बडघरले गरेका निर्णयको कार्यान्वयन गर्न बडघर समुदायको माग

हिमालय टाइम्स
Read Time = 4 mins

बर्दिया । स्थानीय सरकारले गाउँमा कामकाजका बडघर(मुखिया) प्रणालीलाई मान्यता दिए पनि अन्य सरकारी निकायले उपेक्षा गर्दा गाउँका साना मुद्दाहरूको समाधान हुन नसकेको बडघर समुदायले गुनासो गरेका छन् । गाउँका साना समस्याहरू पनि ठूला बन्ने र समयमा समस्याको समाधान हुन नसक्दा यतिबेला वर्षौंदेखि चल्दै आएको बडघर समुदायहरू चिन्तित भएका हुन् । उनीहरूले स्थानीय सरकारले गाउँमा कामकाजका बडघर (मुखिया) प्रणालीलाई मान्यता दिए पनि अन्य सरकारी निकायहरूले त्यसको पालना नगर्दा बर्घर ऐन बनाएको अर्थ नभएको अनुभूति भएको बर्घर समुदायका अगुवा बताउँछन् । बर्दिया जिल्लाको बारबर्दिया नगरपालिकाले बर्घर ऐन बनाएर कार्यान्वयनमा ल्याएर काम काज सुरु गरेको छ । स्थानीय सरकारले बर्घर प्रथालाई मन्यता दिए पनि केन्द्र सरकारले मन्यता दिएको छैन ।

सरकारी निकायहरूले नै स्थानीय तहले बनाएको नियमको पालना नगर्दा कतिपय साना समस्यासमेत ठूला बन्ने गरेको बारबर्दिया नगरपालिका, बर्दियाका बडघर सञ्जालका सचिव लक्ष्मीप्रसाद थारू बताउनुहुन्छ । उहाँले प्रतिनिधि र प्रदेशसभाका प्रतिनिधिहरूले बर्घर ऐनलाई केन्द्रदेखि संविधानमा लागू गराउनसके कामकाजमा सहज हुने बताउनुभयो । बडघर प्रथालाई गाउँका मानिसहरूले सबैभन्दा सजिलो उपायको रूपमा लिने गरे पनि केन्द्रदेखि कार्यन्वयन नभएको कारणले बर्घरहरूले कतिपय निर्णय लिन अलमलमा परेकोसमेत सचिव थारूले बताउनुभयो । बडघर सञ्जल विस्तार गर्नका लागि कैलालीदेखि दाङसम्म संगठन बनाएर केन्द्रबाट नै नियम लागू गराउन प्रतिनिधि र प्रदेशसभामा विजयी उम्मेदवारहरूलाई दबाब दिने बताउनुभयो ।

त्यस्तै, बढैया ताल गाँउपालिका, बर्दियाका बडघर सञ्जालका संयोजक परशुराम थारूले बडघर प्रथालाई संरक्षण र संवद्र्धन गर्न केन्द्रबाट निर्णयको कार्यान्वयन गर्नुपर्ने व्यवस्था मिलाउनुपर्ने बताउनुभयो । उहाँले सरकारले संविधानमै लागू गरे बडघरहरूलाई कुनै पनि निर्णय गर्दा सहज हुने संयोजक थारूले बताउनुभयो । बर्घर प्रथा गाउँघरमा नितान्त अवश्यक रहेकोसमेत संयोजक थारूको भनाइ थियो ।
त्यसैगरी, बडघर सञ्जाल, बाँसगढी नगरपालिका बर्दियाका संयोजक हरिप्रसाद थारूले गाउँ, समुदायका कामहरूलाई छिटो र सहज तरिकाले सम्पादन गर्नका लािग बर्घर प्रथालाई केन्द्रबाट नै कार्यन्वयनमा ल्याउन जरुरी रहेको बताउनुभयो । उहाँले स्थानीय सरकारले बडघरको मान्यता दिए पनि अन्य सरकारी निकायहरूले भने बर्घरले गरेका निर्णयको उपेक्षा गरेको बताउनुभयो ।

थारू सामुदायमा बडघर प्रथा पुस्तौँदेखि चल्दै आएको छ । थारू समुदायका मानिसहरूले गाउँमा कुनै किसिमको विवाद वा झगडा भए पहिला बर्घरको राय लिने र आवश्यक परेपछि मात्र प्रशासनको सहायता लिने गर्दछन् । तर, कतिपय मुद्दालाई बडघरले गरेको निर्णयलाई प्रशासनले मन्यता नदिँदा बडघर समुदाय चिन्तित छ । जसकारण ससानो कुरामा समेत साधारण मानिसहरूले दुःख पाउने गरेको उनीहरूको गुनासो छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?