेर तत्कालीन समस्या समाधान गर्न सकिने उहाँको भनाइ छ ।

कार्यालयमा बाघ व्यवस्थापनको उचित टोली नभएकाले समस्या निरन्तर बढेको साहले बताउनुभयो । “दीर्घकालीन समाधानका लागि सम्बन्धित निकायमा पत्राचार गरेका छौँ । बाघको उद्दार गर्ने दक्ष टोली ९स्पेसल टिम० चितवन राष्ट्रिय निकुञ्जमा छन्”, उहाँले भन्नुभयो, “त्यहाँबाट टोली माग गरेका छौँ ।”

टोली आइसकेपछि बाघको उचित व्यवस्थापन तथा उद्दारमा जुट्ने प्रमुख साहले जानकारी दिनुभयो । पर्सा राष्ट्रिय निकुञ्ज आधाभारका वाडेन रामचन्द्र खतिवडाले मानवबस्तीमा बाघ पसेर क्षति पुर्‍याउने गरेकाप्रति आफुहरु गम्भीर रहेको भन्दै तत्काल समस्याको समाधान खोज्ने प्रयास भइरहेको बताउनुभयो । रासस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?