सरकारमाथि दबाब बढाउँदै कांग्रेस

नयाँ समीकरणको आन्तरिक प्रयास जारी

अनिल क्षेत्री
Read Time = 13 mins

काठमाडौं । फागुन २१ गते अप्रत्याशित ढंगले राजनीतिक समीकरणमा भएको परिवर्तनसँगै पछिल्लो चुनावबाट पहिलो दल बनेको नेपाली कांग्रेस अहिले प्रमुख प्रतिपक्ष दलको कित्तामा पुगेको छ । कुनै महत्वपूर्ण अर्थात् तर्कसंगत एजेण्डाबिना माओवादी केन्द्रका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूसँगको गठबन्धन तोडेर नेकपा एमालेसँग गठबन्धन गर्न पुगेपछि कांग्रेस अहिले रन्थनिएको अवस्थामा छ ।

केन्द्रदेखि अधिकांश प्रदेशमा प्रतिपक्षमा पुग्नु परेपछि कांग्रेसले विभिन्न मुद्दाहरू उठाएर गठबन्धन सरकारमाथि शृंखलाबद्ध दबाब बढाउन सुरु गरेको छ । कांग्रेसले पछिल्ला केही दिनयता सहकारी ठगी प्रकरणमा मुछिनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नियुक्तिलाई लिएर प्रधानमन्त्रीको जवाफ माग्दै प्रतिनिधिसभा बैठक अवरुद्ध गरिरहेको छ । नेताहरूको सार्वजनिक अभिव्यक्ति सुन्दा कांग्रेस यत्तिमै सीमित हुने देखिँदैन । विपक्षी बेञ्चमा रहेको साना दलहरूलाई साथमा लिएर कांग्रेस विभिन्न मुद्दासहित सरकारमाथि दबाब बढाउने तयारीमा छ ।

हुन त सरकारको नेतृत्व गरेयता १५ महिनामा तेस्रो पटक विश्वासको मत पाए पनि प्रधानमन्त्री प्रचण्डसामु चुनौतीका चाङ कायमै छन् । यसबीचमा तीनपटक गठबन्धन फेरिसक्नु भएका प्रधानमन्त्री प्रचण्डले अन्तिम अवसरका रूपमा लिएको यो कार्यकालमा ती चुनौती पार गर्नुपर्ने टड्कारो आवश्यकता छ ।

नयाँ गठबन्धनको स्थिरता नै दाहालको पहिलो चुनौती हो । सत्ता गठबन्धनका एमाले, रास्वपा, जसपा र एकीकृत समाजवादीको चित्त बुझाएर राजनीतिक स्थायित्व कायम गर्नु सरकारको नेतृत्व गरिरहेको तेस्रो ठूलो दल माओवादीलाई सहज छैन । सत्ता साझेदारमध्येको सबैभन्दा ठूलो दल एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री प्रचण्डबीचको तालमेलमा नै यो गठबन्धन अडिएको छ ।

गठबन्धनको घटक एकीकृत समाजवादीका जिम्मेवार नेताहरूले संसद्को रोष्ट्रमबाटै प्रधानमन्त्रीले गरेको प्रतिबद्धता पूरा नगरे सरकार छाड्ने चेतावनी दिइसकेका छन् । संसद्को चौथो ठूलो दल रास्वपाका नेताहरू पनि काम गर्न नसके सरकारबाट बाहिरिने भन्दै प्रधानमन्त्री प्रचण्डलाई अप्रत्यक्ष रूपले भए पनि चेतावनीको भाषा प्रयोग गरिरहेका छन् ।

१५ महिनाको बीचमा तीनपटक सत्ता गठबन्धन फेरिए । प्रधानमन्त्री एउटै भए पनि गठबन्धनमा प्रायः सबै दलले भाग लिइसके । गत वर्षको पुस १० गते कांग्रेससँगको सहकार्य तोडेर एमालेको सहयोगमा प्रधानमन्त्री बनेका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले त्यसको दुई महिना नपुग्दै नयाँ गठबन्धन बनाउनुभयो ।

कांग्रेस र एमालेबीचको सहकार्यको च्याप्टर ?
प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभाबाट तेस्रो पटक विश्वासको मत लिएकै दिन संसद्मा वैकल्पिक गठबन्धनको चर्चा भयो । नेकपा एमालेले सहकार्यका लागि नेपाली कांग्रेसलाई प्रस्ताव नै ग¥यो भने सकारात्मक देखिएको कांग्रेसले गठबन्धन भए हालत के हुन्छ ? भन्दै प्रधानमन्त्री प्रचण्डलाई तर्साउने काम नै ग-यो ।

कांग्रेस–एमाले गठबन्धन घोचपेचको विषय मात्रै हो या साँच्चै भित्रभित्रै केही हुँदै छ ? भन्ने विषय अहिलेसम्म पनि सेलाएको छैन । नयाँ बनेको सत्तारूढ गठबन्धन कति दिन टिक्छ ? भनेर अहिले जताततै आशंका छ । स्वयं माओवादी केन्द्रकै नेताहरू समेत आफ्नो पार्टी नेतृत्वको सरकारको आयुबारे विश्वस्त छैनन् । माओवादीसँग सहकार्य गरेका नेकपा एमालेका अध्यक्ष ओलीले गएको बुधबार संसद्मा रोष्ट्रमबाट नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सहकार्यको प्रस्ताव गर्नुभयो । देउवाले टाउको हल्लाएर हुन्छ पनि भन्नुभयो । यसपछि झन् वर्तमान सत्ता गठबन्धन केही दिन पनि टिक्दैन भन्ने बहस सुरु भयो । नेपालको राजनीति कतिबेला कता जान्छ, सायद प्रमुख दलका शीर्ष नेताहरूलाई नै थाहा हुँदैन ।

१५ महिनाको बीचमा तीनपटक सत्ता गठबन्धन फेरिए । प्रधानमन्त्री एउटै भए पनि गठबन्धनमा प्रायः सबै दलले भाग लिइसके । गत वर्षको पुस १० गते कांग्रेससँगको सहकार्य तोडेर एमालेको सहयोगमा प्रधानमन्त्री बनेका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले त्यसको दुई महिना नपुग्दै नयाँ गठबन्धन बनाउनुभयो । एमालेलाई पाखा लगाउँदै कांग्रेससँग फेरि हातेमालो गर्नुभएका प्रचण्डले एक वर्ष पनि कुर्न सक्नुभएन । अहिले फेरि एमालेसँगै सहकार्य गर्न पुग्नुभएको छ । तर, यो क्रम यत्तिमै रोकिने देखिएको छैन । किनकि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएकै दिन बुधबार संसद्मा वैकल्पिक नयाँ गठबन्धनको चर्चा सुरु भइसकेको छ । कांग्रेस र एमालेबीच आगामी दिनमा वैकल्पिक गठबन्धन बनाएर जानुपर्ने विषयले संसद्मै प्रवेश पायो ।

एमालेका अध्यक्ष केपी ओली र कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले रोष्ट्रमबाटै वैकल्पिक गठबन्धनको चर्चा गर्नुभयो । संसद्को अहिलेको अंकगणित हेर्दा पनि कुनै दलको बहुमत छैन । कुन बेला कसले बहुमत गुमाउँछ र कसको नेतृत्वमा सरकार बन्छ भनेर ढुक्क हुने अवस्था पनि देखिँदैन । त्यसमाथि प्रधानमन्त्री प्रचण्डले कहिले कांग्रेस र कहिले एमालेलाई धोका दिँदै आउनुभएको छ । यस्तो अवस्थामा संसद्को कार्यकाल अझै करिब चार वर्ष भएकाले दुई ठूला पार्टी कांग्रेस र एमालेबीच नयाँ समीकरण बन्नै नसक्ने बनेर ठोकुवा गर्नसक्ने अवस्था देखिँदैन ।

