झापा । तारिफ लायक खेलमैदान, चुस्त व्यवस्थापन, खेल अवधिभर उल्लेख्य दर्शकको सहभागिता झापा गोल्डकप छैटौँ संस्करणका पछिसम्म रहने स्मरण हुन् । यी स्मृतिमा गोल्डकपले छाडेका दृश्य हुनेछन् । फागुन १९ गतेबाट सुरु भएको प्रतियोगिता यही सम्झना दिलाउँदै २८ गते सम्पन्न भएको छ । प्रतियोगिताका विजेता चर्च ब्याइजले १३ लाख नगद र आकर्षक मेडल हात पार्यो, उपविजेता एपिएफ क्लबले सात लाख । यी सबै काम गर्न आयोजक समिति अहोरात्र खट्यो, परिणाम प्रतियोगिता पूर्ण सफल बन्यो । यसकै कारण अहिले प्रतियोगिता आयोजकको झापामा प्रशंसा भइरहेको छ । यो प्रशंसा ताजै रहेका बेला आयोजक समितिले अर्को सकारात्मक काम गरेको छ । त्यो हो, खेलमैदान र आसपासको सरसफाइ । खेल अवधिभर दर्शकले खाजा पानी खाएर फालेका खाली बोतल, प्लास्टिकका खोल तथा विभिन्न प्रकारका बट्टा आयोजक आफैंले उठाएको हो ।
स्वयंसेवी संस्था मेची–महाकाली अभियानको अगुवाइमा गोल्डकप आयोजक समितिले डोमालाल राजवंशी रंगशाला परिसर सरसफाइ गरेको हो । सरसफाइमा प्रतियोगिता आयोजक समितिका अध्यक्ष विनोद बस्नेत, महासचिव गजेन्द्रबहादुर पौडेललगायत अन्य पदाधिकारी खटेको देखिन्थ्यो । खेल आयोजक समितिका अध्यक्ष बस्नेतले भन्नुभयो, ‘प्रतियोगिता अवधिमा खेलमैदान र आसपास फोहोर भयो, सफा गर्ने जिम्मेवारी हाम्रो हो ।’ उहाँले सामाजिक जिम्मेवारीबाट आफूहरू पन्छन नसक्ने भएकाले त्यही जिम्मेवारी बहन गरेको बताउनुभयो ।
हरेक मेला, महोत्सव र खेलकुदमा सार्वजनिकस्थल फोहोर पारिन्छ तर सफा गरिँदैन । जसका कारण सार्वजनिक स्थलको सौन्दर्य नासिन्छ । ‘हामी पराश्रित भयौँ, त्यसकै प्रतिफल सार्वजनिक स्थल फोहोर भए,’ अध्यक्ष बस्नेतले भन्नुभयो, ‘आयोजकले सफा नगर्ने संस्कारको अन्त्य र फोहोर जसले गर्यो, उसैले सफाइ गर्नुपर्छ भन्ने जिम्मेवारीबोधको उदाहरण हो ।’
कसैलाई देखाउन नभई आफ्नो काम आफैं गर्नुपर्छ भन्ने सोचले नै आफूहरू मैदान सफाइमा खटेको बस्नेतले बताउनुभयो । बिर्तामोडलाई स्वच्छ र सुन्दर राख्ने दायित्व स्थानीयको भएको बस्नेतको प्रतिक्रिया छ ।
सरसफाइ अभियानका संयोजक विष्णु आचार्यले खेलमैदान सबैको साझा सम्पदा हो, हामी सबैले स्वच्छ, सफा राखौँ भन्ने मूल उद्देश्यका रंगशाला सफाइ गरिएको बताउनुभयो । उहाँले रंगशालालाई थप व्यवस्थित, स्वच्छ र सफा वातावरण बनाउन आफूहरू प्रयासरत रहेको बताउनुभयो । रंगशाला र आसपास क्षेत्र सरसफाइ त्यसकै निरन्तरता भएको आचार्यको भनाइ छ ।
गोल्डकप अवधिमा बिर्तामोड क्षेत्रमा डस्टबिन राखिएको थियोे । ननस्टप मललगायतका संस्थाले डस्टबिन उपलब्ध गराएका थिए । ननस्टप मलले २० वटा डस्टबिन उपलब्ध गराएको सञ्चालक मिजास पोखरेलले जनाउनुभयो । गोल्डकप आयोजक समितिले खेलमैदान डोमालाल आसपासमा डस्टबिन राख्नुका साथै दर्शकका लागि अस्थायी शौचालय निर्माण गरेर प्रतियोगिताको सुरुदेखि नै सरसफाइमा आफूलाई केन्द्रित गरेको थियो ।
आयोजक समितिले बिर्तामोडचोकमा थांका टाँग्नुका साथै मुक्तिचोकमा रहेको जनआन्दोलन स्तम्भ सिँगारेर सबैको प्रतियोगितातर्फ ध्यान केन्द्रित गरेको थियोे । त्यही शृंखलालाई निरन्तरता दिने क्रममा आयोजक समितिले रंगशाला सरसफाइ गरेको अथ्र्याएको छ ।
सरसफाइका क्रममा संकलन भएका सड्ने र नसड्ने फोहोरको व्यवस्थापन निराकार सरसफाइ प्रालिले गरेको छ । निराकार बिर्तामोड सरसफाइ गर्ने ठेकेदार संस्था हो । प्रतियोगिता अवधिभर आचार्य नेतृत्वको मेची–महाकाली अभियानले सरसफाइको जिम्मा लिएको थियोे ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच