पितृ र हाम्रो समयान्तर तथा आवागमन प्रक्रिया

प्रा. डा. कुलप्रसाद कोइराला
Read Time = 21 mins

औंसी पनि श्राद्धीय तिथि मानिएको छ । यसको कारण के हो भने औंसी भनेको पितृको मध्यहृनकाल समयको भोजन बेला हो । यसैले भोजनका बेला भोजन पु¥याउनु पुत्रको कर्तव्य हो । हाम्रो एक महिना पितृलोकमा एक अहोरात्र हुन्छ । जुन बेलासम्म सूर्यको दर्शन हुन्छ त्यो बेलासम्म दिन हुन्छ । त्यस्तै जब सूर्यको दर्शन हुन छाड्छ अनि रात मानिन्छ । मान्छेको दिनरातको आधार नै यही हो । चन्द्रमण्डलका माथिल्ला ( हाम्रा आँखाले देख्न नसक्ने विपरीत) भागमा बस्ने पितृले हाम्रो १५ दिनसम्म सूर्यदर्शन गरि नै रहन्छन् र १५ दिन सूर्य दर्शन हुँदैन । सूर्यको गति मान्नेहरू सूर्यको बक्रताका कारण यस्तो भएको भनेर बताउँछन् । उनीहरूका अनुसार अद्र्धाकाश नै दृश्याकाश मानिन्छ ।

त्यस भागमा जबसम्म सूर्य र चन्द्रमा दुवै रहन्छन् तबसम्म चन्द्रमण्डलस्थित प्राणीले सूर्यलाई देख्न सक्छन् । अर्को गोलाद्र्धमा गएपछि बांगो हुने या छेकिने भएका कारणबाट सूर्यलाई देख्न सक्दैनन् । कृष्णपक्षको अष्टमी तिथिदेखि शुक्लपक्षको अष्टमी तिथिसम्म चन्द्रमण्डलवासीले सूर्य दर्शन गर्न सक्छन् । भनिएका समयसम्म सूर्य र चन्द्रमा एकै गोलाद्र्धमा बस्छन् । शुक्ल पक्षको अष्टमीदेखि कृष्ण पक्षको अष्टमीसम्म भिन्नाभिन्नै गोलाद्र्धमा हुने हनाले चन्द्रमण्डलवासी प्राणीले सूर्य दर्शन पाउँदैनन् ।

अतः तिनका लागि यो रातको समय हो । अन्टार्कटिकामा ६ महिना दिन र ६ महिना रात भएजस्तै । औंसीका दिन सूर्य र चन्द्रमा एकसाथ उदाउँछन् । बिहानै सूर्योदयभन्दा पहिलेदेखि नांगा आँखाले हेरे पनि यो बुझ्न सकिन्छ । औंसीका दिन चन्द्रमाका मस्तकमा सूर्य रहेका हुन्छन् । यसो भएको हुनाले चन्द्रमण्डलको उपल्लो भागमा बस्नेका लागि यो मध्याहृन बेला हुन्छ र चन्द्रमाको हाम्रातिरको भाग देख्न सक्दैनौँ ।

सूक्ष्मजगत् परिचालक देवताहरूको व्यवस्थानुसार हामीले दिएका अन्नजल जुन जुनीमा हाम्रा पितृ पुगेका हुन्छन् त्यसै जुनीका जीवले खाने खाद्यका रूपमा परिणत गराएर उनीहरूलाई उपलब्ध गराउँछन् । यो वेदले बताएको अकाट्य भनेर मान्ने र भावुक कुरो भन्नेहरू पनि भेटिन्छन् ।

पृथ्वी घुम्छ भन्नेहरू यसलाई तलका प्रकारले बताउँछन् । पृथ्वी सूर्यको चारैतिर घुमेर परिक्रमा गर्दछ । जुन बेलासम्म चन्द्रमा सूर्य र भूमिका बीचमा रहेका हुन्छन् तबसम्म त्यहाँ बस्ने मान्छेका निमित्त सूर्य दृश्यमान रहन्छन् र चन्द्रमाका अंशमा सूर्यको प्रकाश पर्ने हुनाले हामी पनि चन्द्रमालाई देख्न सक्छौँ । जब चन्द्रमा घुम्दै सूर्यको विपरीत दिशामा पुग्छ अर्थात् सूर्य र चन्द्रमाका बीचमा पृथ्वी आइपुग्छ अनि चन्द्रमण्डलस्थित प्राणीले सूर्य देख्न सक्दैनन् । औंसीका दिन चन्द्रमा ठीक सूर्यका सामुन्ने रहन्छन् ।

यसैले त्यस दिन पितृको मध्याहृन बेला हो र हाम्रातिरको चन्द्रमाको भागमा सूर्यका किरण नपर्नाले चन्द्र अप्रकाशित हुन्छ र हामी औंसीका दिनरात चन्द्र दर्शन गर्न सक्दैनौँ । जुनसुकै दृष्टिले भए पनि औंसी पितृको मध्याहृन बेला त साबित भयो नै । अन्यान्य श्राद्धका विशेष दिन पनि यसै प्रकारले विचार हिसाब गरेर असौज महिनाका कन्यागत सूर्यका बेला पार्वण श्राद्ध अति नै आवश्यक छ । देवताको एक अहोरात्र हाम्रो एक वर्ष मानिन्छ । देवताको निवास सुमेरु (ध्रुवताराको ठीक तल) मानिएको छ । जुन बेलासम्म सूर्य उत्तरी गोलाद्र्धमा रहन्छन् तबसम्म सूर्यलाई देख्न सकिन्छ ।

जब सूर्य दक्षिणी गोलाद्र्धमा जान्छन् देवटताले सूर्यलाई देख्न सक्दैनन् । किनभने आफू रहेको स्थानबाट पूर्व र पश्चिम नब्बे नब्बे अंशको दृश्य रहेको हुन्छ । सूर्य मेषदेखि तुलाराशिसम्म ६ महिना उत्तरी गोलाद्र्धमा रहन्छन् । तुलादेखि मीनसम्म ६ महिना सूर्य दक्षिणी गोलाद्र्धमा रहन्छन् । यो समय देवताको रात हो भने उत्तरी गोलाद्र्धको समय दिन मानिन्छ । सूर्यलाई तिनले देख्दा दिन र नदेख्दा रात हुन्छ । यसरी देवताको दिन मेषराशिदेखि कन्याराशिको अन्त्यसम्म हुन्छ । मकर सङ्क्रान्ति देवताको दिनोदयको बेला हो ।

यसै दिनको आधारातबाट दिनमान मान्ने चलन छ । यस दिन सूर्य उत्तरतिर ढल्कन्छन् । यसैले यो दिनलाई देवताको बिहान भनिएको हो । यसैगरी पितृको पनि दिन कृष्णपक्षलाई बताइएको पाइन्छ । पितृको वास्तविक दिन आरम्भ चाहिँ कृष्णपक्षीय अष्टमीका दिनबाट हुन्छ । पूर्णिमाका दिन त पितृको आधारातको बेला हुन्छ । जसरी अन्य प्राणीका निमित्त दिन र रातको समय विभाजन शास्त्रमा गरिएको भेटिन्छ त्यसैगरी ब्रहृमाको पनि दिनरातको विभाग व्यवस्था गरिएको पाइन्छ । ब्रहृमाको (स्थिति भूलोक वर्णनमा मैले भनेको छु) जुन लोकका पेटमा सम्पूर्ण ब्रहृमाण्ड अवस्थित छ त्यसलाई सूर्य जहाँ सुकै भए पनि के फरक पर्छ र ? यिनका निमित्त त केही अदृश्य पनि हुन सक्दैन ।

यिनका निमित्त त्यही दिन सूर्य अदृश्य हुन्छ जुन दिन सूर्य नै रहँदैन । यस प्रकारले एक सूर्यको स्थितिकाल नै ब्रहृमाको एक दिन हो । यसअनुसार हाम्रो एकहजार चतुर्युगको चक्र ब्रहृमाको आयु हुन्छ । यसरी हेर्दा सत्य, त्रेता, द्वापर तथा कलियुग यो एक चतुर्युगी त्रिचालीस लाख, बीस हजार मानुष वर्षमा पूरा हुन्छ । यस प्रकारले एक हजार चतुर्युगी सूर्यको आयुको ब्रहृमाको एक दिन हुन्छ भनेर शास्त्रले बताएका छन् । यति नै समयसम्म ब्रहृमाको रात पनि मानिन्छ । फेरि दोस्रो सूर्य जन्मेपछि ब्रहृमाको एक अहोरात्र व्यतीत हुन्छ ।

यस प्रकारका ३६० दिनरात व्यतीत भएपछि ब्रहृमाको एक वर्ष बित्छ र यस्ता १०० वर्ष बितेपछि एक ब्रहृमाको आयु सकिन्छ । यसैलाई पराद्र्ध संख्या मानेको देखिन्छ । यो गणना पौरस्त्य वैदिक गणित र ज्योतिषीय गणितमा आधृत रहेको छ । यसैगरी अन्यान्य देवलोकस्थ जातिमा पनि (मुक्तिलाई छाडेर) श्राद्धको प्रतिफल प्राप्त हुन्छ भन्ने शास्त्रले बताएको देखिन्छ । सूक्ष्मजगत् परिचालक देवताहरूको व्यवस्थानुसार हामीले दिएका अन्नजल जुन जुनीमा हाम्रा पितृ पुगेका हुन्छन् त्यसै जुनीका जीवले खाने खाद्यका रूपमा परिणत गराएर उनीहरूलाई उपलब्ध गराउँछन् । यो वेदले बताएको अकाट्य भनेर मान्ने र भावुक कुरो भन्नेहरू पनि भेटिन्छन् ।

आजका युगको मनिट्रान्सफर संस्थाजस्तै व्यवस्था श्राद्धका सामग्री पुर्‍याउने व्यवस्थामा पनि छ । श्राद्धको मूल सम्बन्ध भनेको पितृसँग नै रहेको हुन्छ । तिनीहरू चन्द्रमण्डलमा रहन्छन् दिव्य पितृका लागि पनि श्रौत यागमा पिण्डादि दिइन्छ । माथिल्ला अनुच्छेदमा मैले गतिको जुन वर्णन गरेँ वेदका मन्त्र भागमा भएको वर्णनलाई उपनिषतले सुन्दर किसिमले वर्णन गरेको भेटिन्छ । यसलाई पञ्चाग्नि विद्या भनिन्छ । जैविलि छेत्रीबाट गौतम गोत्रीय उद्दालक ऋषिले यो विद्या पाएका थिए । छान्दोग्य र बृहदारण्यक उपनिषत्मा यसको आख्यान भेटिन्छ ।

स्वर्गलोकस्थ सूर्यमण्डल हामीलाई उत्पन्न गराउने पिता हुन् । तिनैसँग सम्बद्ध र अन्तरिक्षमा फैलेर रहेका तिनका किरण हाम्रा दाजुभाइ हुन् । यी पृथ्वी चाहिँ हाम्री आमा हुन् । यी दुवैलोकका माझमा हाम्रो स्थान छ ।

त्यही नै पहिले यो विद्या छेत्री (क्षत्रिय) सँग थियो । उपाख्यानको वक्ता भन्छ यसभन्दा पहिले यो विद्या ब्राहृमणसँग जान मानेन । यसैलाई लिएर पश्चिमाले पञ्चाग्नि विद्या या ब्रहृमतत्व विद्याको प्रचलन यस देशमा छेत्रीबाट भएको हो (शर्मा, २०२०, पृ १६०) । भन्ने वृथा कल्पना पनि गरेको संकेत कतिपय विद्वान्ले गरेका छन् । ऋग्वेदको दशौं मण्डलको १७औं सूक्तको तेस्रो मन्त्र :
पूषात्वेतश्चावयतु प्रविद्वाननष्टपशुभुर्वनस्य गोपाः ।
सत्तवैतेभ्यः परिददत्पितृभ्यो अग्निर्देवेभ्यः सुविदत्रियेभ्यः ।।
यस मन्त्रका ऋषि देवश्रवा मानिन्छन् । यसमा मरेका मान्छेलाई उद्देश गरेर भनिएको छ सारा पशु तथा भुवनभरिका रक्षक पूषादेव तिमीलाई यस लोकबाट प्रच्युत गरून् र अग्निदेवले तिमीलाई उपयुक्त ज्ञान दिएर देवता या पितृलोकमा पुर्‍याऊन् । यसरी यसमा देवयान र पितृयान दुवै मार्गको निर्देश गरेको पनि देखिन्छ । यहाँ देव, अग्नि, पूषा र पृथ्वीबाट च्युत गर्ने अनि उपयुक्त ज्ञान सम्पन्न गराएर अग्निले देव या पितृलोक लैजाऊन् भन्नु भनेको त्यही माथि व्याख्या गरेको व्यवस्था हो । ऋग्वेदको दसौं मण्डलको सूक्त ८८ मन्त्र १५ मा पनि देवयान तथा पितृयानका सम्बन्धमा स्पष्ट गरिएको भेटिन्छ ।
द्वे सृती अश्रृणवं पितृृणामहं देवानामुत मत्र्यानाम् ।
ताभ्यामिदं विश्वमेजत्समेति यदन्तरा पितरं मातरं च ।।
अर्थात् मैले मनुष्यका निमित्त दुईवटा बाटा जानेको छु । एउटा देवताहरूको र दोस्रो पितृहरूको । यो सबै विश्वका प्राणी जब यहाँबाट हिँड्छन् तब त्यही बाटो भएर नै हाम्रा मातापिता पृथ्वी र स्वर्गका बीचमा भएर अन्तरिक्षबाट जान्छन् । यस मन्त्रले पिता आकाश र माता पृथ्वीलाई संकेत गरेको देखिन्छ । तल माताको स्थान छ माथि पितृको नेतृत्व छ बीचमा पितृ अन्तरिक्षको बाटो जान्छन् । यसरी नै अथर्व वेदको काण्ड १८, अध्याय १ का मन्त्रमा भनिएको भेटिन्छ ।
प्रेहि प्रेहि पथिभिः पूव्र्येभिर्यत्रा नः पुत्रे पितरः परेयुः ।
उभा राजाना स्वधया मदन्ता यमं पश्यति वरुणं च देवम् ।।
अर्थात् जुन मार्गबाट हाम्रा प्रपिता, पितामहादि र पितामाता गएका थिए त्यसै मार्गबाट तिमी पनि जाऊ । यम तथा राजा वरुणको दर्शन गर । यस मन्त्रबाट पितृलोक गतिको विवरण स्पष्ट हुन्छ । यसरी यी मार्गको वर्णन ध्यानविधिबाट समाधि अवस्थामा प्राप्त ज्ञानको विवरण जस्तो लाग्छ । यसैगरी अथर्व वेदको काण्ड १८ अध्याय एकमा नै अर्को पनि एउटा मन्त्र भेटिन्छ र यो ऋग्वेदको पनि दसौं मण्डलको १४औं सूक्तमा पनि रहेको छ । अर्थात् यो मन्त्र ऋग्वेदबाट अथर्वमा साभार गरिएको हो जस्तो छ ।
संगच्छस्व पितृभिः संयमेनेष्टापूत्र्तेन परमे व्योमन् ।
हित्वायावद्यं पुनरस्तमेहि संगच्छस्व तन्वा सुवर्चाः ।।
अर्थात् हे मृत पुरुष ! या नारी तिमीले सबै पाप पखाल्ने खालका ईष्टापूत्र्त आदि कर्मको अनुष्ठान गरेका थियौ जसका कारण अस्त भएपछि अर्थात् मरेपछि यम र तिनीबाट शासित पितृसँग तिमीहरूको भेट भएर सम्मिलन होस् र त्यहाँको कर्मभोगपछि फेरि पनि तिमीहरूले तेजस्वी शरीर पाउनू । यसै प्रकारको एउटा मन्त्र ऋग्वेदको दशौं मण्डलको सोह्रौं सूक्तको पाँचौं मन्त्र पनि भेटिन्छ ।
अवसृजत्पुनरग्रे पितृभ्यो यस्त आदुतश्चरति स्वधाभिः ।
आयुर्वसान उपवेतु शेषः संगच्छतां तन्वा जातवेदाः ।।
अर्थात् हे अग्ने, यो मृतपुरुष या नारीले (जीवित छँदा) स्वधामन्त्रोच्चारणपूर्वक सादर तिम्रो परिचर्या गरेका थिए अतः यिनलाई पहिले तिमीले लगेर यिनलाई पितृसँग भेट गराऊ र बाँकी रहेका सबै कामका साथ यस लोक (पृथ्वी) मा सुन्दर शरीरका साथ जन्म लिऊन् र आआफ्नो आयुको भोग गरून् । यस मन्त्रमा पितृलोकबाट पुनरावृत्त भएर पुनर्जन्म हुने कुरालाई बल दिएको देखिन्छ । यसैसँग भाव मिल्ने अथर्व वेदको काण्ड अठारको अध्याय दुई मन्त्र सातमा पनि मर्दै गरेका पुरुष या नारीलाई लक्ष्य गरेर भनिएको छ ।
सूर्यं चक्षुषा गच्छ वातमात्मना दिवं च गच्छ पृथिवीं च धर्मभिः ।
अपो वा गच्छ यदि तत्र ते हितमोषधीषु प्रतिष्ठा शरीरैः ।।
अर्थात् तिमी आफ्ना चक्षुरिन्द्रियबाट सूर्यलोकमा जाऊ । आफ्ना धर्माचरणबाट स्वर्गलोक या पृथ्वीलोकमा गति पाऊ । त्यसपछि पुनः शरीर पाउनका निमित्त (मेघस्थित) जल प्राप्त गर । यसभन्दा अगाडि सूक्ष्म शरीरबाट धान, गहुँ आदि ओषधिमा स्थित भएर बस । यस मन्त्रको पूवाद्र्धमा भिन्नाभिन्नै लोकमा कसरी गइन्छ या पुगिन्छ भन्ने कुरो बताइएको देखिन्छ जस्तो पञ्चाग्नि विद्याबाट बोध गराइएको हुन्छ । उत्तराद्र्धमा चाहिँ परलोकबाट फर्कंदा जल तथा ओषधयः (सप्तधान्यादि) मा आएर बस्ने र त्यो नारीले खाए डिम्ब, पुरुषले खाए शुक्र बनेर गर्भमा जाने कुरो गरिएको देखिन्छ । यो कुरो स्पष्ट गर्ने ऋग्वेदको प्रथम मण्डल, १६४औं सूक्तको ३३औं मन्त्रले अझै स्पष्ट पारेको देखिन्छ ।
द्यौर्नः पिता जनिता नाभिरत्र बन्धुर्नो माता पुथिवी महीयम् ।
उत्तानयोश्चम्बोर्योनिरन्तरत्रा पिता दुहितुर्गर्भमाधात् ।।
अर्थात् द्यु (स्वर्ग) लोकस्थ सूर्यमण्डल हामीलाई उत्पन्न गराउने पिता हुन् । तिनैसँग सम्बद्ध र अन्तरिक्षमा फैलेर रहेका तिनका किरण हाम्रा दाजुभाइ हुन् । यी पृथ्वी चाहिँ हाम्री आमा हुन् । माथितिर फर्केका यी दुवैलोकका माझमा हाम्रो स्थान छ र यिनै पिता (सूर्य) ले गर्भाधान गरेका हुन् । यस मन्त्रले कर्मभोग सकेर पृथ्वीलोकमा फर्कने कुरो स्पष्ट गरेको देखिन्छ । यस्तै भावको अथर्व वेदको काण्ड ६ अध्याय १ मन्त्र ११ लाई पनि पाठ गरिहेरौँ ।
पुंसि वै रेतो भवति तत्स्त्रियामनुषिच्यते ।
तद्वै पुत्रस्य वेदनं तत्प्रजापतिरब्रवीत् ।।
अर्थात् पहिले सूक्ष्म शरीर पुरुषमा प्रवेश गर्छ र वीर्य बन्छ । त्यही नै स्त्रीका गर्भाशयमा निषिक्त भएर छोराका रूपमा जन्म लिन्छ । यसैगरी नारी सूक्ष्म शरीर डिम्बका रूपमा रजबाट विकसित भइरहेको हुन्छ र नारीपुरुषले जब समागम यज्ञ गर्दछन् तब पुंस्तत्व पुरुषबाट निषिक्त हुन्छ भने स्त्रीतत्व चाहिँ इन्धन पाएर अग्निकुण्डमा जसरी अग्नि प्रज्वलित हुन्छ त्यसैगरी डिम्बाण्ड पनि प्रस्फुटित भएर छोरीका रूपमा जन्मन्छे ।

Subscribe
Notify of
guest
4 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
devisir2008@gmail.com
devisir2008@gmail.com
2022-09-14 10:32 am

छोटोआलेखमा जटिल शास्त्रीय विषयलाई सामान्य पाठकले बुझ्नेगरी प्रस्तुत गर्नुभएकोमा विद्वान् लेखक धन्यवादका पात्र हुनुहुन्छ।यस्ता जानकारी पाठकलाई निरन्तर दिन लेखकलाई स्वास्थ्य र समयले साथ देओस्।हाम्रो शुभकामना ।

surya koirala
surya koirala
2022-09-14 10:43 am

लेख पठनीय र ज्ञानवर्धक छ ।

Shantikrishna Adhikaree
Shantikrishna Adhikaree
2022-09-14 11:05 am

पितृपक्षमा श्राद्ध गर्न प्रेरित गर्ने पठनीय लेख

TP Mishra
TP Mishra
2022-09-14 11:43 am

जानकारीमूलक लेख

रिलेटेड न्युज

छुटाउनुभयो कि ?