
सत्ता समीकरण बदलिएको तीन दिनयतादेखि राजनीतिक वृत्तमा रहेकाहरूको मात्रै होइन, राजनीतिमा चासो राख्ने भनिएकाहरूको मुहारमा पनि कसैकोमा हाँसो देखिएको छ भने कसैका अनुहार मलीन हुनपुगेका छन् । अस्थिर राजनीतिका माहिर खेलाडी भनेर चिनिएका प्रधानमन्त्री पुष्पकमल दाहालले ज-जसलाई समाए, उनीहरूको रवाफ एक्कासि बढेर गएको छ भने प्रचण्डले छाडेकाहरूमा छट्पटाहट देखिन थालेको छ । देश एक्लै हाँक्छौं र जनताको मुहार फेर्छौं भन्ने वाचाका साथ चुनावमा होमिने नेताहरू प्रचण्डको वियोग हुने बित्तिकै रन्थनिने र उनको साथ पाउने बित्तिकै बौरिने अचम्मको परिदृश्य नेपालमा देखिन्छ । एक्लै बाँच्ने, हुर्किने र फैलने स्वभाव राजनीतिक दलहरूको हराइसकेको छ ।
प्रचण्ड साथमा रहँदा मन्त्री पाउनेहरूले खाइपाई आएको पद गुमाउँदा उनीहरूमा नैराश्य देखिनु स्वाभाविकै हो । मान्छेको रगत खान पल्केको बाघले मान्छे नै मार्न खोज्छ भने झैँ बारम्बार सत्तामा पुगेर स्वाद चाखिसकेका तर दुई वर्षभन्दा अघिदेखि सत्ता बाहिर रहेर काकाकुल झैँ छट्पटाई रहेकाहरूले प्रचण्डको साथ पाउँदा हौसिनुलाई पनि स्वाभाविक नै मान्नुपर्दछ । नेपालमा भने कागलाई बेल पाक्यो हर्ष न विस्मात् भने झैँ जसका हातमा सत्ता पुगे पनि कुनै तात्विक असर नपर्ने वर्गकाहरू पनि कोही रुञ्चेनुहार लिएर प्रस्तुत हुनु र कोही उन्मादले भरिपूर्ण देखिनु चाहिँ अति नै अस्वाभाविक देखिन्छ र पनि वर्तमानको राजनीतिक बजारमा त्यस्तै देखिएको छ ।
केही थान मन्त्रीहरू फालिएका छन् भने केही थान नयाँहरूले मन्त्री पदको आसन भेट्टाउँदै छन् तर आफैँ कुर्सीमा पुगे झैँ गरी फुर्किएकाहरूको मुहार देख्दा दया मान्नुपर्ने अवस्था छ । पुरानाले पनि आफ्नै परिवार र नातागोतालाई हेरेका थिए र नयाँले पनि आफ्नै पारिवारिक मोहलाई त्याग्ने होइनन् ।
निश्चय नै हो, अबका छ आठ महिनापछि प्रधानमन्त्री हुने निश्चित जस्तै भएका नेकपा एकीकृत समाजवादीका माधवकुमार नेपाललाई प्रधानमन्त्री प्रचण्डको सत्ता गठबन्धन परिवर्तन गर्ने कदमले चोट परेको छ । माधव नेपालको एक वर्षपछिको शासनकाल पछि छैटौं पटक प्रधानमन्त्री हुने सुनिश्चितता बोकेर बसेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको हृदयमा ठूलै घाउ अवश्यै लागेको छ । गुमेको भनेको यिनीहरूकै हो तर आजका मितिसम्म पनि केही नपाएका र भोलि पनि केही नपाउने वर्गको केही गुमेको छैन । केही नगुमे पनि माधव नेपाल र शेरबहादुर देउवाको भविष्य गुम्दा आफ्नै सर्वस्व गुमेको अनुभव गर्ने पंक्ति लामै देखिन्छ ।
शेरबहादुर देउवाको अति निकट रहेका सांसद्हरूको मन्त्री बन्ने सम्भावना गुमेको छ । मन्त्रिमण्डल फेरबदल हुँदा आफूले पनि पाउने आशा गरेर बसेका कांग्रेस र एकीकृत समाजवादीका सांसद्हरूलाई केही मर्का परेको छ । मन्त्रिमण्डल फेरिँदा पनि आफू देउवाको अति निकट रहेका कारण आफ्नो पद कुनै हालतमा जाँदैन भनेर ढुक्क बनेकाहरूको होसहवास उडेको छ । कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपाको तालमेल हुँदा पनि केही नपाएका र पाउने कुनै सम्भावना नभएकाको केही डुबेको छैन तर समाजमा भने बाबुआमाको तेह्र दिन किरिया बस्दा परेको पीडाजस्तो अनुहार लिएका प्रशस्तै भेटिन्छन् ।
अर्कोतर्फ प्रचण्डले कांग्रेससँग सत्ता गठबन्धन गर्दा पनि केही नपाएका र अहिले नेकपा एमालेका केपी ओलीको पोल्टामा सत्ता पुग्दा पनि केही नपाउनेहरू बुरुक् बुरुक् उफ्रिएको परिदृश्य पनि अचम्मै लाग्दो छ । केही थान मन्त्रीहरू फालिएका छन् भने केही थान नयाँहरूले मन्त्री पदको आसन भेट्टाउँदै छन् तर आफैं कुर्सीमा पुगे झैँ गरी फुर्किएकाहरूको मुहार देख्दा दया मान्नुपर्ने अवस्था छ । पुरानाले पनि आफ्नै परिवार, नातागोतालाई हेरेका थिए र नयाँले पनि आफ्नै पारिवारिक मोहलाई त्याग्ने होइनन् । हदै बाहिर आए भने ढोके, बैठके र झोलेहरूसम्म आइपुग्ने हुन् तर आफ्नो भाग्य अब चम्कियो भने झैँ गरी उफ्रिनेहरू सडकभरि देखिएका छन् ।
पुरानो गठबन्धन रहेका भए माधव नेपाल र शेरबहादुर देउवा पालैपालो प्रधानमन्त्री बन्दथे, त्यो भाग्य अहिले केपी ओलीतिर सरेको छ । भाग्य कर्ममा भर पर्दछ । आज देखिएको भाग्य भोलिका दिनमा कता सर्दछ कुनै ठोकुवा गर्न सकिन्न । २०७९ को पुषमा ओलीका पुर्पुरामा रहेको भाग्य एकाएक देउवातिर सरेर कांग्रेसका नेता रामचन्द्र पौडेललाई फलिफाप हुनपुग्यो । यो मुलुक नेपाल नै हो र माओवादीका अध्यक्ष प्रचण्ड नै हुन् । त्यसैले ओली फुरुक्क हुने अवस्था पनि छैन भने जति उफ्रे पनि कान्लामुनि नै हुनेहरू किन त्यसै चम्किएका हुन्, कसैले थाहा पाउन सकेको छैन । वर्तमान परिवर्तनबाट जे पाउने हो नेताले नै हो र जे गुमेको छ नेताको नै गुमेको छ, अरूको केही गुमेको छैन ।
सर्वसाधारण जनतालाई यो सत्ता गठबन्धन परिवर्तनले के असर पार्छ र ? मुलुकको अवस्थामा कांग्रेस छाडेर ओलीतिर प्रचण्ड जाँदा के परिवर्तन आउने सम्भावना छ ? राजनीतिक अस्थिरतामा फसेको नेपाललाई झन् अस्थिर बनाउनेबाहेक अहिलेको चलखेलले अरू के नै योगदान दिएको छ र ? गरिबीको रेखामुनि रहेका नेपालीहरूको आर्थिक अवस्था सुधार्न वर्तमानमा रचिएको राजनीतिक चक्रले केही मद्दत गर्छ र ? विद्यालय जान नसकेका बालबालिका र औषधिमूलोका अभावमा ज्यान गुमाउन या अंगभंग हुन पुगेकाहरूको अवस्थामा नयाँ सत्ता समीकरण हुँदा कुनै सकारात्मक प्रभाव पर्न सक्छ र ?
केपी ओली २०७४ मा नेपालको प्रधानमन्त्री हुँदै गर्दा एकजना नेपालीका टाउकामा जम्मा सैँतीस हजारमात्रै वैदेशिक ऋणको बोझ थियो र उनको तीन वर्षको कार्यकालमै ५३ हजार हाराहारीमा पुगेको थियो । त्यसपछि नेपाली कांग्रेसका सभापति प्रधानमन्त्री भए र उनका कार्यकालभरि ऋण घट्ने कुनै संकेत देखिएन । प्रधानमन्त्रीमा प्रचण्ड आएपछि वैदेशिक ऋण बढ्ने क्रमले अझै गति लिँदै जाँदा प्रत्येक नेपालीको काँधमा ८३ हजार वैदेशिक ऋणको भारी छ । अब यो सत्ता परिवर्तनले यो ऋण घटाउने हो र नेपाली जनता हर्षले विभोर हुनुपर्ने ? विगत हेर्दा झन् खतरा बढ्ने निश्चित छ भन्ने अनुमान सहजै गर्न सकिन्छ ।
हुन त देश र जनताका लागि भन्दै आठ बुँदे समझदारी पत्रमा सत्ता गठबन्धनका सहयात्रीहरू नेकपा एमाले, माओवादी केन्द्र, रास्वपा र जसपाका नेताहरूले हस्ताक्षर गरेका छन् । माओवादी र जसपा त पुरानो गठबन्धनमा पनि रहेका थिए र उनीहरूलाई देश र जनताका काम गर्न कसले रोकेको थियो ? प्रचारमा ल्याइएका आठ बुँदाअन्तर्गत रहेका कार्यहरू गर्न कांग्रेस र एकीकृत समाजवादीका मान्छेहरूले अवरोध सिर्जना गरेका थिए ? यदि थिए भने बेलैमा त्यसको जानकारी जनतालाई किन नगराएको ? त्यसैले अघिल्लै सरकारका प्रमुख रहेका प्रचण्डकै नेतृत्वमा अबको सरकार पनि हुँदा परिवर्तनको आशा गरेर खुशी हुनुपर्ने कारण देखिँदैन ।
बरू यो सत्ता परिवर्तन अझ बढी शक्ति हासिल गर्न र सत्ता लम्ब्याउन हो भन्ने बुझिन्छ । छ महिनापछि छाड्नुपर्ने प्रधानमन्त्रीको कुर्सी अझै दुई वर्षका लागि प्रचण्डले आफ्नै खोकिलामा राख्न सफल भएका छन् । प्रधानमन्त्रीको सपनै मारिसकेका केपी ओली फेरि अर्को दुई वर्ष प्रधानमन्त्री हुने सम्भावना बढेको छ र यो देखिबाहेक अरू केही परिवर्तन जनताका पोल्टामा आउनेवाला छैन । आउँदो चुनावमा कांग्रेसलाई नंगेझार पार्ने सपना देखेकाहरूमा केही ऊर्जा थपिएको हुनसक्छ तर मुखमा माड लाउन प्रयासरतहरूका निम्ति कुनै ऊर्जा प्रदान गर्ने सम्भावना देखिँदैन ।
जब तीन दशकअघिदेखि सत्तामा देखिएका अनुहारहरूमा परिवर्तन आउन थाल्दछ, तब केही आशा गर्ने अवस्था आउन सक्दछ । जब परीक्षण नगरिएका निष्कलंक व्यक्तित्वहरूका हातमा सत्ता जान थाल्दछ तब जनतामा उत्साहको लहर आउनु स्वाभाविक मानिन्छ ।
गृह र अर्थ मन्त्रालय माओवादी केन्द्रले नै राख्न पाउनुपर्दछ, सत्ता साझेदारमध्ये एमाले सबैभन्दा ठूलो दल भएका कारण माओवादीको प्रधानमन्त्री भएपछि गृह एमालेले नै पाउनुपर्दछ, गृह मन्त्रालय नपाए रास्वपा सरकारमा सामेल हुँदैन जस्ता चर्चाहरू बजारमा चुलिएका थिए । यही विवादमा मुलुकको हित र जनताका पक्षमा काम गर्छौँ भन्ने दुहाई दिएका दलहरूले दुई दिन बिताए र बल्लबल्ल मन्त्रालयको टुङ्गो लगाए । त्यसमाथि उपप्रधानमन्त्रीको लर्को कति जनाको हुने अनिश्चित छ । जहाँजहाँ धनको बिटो र शक्तिको मुठो छ, तिनै मन्त्रालयमा सत्ता साझेदारहरूको हानथाप देखिन्छ । यदि देश र जनताका लागि यो परिवर्तन भएको भए जनतासंग जोडिएका शिक्षा, स्वास्थ्य, कृषि आदि मन्त्रालयहरू लिने हानथाप हुनुपर्ने हो । जनताका काम गर्नुपर्ने र जनतासंग सिधै संवाद गर्नुपर्ने मन्त्रालयहरू कुनै पनि दलका प्राथमिकतामा देखिँदैनन् । कांग्रेस सत्तामा हुँदा पनि यस्तै नै परिस्थिति थियो । यसै हो भने कतिपयका मुहारमा किन हर्ष देखिएको हो र कसैका मुहारमा किन विस्मात् ?
किसानले मलबिनाको कृषिकार्य गर्न विगतमा बाध्य थिए र अब पनि हुने त्यही हो । शिक्षक, प्राध्यापकहरूले अघिल्लो गठबन्धन हुँदा पनि पढाएरै खानु पर्दथ्यो भने अब पनि पढाउनै पर्दछ । मजदुरहरूले बिहानदेखि बेलुकासम्म नंग्रा नखियाई पहिले गुजारा चल्दैनथ्यो र भावी दिनमा पनि अवस्था त्यही हो । कर्मचारीहरूले बिहान दश बजे र बेलुकी पाँच बजे हाजिर गर्न कार्यालय जानै पर्दछ । सबैको दिनचर्या जो सरकारमा हुँदा पनि उही नै हो भने कसैले पुर्पुरामा हात लाउनुपर्ने र कोही दुई हात माथि उफ्रनुपर्ने कुनै कारण देखिँदैन ।
जब तीन दशकअघिदेखि सत्तामा देखिएका अनुहारहरूमा परिवर्तन आउन थाल्दछ, तब केही आशा गर्ने अवस्था आउन सक्दछ । जब परीक्षण नगरिएका निष्कलंक व्यक्तित्वहरूका हातमा सत्ता जान थाल्दछ तब जनतामा उत्साहको लहर आउनु स्वाभाविक मानिन्छ । जब राजनीतिक दलहरू घृणित राजनीति छाडेर देश र जनतामा केन्द्रित हुन थाल्दछन् तब सर्वसाधारण हर्षित हुनुको अर्थ रहन्छ । जब राजनीतिक दलहरूले जनमतको कदर गर्दै जनताका चाहना बमोजिमका कार्यहरू गर्दछन् तबमात्रै खुशी हुन सकिन्छ । खाली सत्ताको छिनाझपटीमा भएका खेलबाट जनताले के पाउँछन् र खुशी हुने ?
यद्यपि विश्वविद्यालयको उपकुलपतिको नियुक्तिको लहर चलिरहँदा आँ गरेर बसेकाहरूलाई ठूलै पीडा परेको हुनसक्छ । उपकुलपति पछि मै शिक्षाध्यक्ष हुन्छु या रजिष्ट्रार बन्छु भनेकालाई पनि मर्का परेको होला । विभिन्न संस्थानको अध्यक्ष र महाप्रबन्धक पदमा रहेकाहरूको मुटुमा ढ्यांग्रो बज्न थालेको होला भने एमालेका कतिपयमा नियुक्ति पाउने आशा पलाएको होला तर आमजनतामा भने यो परिवर्तनको असर पर्ला जस्तो कुनै गुञ्जायस देखिँदैन तर पनि सडकमा फुर्किएका र ठुस्सिएका अनुहारहरूको कमी छैन । वास्तवमा जनताले केही पाएका पनि छैनन् र केही गुमेको पनि छैन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच