पोखरा । कास्की जिल्लाको पोखरा सहरलाई पर्यटकीय राजधानी घोषणा गरिएको छ । आइतबार पोखरा महोत्सवका अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरालाई नेपालको पर्यटन राजधानी घोषणा गर्नुभएको हो । गण्डकी प्रदेश सरकार र पोखरा महानगरको संयुक्त आयोजनामा प्रधानमन्त्री प्रचण्डले उक्त घोषणा गर्नुभयो ।
‘प्राकृतिक, सांस्कृतिक तथा साहसिक क्षेत्रको अद्वितीय संगम पोखरालाई नेपालको पर्यटन राजधानी घोषणा गर्दछु,’ उहाँले भन्नुभयोे, ‘मेरो जन्म भएको कास्कीलाई पर्यटनको राजधानी घोषणा गर्न पाउँदा गर्व र हर्षको महसुस भएको छ ।’
पर्यटनको राजधानी घोषणापश्चात् पोखराको मात्रै नभएर गण्डकी प्रदेश र सिंगो देशकै पर्यटन प्रवद्र्धनमा टेवा पुग्नेमा आफू विश्वस्त रहेको उहाँले बताउनुभयो । पोखरा सम्भावनाले भरिएको सहर भएको भन्दै उहाँले यहाँका नदीनाला, तालतलैया, गल्छीहरू, छाँगा र हिमशृंखलाले सहरको सुन्दरतालाई अनुपम बनाएको बताउनुभयो । विविधतालाई एकै ठाउँमा केन्द्रित गरी व्यवस्थित प्रचारप्रसारको माध्यमबाट पर्यटन प्रवद्र्धनमा गुणात्मक नतिजा हासिल गर्न सकिने भन्दै उहाँले यस घोषणाले पोखरालाई अन्तर्राष्ट्रिय बजारमा ‘ब्राण्डिङ’ गर्ने उहाँले बताउनुभयो ।
‘पर्यटकीय राजधानी घोषणा गर्ने विश्वमा प्रचलित अभ्यासलाई मध्यनजर गरी पर्यटकीय राजधानी घोषणा गर्ने निर्णयले विश्वको पर्यटन बजारमा पोखराको ब्राण्डिङ गर्ने, लगानीकर्तालाई अनुकूल वातावरण सिर्जना गर्न र जनताको जीवनस्तरमा गुणात्मक अभिवृद्धि गर्नेछ,’ उहाँले भन्नुभयो ।
पर्यटकीय राजधानी घोषणापश्चात् आवश्यक कानुनी, प्रक्रियागत सुधार र रणनीतिक योजनासहित पर्यटकीय पूर्वाधार बनाउन गण्डकी सरकार र पोखरा महानगरले सहकार्य गर्नुपर्ने प्रधानमन्त्री प्रचण्डको धारणा छ । निजी क्षेत्रको सेवामा गुणस्तर वृद्धि र क्षमता विकास आवश्यक रहेको भन्दै उहाँले सबैले आ–आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्ने बताउनुभयो ।
भौतिक विकासलाई मात्र विकास मान्न नहुने भन्दै उहाँले मानवीय विकासलाई पनि उत्तिकै महत्वपूर्ण दिनुपर्नेमा जोड दिनुभयो । ‘भौतिक विकास र मानवीय विकास सँगसँगै अगाडि बढाउनुपर्छ,’ उहाँले भन्नुभयोे, ‘भौतिक विकासलाई मात्र विकास मान्ने र मानवीय विकासको पक्षलाई केही ठाउँमा अवमूल्यन गर्ने र सीमान्तकृत व्यक्तिको अभिभावकत्व ग्रहण नगर्ने पनि कतिपय ठाउँमा देखिएको छ ।’
तालैतालको सहर पोखराको जैविक विविधता र सांस्कृतिक धरोहरको संरक्षण एवं प्रवद्र्धनमा पनि भूमिका खेल्न उहाँले आहृवान गर्नुभयो । संघीय सरकारका तर्फबाट पोखराको पर्यटकीय पूर्वाधार निर्माणमा अभिभावकीय भूमिका खेल्ने पनि उहाँले विश्वास दिलाउनुभयो । घोषणा सभामा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पोखराका व्यवसाय २४ घण्टा खुलाउने बताउनुभयो ।
पर्यटकीय पूर्वाधार बनाउन सरकारले अल्पकालीन र दीर्घकालीन योजना बनाएको भन्दै संघीय सरकारले सहयोग गर्नुपर्ने उहाँले माग गर्नुभयो । पोखरा महानगरका मेयर धनराज आचार्यले पर्यटनको राजधानी घोषणापश्चात् व्यवसायीमा उत्साह थपिने विश्वास लिनुभयो । ‘पर्यटनको राजधानी घोषणापश्चात् पर्यटन प्रवद्र्धनमा पोखराले उच्च प्राथमिकता पाउनेछ, पोखराको ब्राण्डिङ र बजारीकरणमा सहयोग पुग्नेछ,’ उहाँले भन्नुभयोे, ‘अब पोखरामा आन्तरिक र बाह्य लागानीको अनुकूल वातावरण बन्नेछ, दूरगामी नतिजा प्राप्त हुनेछ ।’
पोखरामा व्यावसायिक उडानका लागि पहल हुन्छ : प्रधानमन्त्री
प्रधानमन्त्री प्रचण्डले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय हवाई सेवाहरूबाट व्यावसायिक उडानका लागि पहल गर्ने बताउनुभयो । पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले व्यावसायिक उडानका लागि सम्बद्व पक्षसँग नेपाल सरकारले आवश्यक पहल तथा समन्वय गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
‘प्रसिद्व धार्मिकस्थल मुक्तिनाथको प्रवेशद्वारको रूपमा रहेको पोखराको सांस्कृतिक तथा आर्थिक विकासका लागि कोरोला–त्रिवेणी नाकालाई प्रभावकारी रूपमा सञ्चालन गर्न नेपाल सरकारले थप पहल तथा समन्वय गर्नेछ,’ उहाँले भन्नुभयो । उहाँले गण्डकी प्रदेशको विकासमा दूरगामी महŒव राख्ने मध्यपहाडी लोकमार्ग सम्पन्न गर्न तथा पृथ्वी राजमार्गको मुग्लिन–पोखरा खण्डमा निर्माणाधीन सडक निर्माण कार्यलाई तीव्रता दिन आवश्यक समन्वय तथा अनुगमनलाई प्रभावकारी बनाउँदै लगिने बताउनुभयो ।
‘पर्यटनको राजधानी पोखरालाई विश्वकै विशिष्ट पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न हामी सबैले भूमिका खेलौँ,’ प्रधानमन्त्री प्रचण्डले भन्नुभयोे, ‘आन्तरिक पर्यटन प्रवद्र्धनमा सरकार, निजी क्षेत्र र नागरिक समाजबीच बलियो एकता र सहकार्यका साथ अगाडि बढौँ ।’ लक्ष्यअनुसार पर्यटक भिœयाउन खेल्नुपर्ने विशिष्ट भूमिकाहरू पूर्ण निष्ठा र इमानदारीसाथ पूरा गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री प्रचण्डले त्यस कार्यका लागि सम्पूर्ण पोखरेली जनसमुदायमा अपिल गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच