मोहम्मद दर्जीको हत्या अनुसन्धान गर्न विशेष समिति गठन

काठमाडौं । गोठाटार गोलीकाण्डको सम्बन्धमा अनुसन्धान गर्न विशेष समिति गठन भएको छ। गार्मेन्ट व्यवसायी ५५ वर्षीय लाल मोहम्मद भन्ने मोहम्मद दर्जीको हत्या घटना रहस्यमय देखिएपछि विस्तृत अनुसन्धानका लागि विशेष समिति गठन गरिएको हो।

काठमाडौं उपत्यका प्रहरी कार्यालयले उपत्यका प्रहरी अपराध अनुसन्धान महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक जनक भट्टराईको संयोजकत्वमा पाँच सदस्यीय विशेष अनुसन्धान समिति गठन गरेको हो।

सर्लाही हरिवन–२ स्थायी घर भई हाल कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटारमा गार्मेन्ट व्यवसाय सञ्चालन गर्दै आउनु भएका मोहम्मदमाथि सोमबार साँझ अज्ञात समूहबाट गोली प्रहार हुँदा उहाँको उपचारका क्रममा मृत्यु भएको हो।

आफू सवार गाडी पार्किङ गरी निस्कँदै गर्दा उहाँमाथि चार वटा गोली प्रहार भएको थियो। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका अनुसार, दर्जीको टाउको, छाती र कम्मरमा गोली लागेको थियो।

टाउको र छातीमा लागेको गोलीका कारण अत्यधिक रगत बगेको हुँदा उहाँको उपचारकै क्रममा मृत्यु भएको थियो ।

उपत्यका प्रहरी कार्यालय प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक रविन्द्र धानुकले घटना रहस्यमय देखिएकाले विस्तृत अनुसन्धानका लागि उच्चस्तरीय अनुसन्धान समिति गठन गरिएको बताउनुभयो।

विवादास्पद छविसँगै विगतमा पनि हत्या घटनामा केही वर्ष जेल सजाय भुक्तान गरेर रिहा भएका मोहम्मदले आर्थिक लेनदेनको विवादमा आफूलाई केही व्यक्तिले ज्यान मार्ने धम्की दिएको भन्दै प्रहरी वृत्त बौद्ध र सो अन्तर्गतको एक प्रहरी कार्यालयमा शान्ति सुरक्षाका लागि निवेदन दिएको बताइएको छ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?