बागलुङ । सोमबार साँझ निसीखोला–६ जाउलेपानीमा भएको बस दुर्घटनामा घाइतेहरुले बागलुङको धौलागिरी अस्पतालको आकस्मिक कक्ष भरिएको छ ।
आकस्मिक कक्षमा कोही ऐया, ऐया गर्दै रोइ रहेका छन्, कोही मरेमरे भन्दै चिच्याई रहेका छन् त कोही चुपचाप सुति रहेका छन् । डाक्टर तथा स्वास्थ्यकर्मीहरुले घाइतेको शरीरमा लागेका चोटमा मलम पट्टी गरि रहेका छन् । आकस्मिक कक्ष प्रवेशद्वारमा नाक, मुख र टाउकोमा चोट लागेको अवस्थामा भेटिनुहुन्छ, दशरथ नेपाली । रुकुम पश्चिम मुसीकोट नगरपालिका–१ का नेपाली सोमबार दिउसो काठमाडौँ पसलका लागि सामान खरिद्न र आफ्तसँग भेटघाट गर्नका लागि यात्रा तय गर्नु भएको थियो ।
बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बर बसले रुकुम पश्चिममै ढिला गरेको थियो । साढे एक बजे त्यहाँबाट छुटेको बस साँझ सवा ५ बज्न लाग्दा बागलुङको निसीखोलामा आएको थियो । रुकुमबाटै ढिलो हुन्छ भन्दै तीव्र गतिमा हुइँकिएको बस अन्ततः जाउलेपानीमा आएर दुर्घटनामा प¥यो । यात्रु कुर्दा रुकुमबाट ढिला गरेको बसले रानीकोट भन्ने स्थानमा जाम हुने भन्दै तीव्र गतिमा गुडाएको थियो । रुकुम र बागलुङको सीमाना पातीहाल्ने आइपुग्दा पनि चालकले गाडीको गति घटाएको थिएन । पातीहाल्नेबाट निसीखोला तर्फ लाग्ने सडक निकै घुम्ती र ओरालो छ । ओरालोमा यात्रुहरुले गाडीको गति घटाउन आग्रह गरेका थिए । तर चालकले वास्तै गरेनन् ।
३७ जना यात्रु बोकेर आएको बस दुर्घटना पर्दा हालसम्म ९ जनाले ज्यान गुमाई सकेका छन् भने धेरै जसो गम्भीर छन् । घाइते मध्य २१ जना धौलागिरी अस्पताल बागलुङ र अन्य पोखरा स्थित मणिपाल अस्पतालमा छन् । धौलागिरी अस्पतालमा उपचार गराइ राख्नु भएका दशरथले बस सडकबाट अनियन्त्रित भएर बाहिर जान लाग्दा यात्रुहरुले हाम फाल्न खोजेको तर कोही पनि सफल नभएको सुनाउनु भयो । बस दुर्घटनामा आफू काल्नामा खसेको तर धेरै यात्रुहरु तलैसम्म पुगेको उहाँले बताउनुभयो । बसबाट खसेपछि आफू धेरै बेर बेहोस भएको र जाग्दा चारै तिर लास र घाइतेहरु देखेको उहाँको भनाइ छ । आफ्नो दाहिने हात नचले पनि रुख र ढुङ्गा मुठाले च्यापिएका घाइतेलाई उद्धारसमेत गरेको दशरथले बताउनुभयो ।
“गाडीले रुकुममै ढिला गरेको थियो, बाटोमा रानीकोट आइ पुग्दा जाम हुन्छ भनेर गाडी निकै तीव्र गतिमा हुइँकाएको थियो, तर त्यहाँ जाम भएन, रुकुमबाट बागलुङ तिर पुग्दा बढी स्पिडमा हाँकेको थियो, ओरालोमा पनि स्पिडनै थियो, पछि ब्रेक फेल भएछ, घुम्तीमा घुमाउन खोज्दा घुम्तीनै मोड्न नसकेर गाडी खस्यो, म सिट समातेर बसेको थिएँ, तर खस्दा अन्धकार भएको थियो, मैले केही देखिन, म बिचमै खसे, पछि आँखा खुलेर हेर्दा खाडी तलै पुगेको थियो,” उहाँले भन्नुभयो – “मेरो आँखा खुल्दा खापा भरी मान्छे कराइ रहेका थिए, कोही बचाउ बचाउ भन्थे, कोही गुराँसका रुखले च्यापिएका थिए, मेरो दाहिने हात चल्दैनथ्यो, तै पनि उठेर पाँच÷छ जनालाई रुख मुनीबाट निकाले, लासहरु छरप्रस्ट थिए, आधा घण्टापछि प्रहरी आएर उद्धार ग-यो ।”
उहाँले प्रहरीले उद्धार गरेपछि बुर्तिबाङ लिएर सामान्य उपचार गराएको र रातिनै बागलुङ लिएको बताउनुभयो । आफ्नो दाहिने पट्टीको भाग चल्दैन भन्दै डाक्टरले ठिक हुन्छ नआत्तिनु भनेको दशरथको भनाइ छ । अहिले गाउँबाट छोरा आएर आफ्नो रेखदेख गरि रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार गाडीको अघिल्लो पट्टि बसेको धेरैको मृत्यु भएको छ ।
अस्पतालको आकस्मिक कक्षमा दशरथकै छेउमा रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–१ का हेमराज केसी पनि पल्टि राख्नु भएको छ । टाउको र नाकमा चोट देखिने केसीको देब्रे पट्टीको भाग राम्रोसँग चल्दैन । टाउकोमा पट्टी बाँधेर पल्टि राख्नु भएका केसीले चालकको लापरबाही गाडी दुर्घटनामा परेको बताउनुहुन्छ । जाउलेपानीको ओरालोमा चालकले गतिलाई कम गराएको भए यो दुर्घटनानै नहुने उहाँको भनाइ छ । आफू गाडीको पछिल्लो सिटमा बसेको सुनाउँदै गाडी पल्टिन थालेपछि आफू दौडिदै ढोकासम्म पुगेको तर ढोका नखेलेपछि गाडीसँगै दुर्घटनामा परेको केसी बताउनुहुनछ । गाडी पल्टिएको १५ मिनेटपछि आफू होसमा आएको र रुखले च्यापिएको हुँदा उठ्नै नसकेको सुनाउनुभयो ।
उहाँले भन्नुभयो – “बस पल्टिएपछि मैले केही थाहा पाएको थिएन, धेरै बेरपछि होसमा आउँदा मलाई रुखले च्यापेको थियो, मलाई साथीले निकालेको हो, उसले ननिकालेको भए म पनि मर्थे, म होसमा आएर हेर्दा कोही रुखमा झुण्डिएको अवस्थामा थिए, कोहि काल्नामा पल्टिएका थिए, त्यो अवस्था निकै दर्दनाक थियो, कोहीले बचाउ बचाउ मन्दै थिए, मैले आफ्नै शरीर समाल्न सकेको थिएन, उनीहरुलाई चाहेर पनि उठाउन सकिन, यो गाडी ड्राइभरको लापरबाहीले दुर्घटना भएको हो, निकै स्पिडमा चलाएको थियो, ओरालोमा विस्तारै चलाएको भए यो स्थिती आउने थिएन ।”
धौलागिरी अस्पतालले विपद व्यवस्थापन टिममार्फत घाइतेको उपचार गरि रहेको छ । अस्पतालकी सूचना अधिकारी शान्ति भण्डारीले अहिले अस्पतालमा २१ जना घाइतेको उपचार भइरहेको भन्दै सात जनालाई पोखरा रेफर गरेको बताउनुभयो । घाइते मध्ये धेरैको स्वास्थ्यमा सुधार हुँदै गएको उहाँको भनाइ छ । पोखरा पठाइएका घाइतेहरुको अवस्था भने गम्भीर रहेको भण्डारीले बताउनुभयो ।
दुर्घटनामा परि मृत्यु हुनेमा दाङ का १८ वर्षीय लक्की पुन मगर, पश्चिम रुकुम मुसिकोट–१ बस्ने वर्ष २७ की बिनिता केसी, रुकुम पश्चिम मुसिकोट नगरपालिका–२ रातामाटा का सवारी धनी बबिददेल नेपाली, मुसिकोट नगरपालिका–४ सोलाबाङका ३५ वर्षीया टिका केसी, मुसिकोट नगरपालिका–३ साँखकी कल्पना केसी, रोल्पा घर भएका गाडी चालक सुवाष गौतम भनिने मानसिंह विक, गोर्खा घर भएकी गीता थापा, ललितपुरका सुजन महर्जन र रुकुम पूर्व सिस्ने गाउँपालिका– ५ रुमालबाराका २५ वर्षीय विक्रम परियार रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक मदन केसीले जानकारी दिनुभयो ।
बस सडकदेखि १५० मिटर तल खसेको थियो । सात जनाको घटनास्थलमै मृत्यु भएको र दुई जनाको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा मृत्यु भएको थियो । मृत्यु हुने अधिकांश रुकुमका रहेका छन् । घटनास्थलमै मृत्यु भएका सात जनाको शव संकलन गरि सोमबार रातीनै रुकुम पठाएको उहाँको भनाइ छ । दुई जनाको शव भने बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमै राखिएको केसी बताउनुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच