धरान । सुनसरी उद्योग बाणिज्य संघको आयोजनामा यही फागुन ११ गतेदेखि धरान रंगशालामा आयोजना भइरहेको धरान एक्स्पोको एकदिन समय थप गरी आज (फागुन २४ गते बिहीबार) वरिष्ठ लोकगायक गंगा बरदानको आर्थिक सहयोगार्थ समर्पित गरिने भएको छ ।
वरिष्ठ लोकगायक गंगा बरदानका लागि गरिने उक्त च्यारिटी कन्सर्टमा चर्चित पप गायक धीरज राई, चर्चित गायिका मिलन नेवारसँगै स्थानीय कलाकार आस्था एण्ड द ब्रदस र शीर्षक एण्ड द फ्रेन्ड्सजको प्रस्तुति रहनेछ भने गंगा बरदानको समेत सो कार्यक्रममा प्रस्तुति रहने आयोजकले जनाएको छ । ‘छपनीले छान छान डबकीले हान, कहाँमा काट्यो बेतको लौरी, बजारै भरौन धरानै, सिमसिम पानी, माया गर्ने बानी, जीउको मासु, धराने हावा’जस्ता थुप्रै चर्चित गीतका सर्जक तथा गायक गंगा बरदान उमेरले ७१ वर्ष काटिसक्नु भएको छ भने संगीत क्षेत्रमा ५० वर्षे लामो यात्रा तय गरिसक्नु भएको छ ।
भोजपुर्को दिंग्लामा जन्मिनुभएका गायक बरदान श्रीमतीका साथ धरान-१४ विजयपुरमा भाँडामा बस्दै आउनुभएको छ । उहाँको आर्थिक अवस्था कम्जोर भएकोले सिल्भर इन्टरटेनमेन्टको व्यवस्थापन तथा सेवक अभियान र धरान संगीत प्रतिष्ठानको संग्लनतामा कार्यक्रम आयोजना गरिन लागेको हो । कार्यक्रमबाट उठेको सम्पूर्ण रकम गंगा बरदानले मासिक रूपमा पाउने गरी स्थानीय बैंकमा जम्मा गरिने आयोजकले जनाएको छ ।