
काठमाडौं । माओवादी केन्द्रका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने क्रममा बुधबार प्रतिनिधिसभा बैठकमा सत्तापक्षकै राजनीतिक दलका नेताबीच घोचपेच, छेडखानी र व्यंग्यवाण चलेको छ । सत्तापक्ष र प्रतिपक्षबीच त आरोप-प्रत्यारोप नै चल्यो । संसद्मा सत्तापक्ष र प्रतिपक्षबीच घोचपेच र छेडखानी चल्नु स्वाभाविक भए पनि सत्तापक्षकै नेताहरू बीचको आशंका मिश्रित अभिव्यक्तिले भने विभिन्न आशंका उब्जिएको छ । प्रतिनिधि सभाको बुधबारको बैठकमा सुरुवाती समयमै प्रधानमन्त्री प्रचण्डले विश्वासको मत माग्दै आफ्ना धारणा राख्नुभयो ।
लगत्तै सत्तारूढ दलको प्रमुख घटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धारणा राख्नुभयो । ओलीले फेरिएको सत्ता समीकरणमा प्रमुख दलका नेताहरूबीच प्रधानमन्त्रीको कार्यकाल बाँडफाँटबारे सञ्चारमाध्यममा आएका समाचारहरूको खण्डन मात्रै गर्नुभएन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवातर्फ हेर्दै आफूले कांग्रेससँग विगतमा धेरैपटक सहकार्यका लागि संवाद गरौँ भन्दा बेवास्ता गरेको टिप्पणीसमेत गर्नुभयो । आफ्नो प्रयासप्रति कांग्रेसले बोली नै नचल्नेजस्तो व्यवहार गरेको दुःखेसोसमेत ओलीले गर्नुभयो । अहिलेको संसद्मा कसैको पनि बहुमत नरहेको तर्फ संकेत गर्दै ओलीले कांग्रेस सभापति शेरबहादुर देउवासँग अझै पनि आफू कुरा गर्न तयार रहेको स्पष्ट पार्नुभयो । ओलीले देउवालाई गरेको प्रस्ताव प्रधानमन्त्री प्रचण्ड आसनमा बसेर सुनिरहनु भएको थियो ।
संसद्मा प्रधानमन्त्रीको प्रस्तावमाथि सबै दल र स्वतन्त्र सांसदहरूले धारणा राखेपछि उठेका प्रश्नको जवाफ दिनुभएका प्रधानमन्त्रीले एमालेसँग सहकार्य गर्न कांग्रेसलाई चुनौती दिनुभयो । उहाँले कांग्रेसलाई मात्र नभई एमालेलाई समेत अप्रत्यक्ष रूपमा चुनौती दिँदै कांग्रेस र एमाले मिले पनि आफू नडराउने धम्कीपूर्ण भाषासमेत प्रयोग गर्नुभयो । एमाले अध्यक्ष ओलीप्रति आशंका व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले माओवादी केन्द्र, प्रचण्ड या प्रधानमन्त्री दबाबमा पर्छ भन्ने भ्रम नराख्नसमेत चेतावनी दिनुभयो । बैठकमा बोल्ने क्रममा सत्तारूढ दल एकीकृत समाजवादी पार्टीका उपाध्यक्षसमेत रहनुभएका सांसद राजेन्द्र पाण्डेले आफूहरूलाई थाहै नदिई गठबन्धन बदलेको प्रति आक्रोश मात्र पोख्नुभएन प्रधानमन्त्री प्रचण्डलाई योभन्दा अनैतिक के हुन्छ ? भन्दै प्रश्नसमेत गर्नुभयो ।
एमालेसँग सहकार्य गर्न कांग्रेसलाई प्रधानमन्त्रीको चुनौती
प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई एमालेसँग मिल्न चुनौती दिनुभएको छ । ठूला दलहरू मिले ‘तेरो हालत के हुन्छ ?’ भनेर आफूलाई दबाबमा राख्न खोजेको टिप्पणी गर्दै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘ठूला दलहरू हामी मिल्यौँ भने तेरो हालत के हुन्छ ? यसो भनेर पहिला पनि भनियो, आज पनि भनियो । मेरो त कामना छ, तपाईंहरू मिल्नुस् । तपाईंहरू सबै मिल्नुभयो भने माओवादी केन्द्र प्रमुख प्रतिपक्षमा बसेर देश र जनताको पक्षमा संविधानको पक्षमा, राष्ट्रियता सुदृढीकरणको पक्षमा लडिरहनेछ । हिजो त तपाईंहरू सबै मिलेर टाउको काट्न खोजेकै हो नि त । ठूला दल मिल्दा म डराउँदैन ।’
एमाले अध्यक्ष केपी शर्मा ओलीले संवाद गरौँ भनेर कांग्रेस सभापति शेरबहादुर देउवालाई राखेको प्रस्ताव स्मरण गर्दै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘यहाँ पूर्वप्रधानमन्त्री केपी ओलीजीले बोल्दै गर्दा बोली नचल्ने भाषा एउटा मर्मका साथ प्रयोग गर्नुभयो । उतापट्टि माननीय पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अब बोल्ने हो भन्नुभो । बोल्नुस्, म भन्छु, बोली फुकाउनुस् । बनाउनुस् सहकार्य । माओवादी केन्द्र, प्रचण्ड वा प्रधानमन्त्री त्यसबाट दबाबमा पर्छ भन्ने भ्रम नराख्नुस् ।’ आफूलाई फाइदा हुन्छ, राजनीतिक रूपमा हित हुन्छ भने मिल्न र त्यस्तो हुँदैन भन्ने लागेमा गठबन्धन छोड्न हरेक दल स्वतन्त्र रहेको उहाँको भनाइ छ ।
‘कांग्रेस विश्वासघाती’
प्रधानमन्त्री प्रचण्डले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफूमाथि निजी आक्षेप लगाएको भन्दै प्रतिवाद गर्नुभएको छ । आफूले नभई कांग्रेसले पटक–पटक विश्वासघात गरेको आरोप लगाउँदै प्रचण्डले भन्नुभयो, ‘जुन गठबन्धनमा सामेल भएर मेरो नेतृत्वको पार्टीले नेपाली कांग्रेसलाई सबैभन्दा ठूलो दल बनाउन मद्दत ग¥यो, त्यही दलसँग भएको सहमति तोड्ने खुलेआम धोका र विश्वासघातको परिणाम नेकपा एमाले लगायतका दलहरूको समर्थनमा प्रधानमन्त्री बनेको थिएँ ।’ सरकार पुनर्गठन र मन्त्रालय हेरफेर गर्न चाहे पनि गठबन्धनमा सहमति नभएपछि आफूले गठबन्धन नै परिवर्तन गरेको उहाँको जिकिर छ ।
कांग्रेसलाई ओलीको प्रश्न : ‘पोहोर अस्थिरता नहुने अहिले कसरी हुन्छ ?’
नेकपा एमाले अध्यक्ष ओलीले कांग्रेसलाई सरकार परिवर्तनमा आफ्नो भूमिका हेर्न अनुरोध गर्नुभएको छ । आफूले दुई महिनामा सरकार ढाल्दा अस्थिरता नहुने अहिले १४ महिनामा सरकार ढाल्दा कसरी अस्थिरता भयो ? भन्ने प्रश्न गर्दै अध्यक्ष ओलीले भन्नुभयो, ‘सरकार परिवर्तन भएको छ, यो स्वाभाविक छ । बहुमत कसैसँग छैन, अस्थिरताको खेती यहाँहरूले गर्नुभएको हो । पोहोर दुई महिनामा सरकार परिवर्तन गर्दा अस्थिरता लागेन, अहिले एक वर्ष १४ महिनापछि सरकार परिवर्तन गर्दा के को अस्थिरता भयो ? पोहोर अस्थिरता भएको थिएन त ? पोहोर साल दुई महिना पनि नपुगीकन शान्त, स्थिर भईकन सरकार परिवर्तन गरेको होइन ?’
‘प्रधानमन्त्रीमा भागबण्डा नभएको दाबी’
एमाले अध्यक्ष ओलीले नयाँ समीकरण बनाउँदा सरकारको नेतृत्वबारे भागबण्डा नभएको दाबी गर्नुभएको छ । बुधबार प्रतिनिधि सभामा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत माग्न गरेको प्रस्तावमाथिको छलफलमा अध्यक्ष ओलीले नयाँ समीकरण छायाँमा पार्न प्रधानमन्त्रीमा आलोपालोको हल्ला चलाइएको टिप्पणी गर्दै भन्नुभयो, ‘पत्रपत्रिकामा १३÷१३ महिना अनुचित सम्प्रेषण भयो । यसमा मेरो पनि नाम जोडिएको छ । त्यस्तो भागबण्डा भएको छैन ।’
प्रधानमन्त्रीलाई विश्वप्रकाशको प्रश्न : ‘गोरखाका जनतालाई के जवाफ दिनुहुन्छ ?’
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गठबन्धन गरेर चुनाव जितेका प्रधानमन्त्री प्रचण्डले आफ्नो निर्वाचन क्षेत्रका मतदातालाई के जवाफ दिन्छन् ? भनी प्रश्न गर्नुभएको छ । कांग्रेसले द्वन्द्वको पीडा बिर्सेर माओवादीलाई भोट दिन कार्यकर्तालाई निर्देशन दिएको र त्यही भोटका आधारमा प्रचण्ड र धेरै माओवादी नेताले चुनाव जितेको स्पष्ट पार्दै महामन्त्री शर्माले भन्नुभयो, ‘अहिले निर्वाचन क्षेत्रमा गएर के जवाफ दिने ? उथलपुथल भएको भनेर जवाफ दिने ? मसँग त अहिले दिने जवाफ छैन, गोरखाका साथीहरूलाई यहाँले दिने जवाफ छ ?’ महामन्त्री शर्माले अनुसन्धानमा तानिएका व्यक्तिलाई कसरी मन्त्री बनाउन मिल्छ ? भन्ने प्रश्न गर्दै भन्नुभयो, ‘प्रधानमन्त्री आफैँले अनुसन्धानमा तानिएका र प्रमाणित हुन बाँकीलाई मन्त्री नबनाउने बताउनुभएको थियो । तर, तपाईंले के गर्नुभयो ? प्रमाणित हुन बाँकीलाई मन्त्री बनाउन पाइन्छ ?’ सहकारी ठगीमा अनुसन्धानको प्रक्रिया चल्दै गर्दा विवादितलाई मन्त्री बनाएपछि राज्यका प्रतिनिधि पोखराबाट फर्कनुपरेको शर्माको भनाइ छ ।
नेकपा एसमा उपाध्यक्षको प्रधानमन्त्रीलाई प्रश्न : ‘योभन्दा अनैतिकता के हुन्छ ?’
सत्तारूढ एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले प्रधानमन्त्री प्रचण्डको चर्को आलोचना गर्नुभएको छ । उहाँले नयाँ गठबन्धन गर्दा एकीकृत समाजवादीलाई छाड्नु अनैतिक भएको टिप्पणी गर्दै भन्नुभयो, ‘हामीलाई बाटोमा छाडेर हिँड्नुभयो । योभन्दा अनैतिकता के हुन्छ ? एकचोटि प्रधानमन्त्रीजीले सोच्नुस्, अघि कुरा आएको जस्तो ओलीजी र शेरबहादुरजीको घाँटी जोडियो भने तपाईंको हालत के हुन्छ ?’ प्रधानमन्त्री प्रचण्डलाई मानिसहरूले कति छिटो रंग फेर्न सकेको भनेर टिप्पणी गरेको सुनाउँदै उपाध्यक्ष पाण्डेले भन्नुभयो, ‘१७ हजार २ भनेर छातीमा प्लेकार्ड बोकेर हिँड्ने मान्छे पनि यहीँ छौँ । पाँच हजारको जिम्मा लिन्छु भन्ने पनि यहीँ छौँ । यो सबै गठजोड कसरी अगाडि बढ्छ हेर्न बाँकी छ ।’
सुन चोर र सहकारी चोरलाई विश्वासको मत दिन सकिन्न : केसी
राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले अहिलेको संसदीय व्यवस्थामा जसरी पनि चुनाव जित्ने र सरकारमा जाने प्रवृत्तिका कारण पार्टीहरू बदनाम भएको बताउनुभएको छ । बुधबार प्रतिनिधिसभा बैठकमा अध्यक्ष केसीले माछा बेच्ने र किन्नेको प्रसंग निकाल्दै दुईवटा नागरिकता र पासपोर्ट भएकालाई गठबन्धनकै बलमा गृहमन्त्री बनाएको होइन ? भन्ने प्रश्न गर्दै भन्नुभयो, ‘राजनीतिलाई कसैले सुन चोर्ने, कसैले सहकारी चोर्ने, कसैले मिटरब्याजी चोर्ने राजनीतिक नेताको समर्थन नभई मिटरब्याजीले त्यो बदमासी गरेका छन् ? त्यस्तालाई विश्वासको मत दिइँदैन ।’
‘प्रधानमन्त्रीज्यू, यो जीवनको अन्तिम गल्ती नहोस्’ : लिङ्देन
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सत्तालाई आफ्नो सुरक्षा कबजका रूपमा प्रयोग गर्ने उद्देश्यले नयाँ गठबन्धन बनेको आरोप लगाउनुभएको छ । अध्यक्ष लिङ्देनले नयाँ गठबन्धन स्वार्थको गठजोड भएको टिप्पणी गर्दै भन्नुभयो, ‘सत्तालाई आफ्नो सुरक्षा कबजका रूपमा प्रयोग गर्ने उद्देश्यद्वारा गठबन्धन बनेको हो । यहाँसम्म तानेर आइपुग्नु भएको छ । म फेरि पनि भन्छु, प्रधानमन्त्रीको जीवनको अन्तिम गल्ती यो नहोस् ।’ अब कसैले पनि रोष्ट्रममा उभिएर सुशासनको गफ दिँदैमा नपत्याउने उहाँको जिकिर छ ।
काम गर्न नसके सरकारबाट आफैँ बाहिरिन्छौँ : वाग्ले
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णीम वाग्लेले काम गर्न नसकेको दिन सरकारबाट बाहिरिने बताउनुभएको छ । बुधबार प्रधानमन्त्री प्रचण्डले राख्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावको समर्थन गर्दै वाग्लेले यसपटक सरकारमा रोजेरै मन्त्रालय लिएको र काम गरेर देखाउने दाबी गर्दै भन्नुभयो, ‘हामी बिगार्न, भत्काउन, तोड्न, उखेल्न आएको होइन, हाम्रो प्रवेश सशर्त छ, हामी काम गर्न आएका हौँ, काम देखाउन आएका हौँ । प्रतिपक्षमा हुँदा सशक्त भूमिकामा थियौँ, प्रश्न ग¥यौँ । अब सरकारबाट डेलिभर गर्न सकिन्छ कि भनेर आएका छौँ । सुशासन र युवाकेन्द्रित मन्त्रालयहरू रोजेरै लिएका छौँ, गर्न नसकेका दिन आफैँ बाहिरिन्छौँ, हामीलाई गलहत्याउन पर्दैन ।’
प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीमा जानुपर्छ : राउत
जनमत पार्टीका अध्यक्ष सिके राउतले प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीमा जानुपर्ने बताउनुभएको छ । जनताले दिएको विश्वासको मतलाई बचाउन नसकेको टिप्पणी गर्दै अध्यक्ष राउतले भन्नुभयो, ‘जनताले हामीलाई दिएको विश्वासको मतलाई हामीले बचाउन सकेनौँ । कहिले यता, कहिले उता हाल्नुपरेको छ । विश्वासको मत प्रत्यक्ष रूपमा जनताको हातमा सुम्पौँ । र जनताले नै प्रत्यक्ष रूपमा निर्वाचित प्रधानमन्त्री ल्याउने व्यवस्था गरौँ ।’ अध्यक्ष राउतले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति लक्षित गर्दै मधेसीहरूलाई राज्यले हत्या गर्दा नबोलेको भन्दै आपत्ति जनाउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच