नेपालमा नेताहरूको जीवन अति सुखद्, सरल र सहज मानिन्छ । आम सर्वसाधारणले नेताहरूकै जस्तो जीवन पाए भन्ने कल्पना गरेका हुन्छन् । नेताहरूले पाएको मानसम्मान, उनीहरूलाई जनताले गर्ने सत्कार, उनीहरूको स्वागतमा उभिएकाहरूको लाम देखेर सबै लोभिने गर्दछन् । अरू सबै पेशा र व्यवसायका मान्छेहरूलाई आफ्नो र परिवारको ठूलो चिन्ता हुने गर्दछ तर कुनै पनि चिन्ता नभएको सबै दुःखबाट मुक्त प्राणी नेता नै हो भन्ने ठानिन्छ । जीवनभर हाँसेर बिताउन पाउने भनेको नेताले नै हो भन्ने सोचाइ आमनागरिकमा विकसित भएको पाइन्छ तर उनीहरूको वास्तविकतातर्फ कसैले ध्यान दिएको देखिँदैन ।
मञ्चमा बसेर भाषण ठोकेको मात्रै जनताले देखेका छन् । सय किलाको माला उनेर विवेकहीन पछुवाहरूले लगाइदिएको मात्रै सर्वसाधारणका दृष्टिमा पर्दछन् । जुन जिल्ला वा गाउँ पुगे पनि नेताले एक पैसा खर्च नगरी जनताले नै गाँस र बासको व्यवस्था गरेको आमसर्वसाधारणका जानकारीमा रहने गरेको छ । जिल्लाबाट राजधानी फर्कँदा सरकारी निकाय वा कुनै व्यापारीले गाडीमा तेल हालिदिएको मात्रै आमनागरिकको जानकारीमा आउने गर्दछ तर नेताका भित्री अप्ठ्याराहरू कति छन् र कस्ता छन् भन्नेमा कसैले हेक्का राख्दैनन् । धोकेबाज, भ्रष्टाचारी, निकम्मा भनेर आजसम्म उछितो काढेको मान्छेलाई भोलिपल्टदेखि अँगालो हालेर विश्वकै सबैभन्दा राम्रो मान्छे भनेर उसैको प्रशंसा गर्न नेताबाहेक अरू कसैले सक्ला जस्तो लाग्दैन ।
सुन तस्करी कसरी गर्ने सिकाउनु पर्दछ नेताले । बिचौलिया बन्न सिकाउनु पर्दछ नेताले । राज्यको सम्पत्ति कसरी हत्याउने पाठ पढाउनु पर्दछ सन्ततिलाई नेताले ? यी सबै काम कसरी गोप्य तरिकाले गर्ने र प्रहरी, गुप्तचर र मिडियाबाट कसरी बच्ने भन्ने सिकाउनु पर्दछ नेताले ।
नेता राष्ट्रपति, उपराष्ट्रपति भएकोमा मात्रै ध्यान केन्द्रित हुन्छ । नेता प्रधानमन्त्री, मन्त्री बनेर राज्यले दिएका सुविधामा मात्रै नजर पुग्दछ । सांसद्हरूले हाजिर गरेर टाप कस्दै भत्ता पचाउन पाएको अवसरलाई मात्रै जनताले मोजमस्ती ठान्दछन् । ठूला नेताहरूले श्रीमती, छोराछोरी, भाइभतिजा आदिलाई सांसद्, मन्त्री बनाएको वा कुनै नियुक्ति दिएको कुरालाई हेरेर म पनि नेता हुन पाए भन्ने अभिलाषा सर्वसाधारणको हुन्छ तर जनताबाट आएका आरोपहरूलाई वास्तै नगरी नातावाद र कृपावादमा होमिन कत्तिको कठिन हुन्छ भन्ने सोच्दै सोच्दैनन् । माछा देखे दुलोभित्र आफ्नो हात र सर्प देखे सोझासाझाको हात हालिदिन सक्ने नेता नै हुन् ।
जनताले त आफ्ना छोराछोरीलाई अश्वत्थामाको जस्तो आयु होस्, दशरथको जस्तो श्री होस्, रामचन्द्रको जस्तो शत्रुनाश गर्ने शक्ति होस्, नहुषको जस्तो ऐश्वर्य, हावाको जस्तो गति होस् आदि आदि आशीर्वाद दिन्छन् । छोराछोरीलाई पढ्न-लेख्न, उन्नति प्रगति गर्न र समुज्वल भविष्यका लागि सघाउने गर्दछन् । नेताहरूले पनि छोराछोरीलाई सघाउँछन्, नेताले पनि दिने आशीर्वाद त्यही नै हो तर ती शक्तिहरू प्राप्त गर्न अपनाउने मार्ग, साधन बेग्लै हुन्छन् र ती अति कष्टकर हुन्छन् भन्ने बारेमा सोच्दै सोच्दैनन् । परिवार नै जेल जान पर्ने भए पनि छोराछोरीलाई सघाउने र त्यस्तै बाटो देखाउने काम गर्न अरु कसैले सक्छ र ?
सुन तस्करी कसरी गर्ने सिकाउनु पर्दछ नेताले । बिचौलिया बन्न सिकाउनु पर्दछ नेताले । राज्यको सम्पत्ति कसरी हत्याउने पाठ पढाउनु पर्दछ सन्ततिलाई नेताले ? यी सबै काम कसरी गोप्य तरिकाले गर्ने र प्रहरी, गुप्तचर र मिडियाबाट कसरी बच्ने भन्ने सिकाउनु पर्दछ नेताले । जनताका अगाडि कसरी आँसु झार्ने र तिनै जनतालाई थाहा नपाउने गरी कसरी लात्ताले पछार्ने सिकाउनु पर्दछ नेताले । यस्ता कुराहरूमा सफल भएस् भनेर आशीर्वाद दिनुपर्दछ नेताले । यस्ता कुराहरू गर्न मुटुमाथि कति किलोको ढुंगा राख्नुपर्दछ भन्ने सर्वसाधारणलाई के थाहा ?
सबै तालमेल मिल्दासम्म ठीकै हुन्छ । समृद्धिका पछि नेता होइन कि नेताका पछि समृद्धि दौडेको अनुभूति हुने गर्दछ । आलुको बोराबाट एउटा आलु निकालेर हेर्दा राम्रो देखियो भने सबै राम्रो छ भने झैँ नेता एकजनाको उन्नति भएपछि देशकै उन्नति भएको, सम्पूर्ण जनताको प्रगति भएको भाष्य तयार गरिन्छ । छुसुक्क केही बिग्रिँदा हुने गरेका परिणति कति दुःखदायी छन् तिनको सीमा नै छैन । बाबुछोरा एउटै जेलको एउटै कोठामा बस्नुपर्दाको पीडाका बारेमा कसैले वास्ता गर्दैनन् । जेल जाने बेलामा पनि ठूलै उपति गरेको भान दिन हात हल्लाउँदै हाँसेर प्रहरीको गाडी चढ्न कति सकस भन्ने कुराको ख्याल कसैले गर्दैन ।
बाउ ठूलै पदमा भए पनि छोरा लुकेर भाग्न परेका कुरामा मतलब गर्दैनन् । श्रीमान् जेल जाँदा पनि श्रीमती फुइँ लाउँदै संसद् प्रवेश गर्न कति हिम्मत चाहिन्छ कसैलाई थाहा छ ? विश्व परिवेशले गर्दा अख्तियार, सम्पत्ति शुद्धीकरण जस्ता निकाय स्थापना गरेर आफ्नै हात हत्कडीका अगाडि बढाउँदा हुने पीडाका बारेमा के जनता विज्ञ छन् ? अन्तर्राष्ट्रिय मञ्चहरूमा गएर सुशासनका विभिन्न सूचकहरूमा हस्ताक्षर गरेर स्वदेश फर्किएपछि हस्ताक्षरित तिनै सूचकहरूको खिल्ली उडाउन सर्वसाधारणले निश्चय नै सक्दैनन् । नेता हुन त्यति सहज छैन, बरू निकै सकस देखिन्छ ।
चार-पाँचजना सहयोगी लिएर बिहानको लञ्च भव्य रेष्टुरेण्टमा र बेलुकीको डिनर तारे होटलमा गरेको देखेरमात्रै हुँदैन । त्यसको बिल अज्ञात स्थलबाट अज्ञात व्यक्तिले तिरिदिए भन्ने सुनेरमात्रै नेतालाई उडाउनु त्यति स्वाभाविक हुँदैन । नेताका छोराछोरी, नातिनातिना देशकै महँगा स्कुलमा कसरी पढे भन्ने प्रश्न राख्ने गर्नुमात्रै त्यति उपयुक्त हुँदैन । मरेर शहीद हुनेहरू, जिएर त हेर जिउन झन् गाह्रो छ भनेर भूपि शेरचनले भने झैँ सर्वसाधारण नेता भएमात्रै नेताका सकसका बारेमा थाहा पाउँछन् । होइन भने, नेताहरूको जीवनशैलीबाट लोभिई रहन्छन् ।
जनताका हितका काममा सिन्को नभाँची आफू जनताको सेवा गर्न जन्मिएको प्रमाणित गर्न सक्नुपर्दछ नेताले । बगलीमा छुरा भए पनि मुखले राम राम नै भन्ने मात्रै होइन कि आफू रत्नाकर होइन, वाल्मीकि नै हूँ भन्ने प्रदर्शन गर्नै पर्दछ ।
बिहानै उठेदेखि विभिन्न थरिका मान्छेहरू भेट्ने, गफ गरेर दिन कटाउने गरेको देख्दा सामान्य मानिस लोभिनु सामान्य नै हो । घरबाट बाहिर निस्कँदा उनीहरूले चढेका गाडी, जहाँ पुग्यो त्यहीँ भीडले घेरेको देखेर आफू पनि नेता हुन पाए भन्ने रहर पलाउनु पनि कुनै नौलो कुरा होइन । कार्यक्रममा पुग्यो मञ्चमा, भेलामा गयो अग्रासनमा, अरूहरूले प्रश्न राख्ने र सर्वथोकको ज्ञाता भए झैँ नेताहरूले उत्तर दिएको भोगेकाहरूले नेताहरूको जीवन विलासी देख्नु सामान्य नै हो । जनताले हजुर हजुर भन्दै सम्बोधन गर्ने र जनतालाई नेताले अबुझ, अज्ञानीका रूपमा पाठ पढाउने गरेको हुनाले पनि नेता बन्ने रहर पलाएको हुन सक्दछ तर नेताहरूका आआफ्नै पीडा भएको र तिनलाई लुकाउन नेताहरूलाई परेको अप्ठेरोमा भने कसैले ध्यान दिने गरेका छैनन् ।
एकाबिहानैदेखि सयौं मान्छे घरमा थुप्रिन्छन् । तिनलाई चिया नखुवाए लोभी भन्छन्, चिया ख्वाउँ भने नेताको कुनै उद्योग, व्यापार वा पेशा छैन । बिना कमाइ दिनको सय कप चिया ख्वाउनमात्रै कम्तीमा दुई हजार लाग्छ । त्यसको अलावा नेताका श्रीमती, छोरछोरी आदि परिवार हुन्छन् र तिनको पालनपोषणको व्यवस्था पनि गर्नैपर्दछ । यी कुराहरूको व्यवस्थापन गर्न कुनै न कुनै तस्कर वा बिचौलिया वा व्यापारीसँग संगत गर्नै प¥यो । व्यापारीहरूलाई प्राथमिकता दियो, नेतालाई फलानोसँग बिक्यो भनेर आरोप लाग्छ । यस्ता आरोपबाट बँचेर इज्जत जोगाउन कम्ती सकस छैन तर जनता नेताको जीवन सहज देख्दछन् ।
आजभोलि सामान्य कर्मचारीहरू पनि गाडी चढेर हिँड्छन् । कमाइका हिसाबले सबैभन्दा बबुरो मानिएका प्राध्यापक, शिक्षकहरू समेत गाडी या मोटर साइकलमा हुइँकिने भइसके भने नेता पैदल हिँड्न सुहाउने कुरै भएन । श्रोता बनेर सुन्न आउनेहरूका भन्दा नेताका गाडी ठूला र महँगा हुनै प¥यो । यसका लागि व्यापारीमैत्री नियम कानुनको तर्जुमा गरिदिनै पर्दछ । व्यापारी र जनता दुवैका लागि हितकर हुने कानुन एकैपटक कसरी सम्भव हुन्छ र ? र पनि हामी जनताकै पक्षमा छौं भनेर गुड्डी हाँक्न सामान्य मान्छेले कसरी सक्छ र ? सत्य कुरा मनमै राखेर बोल्न कति गाह्रो हुन्छ भन्ने सर्वसाधारणले बुझ्न सकेकै छैनन् ।
गरिबमारा कानुन बनाएर गरिबकै अगाडि गएर रुन कसले सक्छ ? सिनेमामा खेल्ने कलाकारहरूले त आँखामा विभिन्न रसायन दलेर रोएको अभिनय गर्ने अवसर पाउँछन् तर नेताले त जनताका बीचमा गएर साँच्चिकै रोएको अभिनय गर्नुपर्ने बाध्यता छ । जनताका हितका काममा सिन्को नभाँची आफू जनताको सेवा गर्न नै जन्मिएको प्रमाणित गर्न सक्नुपर्दछ नेताले । बगलीमा छुरा भए पनि मुखले राम ! राम !! नै भन्ने मात्रै होइन कि आफू रत्नाकर होइन, वाल्मीकि नै हूँ भन्ने प्रदर्शन गर्नै पर्दछ । यसका निमित्त नेतालाई कति कष्ट हुन्छ भन्ने जनताले भेउ पाउनै सकेका छैनन् ।
सबै नेता यस्तै छैनन् । सबै नेताहरूलाई यस्ता कष्ट परेका पनि छैनन् । जति नेताहरूलाई यस्ता सकस परेका छैनन्, तिनीहरू निर्णायक तहमा पुग्न सकेकै छैनन् । नेपालको विडम्बना नै यही भएको छ । जुनदिन नेताहरूले यस्ता सकसबाट मुक्ति पाउँछन्, जहिलेदेखि नेपालका सत्ता यस्ता पीडामुक्त नेताका हातमा जान्छ, त्यहिलेदेखि जनता र देशले पनि प्रगतिको बाटो पाउनेछ । सबै नेता यस्तै छन् भन्ने पनि होइन, मुलुकमा बचेखुचेका केही सच्चा नेताहरू पनि छन् । तिनको हातमा कहिले सत्ता जाला त यसै भन्न सकिन्न र जनताले सत्तामा पु¥याउन सहयोग गरेको पनि देखिएको छैन । त्यसैले आराध्यदेव पशुपतिनाथसँग नेताहरूलाई कष्टबाट मुक्ति दिलाई दिन सबै जनताले प्रार्थना गर्नु नै एकमात्र उत्तम विकल्प हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच