दश वर्षदेखि प्रयोगविहीन ल्याण्डफिल्ड साईट, कुरुप बन्दै तानसेन शहर

Read Time = 5 mins

-रामचन्द्र रायमाझी

पाल्पा । पाल्पाको तानसेन नगरपालिकामा संकलन भएको फोहोर व्यवस्थापनका लागि निर्माण गरिएको सेनेटरी ल्याण्डफिल साइट दश वर्षदेखि प्रयोगविहीन अवस्थामा रहेको छ ।
नगर सरकारले फोहोरको उचित व्यवस्थापन गर्न नसक्दा जथाभावी रुपमा फोहोरको दुर्गन्थ फैलन थालेको छ । स्थानीयले अवरोध गरेका कारण ल्याण्डफिल साइट दश वर्षदेखि प्रयोगविहीन भएको हो ।

तानसेन नगर सरकारले २०६९ सालमा शिवपोखरीको सम्मोबारीमा नगरको फोहोर विर्सजन गर्न ल्याण्डफिल साइट निर्माण गरेको थियो । तर नगर सरकारले फोहोर व्यवस्थापनलाई चुस्त र व्यवस्थित बनाउन नसक्दा नजिकै रहेको वस्तीमा दुर्गन्ध फैलिन पुगेको थियो । जथाभावी रुपमा फालिएको फोहोरको दुर्गन्धले वातावरण मात्र दुर्गन्धित नभई मानव स्वास्थ्यमा समेत ठूलो असर पुग्न थालेपछि स्थानीयले फोहोर फाल्न रोक लगाएका थिए । फोहोर फाल्न अवरोध गरेका कारण अहिले यहाँको ल्याण्डफिल साइट प्रयोगमा आउन नसकेको हो ।

फोहोर व्यवस्थापन गर्न भन्दै नगर सरकारले तीन करोड बढी लागतमा ल्याण्डफिल साइट निर्माण गरेको थियो । तर एक दशकदेखि साइट प्रयोगमा नआउँदा उक्त रकम बालुवामा पानी हाले सरह भएको छ । तानसेनदेखि ४ किलोमिटर टाढा नगरपालिकाले २९ रोपनी जग्गा खरिद गरी साइट निर्माण गरेको छ । तर अन्तर्राष्ट्रिय मान्यता र सेनेटरी ल्याण्डफिल साइटको अवधारणा विपरित फोहोर फालिएको भन्दै उक्त क्षेत्रका स्थानीयले पटक–पटक फोहोर विसर्जनमा अवरोध गर्दै आएका छन् । वर्षौ हुँदा समेत नगर सरकारले त्यसको विकल्प खोज्न सकेको छैन । नगर सरकारले न विकल्प खोज्न सकेको छ न त निर्माण भएको ल्याण्डफिल साइटको उचित व्यवस्थापन नै । ल्याण्डफिल साइड प्रयोगमा नआउँदा बजारबाट निस्कने फोहोर बनदेविस्थित जंगल र सडक छेउमा फालिँदै आइएको छ । फोहोर जथाभावी रुपमा फालिन थालेपछि शुन्दर तानसेन कुरुप बन्दै गएको छ ।

दिनहुँ जसो संकलन भएको फोहोरको उचित व्यवस्थापन नहुँदा तानसेन कुरुप बन्नुको साथै मानव स्वास्थ्यमा समेत असर पुग्ने गरेको स्थानीय दलबहादुर रास्कोटी बताउनुहुन्छ । उहाँ भन्नु हुन्छ ‘नगर सरकारको वेवास्तका कारण फोहोरले दिनहुँ दुर्गन्धित बनाउदै लगेको छ ।’ स्वास्थ्य जस्तो संवेदनशिल विषयमा नगर सरकार गम्भीर नबनेको नसुरीदीन मियाँ बताउनुहुन्छ । अहिले तानसेनबाट मात्र दैनिक साढे २ टन फोहोर उत्पादन हुने गर्दछ । बजारबाट निस्कने फोहोर बस्ती छेउमै फालिदा त्यसबाट निस्कने दुर्गन्धले गर्दा नजिकै रहेका वस्तीमा असर पुगेको छ । एकातर्फ नगरपालिकाले प्रयोगविहीन साइट सञ्चालनतर्फ ध्यान दिएको छैन भने सडक छेउमै फोहोर फालिँदा त्यसले नकारात्मक असर पु¥याइरहेको स्थानीय लक्ष्मी रावलको भनाई छ ।

सामुदायिक वनमा फालिएको फोहोरले यस आसपासका क्षेत्रमा असर पर्न गएको छ नै अझ दिनहुँ गुड्ने गाडीमा सवार यात्रीहरुलाई यो बाटो पार गर्न निकै कष्ठकर बन्ने गरेको छ । फोहोर व्यवस्थापनका लागि निर्माण गरिएको ल्याण्डफिल साइटको विस्तृत अध्ययन गरी सबैको समन्वय र सहकार्यमा समस्या समाधानमा लाग्ने नगर प्रमुख सन्तोषलाल श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयाे, ‘करोडौं लगानी गरेर निर्माण गरिएको सेनेटरी ल्याण्डफिल साईट बन्द हुुनु आफैँमा राम्रो सन्देश भने अवश्य पनि होइन । फोहोर जस्तो संवेदनशील विषयमा सबै सजग हुनुपर्छ, भर्खर निर्वाचित भएर आएको छु । यस विषयमा विस्तृत अध्ययन गरेर काम अगाडि बढाईने छ ।’

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?