दोस्रो संविधान सभामा प्रमुख दुई ठूला दल कांग्रेस र एमाले मिल्दा संविधान जारी गर्न सकिएको तर्क गर्दै दलका युवा नेताहरूले राजनीतिक स्थिरताका लागि पनि कांग्रेस एमाले मिल्नुपर्ने सुझाव दिएका छन् । कांग्रेसका एक पदाधिकारीका अनुसार ८९ सिटको कांग्रेसले ३२ सिटको माओवादीलाई प्रधानमन्त्री दिने विषय व्यावहारिक रूपमा उचित नभएको र अब कांग्रेस र एमाले मिलेर मुलुकलाई राजनीतिक स्थायित्व दिनेगरी अगाडि बढ्नुपर्छ भन्ने गरी अनौपचारिक छलफल जारी रहेको छ ।

एमाले पनि कांग्रेससँग सहकार्यका लागि तयार रहेको अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक रूपमा नै बताइसक्नु भएको छ । गत प्रतिनिधि सभाको निर्वाचनमा कांग्रेसले ८९ सिटमा विजयी हासिल गरेको थियो भने एमालेले ७८ सिट जितेको थियो । दुवैको सिट जोड्दा झण्डै दुईतिहाइ नजिक हुने भएकाले उनीहरूले चाहेमा जे जस्ता निर्णय पनि गर्न सक्छन् भने अन्य कुनै पनि दललाई चलखेल गर्ने बाटो पाँच वर्षका लागि बन्द हुन्छ ।

कांग्रेस सरकार ढाल्ने चलखेलमा छ: प्रमुख सचेतक बर्तौला
सत्तारूढ नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमाथि प्रहार गरेर नेपाली कांग्रेस वर्तमान सरकार ढाल्ने काममा लागेको टिप्पणी गर्नुभएको छ । प्रमुख प्रतिपक्षी कांग्रेसले उपप्रधान तथा गृहमन्त्रीलाई आक्रमण गरेपछि सरकार ढाल्न सकिन्छ भनेर अंक गणितका आधारमा प्रस्तुति देखाइरहेको बर्तौलाको भनाइ छ ।

कांग्रेसले २८ दिनभित्र सरकार ढाल्छौँ भन्ने अभिव्यक्ति दिइरहेको उल्लेख गर्नुभएका बर्तौलाले अनुसन्धानले दोषी ठहराएको खण्डमा कोहीलाई पनि उम्किन दिनु नहुने जिकिर गर्नुभयो ।

गृहमन्त्रीमाथि आक्रमण गर्नु भनेको सरकार ढाल्न सकिन्छ कि भनेर गरिएको चलखेल रहेको आरोप लगाउँदै प्रमुख सचेतक बर्तौलाले भन्नुभयो, ‘रवि लामिछाने गृहमन्त्रीको बारेमा उहाँ दोषी हो र राज्यबाट प्रमाणित हुनुभयो भने उहाँ स्वयंले भनिरहनुभएको छ, छानविन सबै तहबाट होस् भनेर । यसलाई राजनीतिक ढंगबाट अहिले रास्वपाको नेतृत्वकर्तालाई गृहमन्त्रीलाई आक्रमण गर्नु भनेको यो सरकार ढाल्न सकिन्छ भनेर अंक गणितका आधारमा प्रस्तुति देखाइएको छ ।’

कांग्रेस र एमालेबीच मेलमिलाप हुनुपर्छ : सहमहामन्त्री पाण्डे
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले व्यवस्था बलियो बनाउन ठूला दलबीच मेलमिलापको आवश्यकता रहेको बताउनुभएको छ ।

नयाँ सरकार बनाउने कोणबाट नभई व्यवस्थाको औचित्यमाथि उठेका प्रश्नको जवाफ दिन कांग्रेस र एमाले मेलमिलाप हुनुपर्ने जिकिर गर्दै पाण्डेले भन्नुभयो, ‘नेपाली कांग्रेस र नेकपा एमाले मिल्ने भनेको नयाँ सरकार बनाउनका लागि होइन । देशमा संकट आइरहेको छ, व्यवस्था र संविधानमाथि प्रश्न उठ्न थालिरहेका छन् । व्यवस्थाको औचित्यमाथि नै मानिसहरूले प्रश्न उठाउन थालेका छन्, यो सन्दर्भमा कम्तीमा कांग्रेस र एमालेको मेलमिलाप हुनुपर्छ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?