पाल्पा । सदरमुकामलगायत जिल्लाका ग्रामीण बजारमा म्याद सकिएका खाद्यवस्तु छ्यापछ्याप्ती भेटिन थालेका छन् । बजार अनुगमन प्रभावकारी हुन नसक्दा उपभोक्ताले अस्वस्थकर र गुणस्तरहीन सामान प्रयोग गर्न बाध्य भएका छन् ।
जिल्लाका अधिकांस स्थानीय तहका ग्रामीण बजारमा वर्ष दिनयता अनुगमन गरिएको छैन । बजार अनुुगमनको जिम्मेवारी पाएका स्थानीय सरकारले अनुगमनमा चासो नदिँदा यहाँका बजारमा म्याद गुज्रिएका वस्तुले प्रवेश पाएका हुन् । यसले मूल्य वृद्धि भइरहेको छ । त्यसैगरी बजारमा अखाद्य तेल, दाल र अन्य दैनिक उपभोग्य वस्तुको खुलेयाम बिक्री हुँदै आएको छ । सरकारी बेवास्ताका कारण म्याद सकिएका पेय पदार्थ र अन्य वस्तु खुलेयाम बिक्री भइरहेको उपभोक्ताको गुनासो छ ।
बेला-बेलामा गरिने बजार अनुगमनमासमेत यस्ता वस्तुहरु फेला पर्ने गरेका छन् । केही दिन अघि रामपुर नगरपालिकाले गरेको बजार अनुगमनका क्रममा म्याद सकिएका खाद्यवस्तु छ्यापछ्याप्ती विक्री वितरण गर्ने गरेको फेला परेको छ । बजारमा व्यापारीहरुले म्याद सकिएका खाद्यवस्तु खुलेयाम बिक्री गरी उपभोक्ताको स्वास्थ्यमा खेलबाड गर्ने गरेको अनुगमनमा भेटिएको हो । नगर सरकारले उपभोक्ताको स्वास्थ्य र हितलाई मध्यनजर गर्दै रजघरा, सदावर्त, मटेरी, बाङ्गेपसल, बेझाँड बजार क्षेत्रमा रहेका खाद्य तथा किराना पसल, स्वास्थ्य क्लिनिक, मासु पसल, कस्मेटिक तथा फेन्सी पसललगायतका व्यवसायको अनुगमन गरेको थियो ।
अनुगमनका क्रममा खाद्यान्न पसलमा म्याद नाघेका विस्कुट, चकलेट, चाउचाउ, पेयपदार्थ, झिनिया, सुर्तिजन्य पदार्थ, पाउरोटी, तेल, सुजी, औषधी छ्यापछ्याप्ती बिक्री भइरहेको पाइएको छ । ठूला डिलरले म्याद गुज्रेका र गुज्रने मिति पुगेका सामग्री पठाउने हुँदा यहाँका बजारमा म्याद नाघेका सामग्री खुलेयाम बिक्री भइरहेका छन् । टोलीले ति सामग्री बरामद गरी नष्ट गरेको छ । ५६ हजार ६ सय ५९ रुपैयाँ बराबरको अखाद्य वस्तु बरामद गरी नष्ट गरिएको घरेलु तथा साना उद्योग कार्यालय पाल्पाका उद्यम विकास सहजकर्ता मनोज घिमिरेले जानकारी दिनुभयो ।
यस्तै अनुगमनका क्रममा मूल्य सुची नराखेको, दर्ता नविकरण तथा सुचिकृत नगरेको, लेबलिङ नभएका सामग्री विक्रीका लागि राखिएकोसमेत भेटिएको छ । नियमसंगत ढंगबाट व्यवसाय सञ्चालन गर्न अनुरोध गरिएको र पटक-पटक अटेर गरेमा कानुनी प्रक्रिया अनुसार कारवाही गरिने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुर्य दर्शन पण्डितले बताउनुभयो । उपभोक्ताको स्वास्थ्य र गुणस्तरीय तथा खाद्य बस्तु उपभोग गर्न पाउने अधिकारलाई सुनिश्चित गरी पसल व्यवसाय सञ्चालन गर्न अनुगमन समितिका संयोजक तथा उपप्रमुख बाल कुमारी थापाले व्यवसायीलाई आग्रह गर्नुभयो । रामपुरका बजारमा मात्र होइन जिल्लाको सदरमुकाम तानसेन र अन्य स्थानीय तहका बजारमासमेत खुलमखुला व्यापारीले अखाद्य र म्याद गुज्रिएका खाद्यवस्तु विक्री वितरण गर्ने गरेका छन् । अधिकांश सर्वसाधारण उपभोग्य सामग्रीको गुणस्तर ख्याल गर्दैनन् । यसकारण पनि व्यापारीहरूले सर्वसाधारणको स्वास्थ्य र पैसामाथि खेलवाड गरिरहेका छन् ।
बजार अनुगमन गर्दैनन् स्थानीय सरकार
सर्वसाधारणको स्वास्थ्यमाथि व्यापारीले खेलवाड गरे पनि जिल्लाका अधिकांस स्थानीय सरकारले भने बजार अनुगमन गर्दैनन् । बजार अनुगमन गर्ने जिम्मा स्थानीय सरकारलाई रहेपनि उनीहरुले त्यसतर्फ ध्यान नै दिएका छैनन् । चार महिनाको एकपटक स्थानीय तहले बजार अनुगमन गर्नुपर्ने प्रावधान छ । स्थानीय तहका उपाध्यक्ष र उपप्रमुखलाई अनुगमन प्रमुखको जिम्मेवारी पनि तोकिएको छ । तर यहाँँका अधिकांस स्थानीय तहले भने बजार अनुगमनमा चासो नै देखाउँदैनन् ।
अनुगमन भए पनि कारवाही हुँदैन
केही स्थानीय सरकारले बेला-बेलामा अनुगमन गरे पनि गलत कार्य गर्ने पसलेलाई कारवाही गर्ने गरेको पाइँदैन । अनुगमन टोलीले अनुगमन गर्दा सधैँ सुझावमात्रै दिएर छोड्ने गर्दछन् । जसका कारण मापदण्डविपरीतका खाद्यवस्तु बिक्री गर्नेको मनोबल झनै बढ्ने गरेको छ । वर्षको एक-दुईपटक बजार अनुगमन भए पनि सुझावमात्रै दिइन्छ, कारवाही कहिले हुँदैन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच