म्याग्दी । पूर्वतिर मोहोडा भएको भिरालो जमिनमा चिटिक्कका ढुङ्गे घरले भरिएको गाउँ । फराकिला आँगन । आँगनको छेउमा पानीको धारो । गाउँको बिचमा मोटर बाटो । सडकमा गुडिरहने गाडी । तलपट्टी धानको हरियाली । शिरानको जंगलमा ढकमक्क फुलेका लालीगुराँस । मावि तहसम्म पढाइ हुने पक्की चिटिक्कको विद्यालय, स्वास्थ्यचौकी । घरघरमा ईन्टरनेट । यो शब्द चित्र म्याग्दीको धौलागिरि गाउँपालिका वडा नं ३ मुना गाउँको हो ।
गाउँमा विकासका सबै पूर्वाधार पुगेपनि ती पूर्वाधारहरुको प्रयोग गरी सुविधा लिने युवा पुस्ता भने गाउँमा छैन । अध्ययन,व्यापार,रोजगारी र बसाइँसराइका कारण गाउँका अधिकाँश घरहरुमा उमेर खाएका जेष्ठ नागरिक र महिलाहरु मात्र छन् ।
करीव डेढ दशक अघिसम्म सदरमुकाम बेनी बजार आउजाउ गर्न दुई/तीन दिन लगाएर पैदल यात्रा गर्नुपर्ने यो गाउँको अहिले मुहार फेरिएको छ । एक गाग्री पानी लिन पनि एकाबिहानै उठेर एक–डेढ घण्टा गएर घण्टौं लाममा बस्नु पर्ने गाउँलेहरुको घरघरमा पानीको धारा छ । विगतका दुःख कष्ठका कुरा अहिले तीता स्मृतिमा परिणत भएका छन् । विकासका सबै पूर्वाधारहरु पुगेर मुहार फेरिएको गाउँमा एउटै कुराको मात्र कमी छ । त्यो हो युवा अनुहार ।
गाउँमा विकासका सबै पूर्वाधार पुगेपनि ती पूर्वाधारहरुको प्रयोग गरी सुविधा लिने युवा पुस्ता भने गाउँमा छैन । अध्ययन,व्यापार,रोजगारी र बसाइँसराइका कारण गाउँका अधिकाँश घरहरुमा उमेर खाएका जेष्ठ नागरिक र महिलाहरु मात्र छन् ।
“डेढ दशकको अवधिमा यति धेरै परिवर्तन होला भनेर कल्पनै गरेका थिएनौं,” धौलागिरि गाउँपालिका वडा नं ३ मुदीका ६९ वर्षिय टेकबहादुर भण्डारीले भन्नुभयो “हाम्रो पालामा विकास भनेको कस्तो हुन्छ होला भनेर सोच्ने गर्दथ्यौं, अहिले पो थाहा भयो । विकास भनेको त सुविधा पो रहेछ । तर,यो सुविधा हाम्रा लागि मर्ने बेलामा हरियो काँक्रो जस्तो भएको छ । गाउँमा युवा छैनन्,हामी घर छोडेर निस्कनु पर्दैन, उमेर ढल्केपछिको सुविधा पनि घाँडै हुँदोरहेछ ।”
अब गाउँमा खरले छाएका घर देख्नै मुश्किल छ । गाउँगाउँमा पनि आर सी सी ढलान गरेर पक्की घर निर्माण गर्ने होड चलेको छ । पाइला अड्याउनै मुश्किल हुने अक्करे भिरलाई फोडेर सररर मोटर गुडेको छ । घरघरमा खानेपानीका धारा बनेका छन् भने विद्यालय र स्वास्थ्य चौकीसमेत पायक पर्ने ठाउँमै बनेका छन् ।
गत दुई वर्षको अवधीमा मात्र गाउँका ३१ जनाले बसाइँसराइ गरेर अन्यत्र गएका वडा सदस्य नरकुमारी बूढाले बताउनुभयो ।
गाउँगाउँमा विकासका पूर्वाधारहरू निर्माण भएपछि ग्रामीण जनताको जीवनशैली र चेतनामा परिवर्तन त आएको छ तर,युवाहरु नहुँदा गाउँ सुन्य सुन्य लाग्ने गरेको उहाँको अनुभव छ ।
उहाँले भन्नुभयो “सुविधाका हिसाबले अब गाउँ र शहरमा खासै फरक रहेन । डेढ दशक अघिका गाउँ र अहिलेका गाउँमा धेरै कुरामा परिवर्तन आएको छ । सबैभन्दा ठूलो परिवर्तन जनताले सुविधा उपभोग गर्न पाएका छन् । तर त्यो सुविधाबाट लाभान्वित हुनुपर्ने वर्ग गाउँमा छैन ।”
यो अवस्था मुनाको मात्रै होइन । जिल्लाका ६ वटै स्थानीय तहको अवस्था यस्तै रहेको छ । १ लाख १४ हजार जनसङ्ख्या रहेको छ र २ हजार २९७ वर्ग मिटरमा भूभागमा यो जिल्ला फैलिएको छ । म्याग्दी जिल्लाका साविकका ४१ गाउँ विकास समितिमध्ये गुर्जा बाहेक अन्य सबै ठाउँलाई मोटरबाटोले छोएको छ । स्थानीय तहलाई अधिकार प्रत्याभूत गरिएपछि जिल्लाभित्र विकासका लागि पालिका–पालिकाबीचमै प्रतिष्पर्धा चलेकाले पनि ग्रामीण जनतालाई सुविधा प्राप्त गर्न सहज भएको जनताको बुझाइ छ ।
एक नगरपालिका र पाँच गाउँपालिका गरी छ वटा स्थानीय तह रहेको म्याग्दीका सबै स्थानीय तहमा विकासका न्यूनतम पूर्वाधारहरू पुगेका छन् । विकासका पूर्वाधारहरूसँगै जनताको आयआर्जनमा समेत वृद्धि भएपछि ग्रामीण जीवन शैलीमा पनि उल्लेख्य परिवर्तनहरू देखिन थालेका धौलागिरि गाउापालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बताउनुभयो ।
विशेष गरी पश्चिम म्याग्दीमा युवा पलायनको प्रभाव धेरै देखिएको छ । मालिका गाउँपालिका वडा नं १ निस्कोटबाट मात्रै एक सय ७२ जना युवाहरु तल्लोबाटो (गैरकानुनी बाटो) हुँदै अमेरिका छिरेका छन् भने अरु गाउँहरुको अवस्था पनि उस्तै रहेको स्थानीय जनप्रतिनिधिहरुले बताएका छन् ।
तर बेनी नगरपालिकाको अवस्था भने अलि फरक छ । यहाँ लाहुर गएका युवाहरू पनि धमाधम फर्केर आफ्नै गाउँमा कृषि, पशुपालन वा अन्य इलम गरेर बस्न थालेका स्थानीय जनप्रतिनिधिहरूले बताएका छन् । बेनी नगरपालिका ३ भकिम्लीका अध्यक्ष पदम पुन भन्नुहुन्छ – “विकासका पूर्वाधारहरू पुगेपछि गाउँमा नै सम्भावना खोज्ने युवा बढेका छन् । कतिपय युवा त वैदेशिक रोजगारीलाई छोडेर गाउँमा नै फर्केर व्यावसायिक कृषि र पशुपालनतर्फ लागेका छन् ।”
प्रविधि र पूर्वाधारले ग्रामीण जनताको आर्थिक अवस्थामा मात्रै परिवर्तन आएको छैन, उनीहरूको जीवनशैली, व्यवहार र खानपानमा समेत परिवर्तन ल्याइदिएको छ । सर्वसाधारणका घरका छानामा मात्र परिवर्तन आएको छैन, जीवनशैली पनि बदलिँदै गएको छ । हात हातमा नयाँ नयाँ मोडलका मोबाइल, काखकाखमा ल्यापटप र घरका भित्तामा ३५–४० इञ्चका महङ्गा टेलिभिजन राखिएका छन् । भैंसी बाँध्ने गोठ अब मोटरसाइकल लगायतका सवारीसाधन राख्ने ठाउँमा परिणत भएका छन् । केबुल नपुगेको ठाउँमा डिस होम र विद्युत् नपुगेको ठाउँमा सौर्य उपकरण राखिएको छ ।
अधिकाँश वृद्धवृद्धाको अनुभवमा गाउँमा धेरै परिवर्तन आएको छ । उनीहरूका अनुसार गाउँका पुराना चलन हराउँदै गएका छन् ।
गाउँमा खेत जोत्न हलगोरु पाल्न छोडेको पनि धेरै भयो । खेत जोत्न मिनिटेलर हलो वा ट्याक्टरको प्रयोग हुन थालेको छ । गाउँलेहरू आगो बालेर खाना पकाउन पनि छोड्दै गएका छन् । घरघरमा ग्यास सिलिण्डरको प्रयोग बढेको छ । वनमा घाँस दाउरा गर्नेहरू एकदमै कम देखिन थालेका र एक दशक अघिका नाङ्गा डाँडापाखा अहिले घना जङ्गलमा परिणत भएका मालिका गाउँपालिका वडा नं ६ का वडाध्यक्ष पथबहादुर रोकाले बताउनुभयो । मगर बहुल म्याग्दीका ग्रामीण भेगका जनताको खानपानमा समेत परिवर्तन आएको छ । उच्च हिमाली क्षेत्रका गाउँहरूका बारीमा कोदो, मकै र फापर प्रशस्तै उत्पादन हुन्छ तर, ती गाउँका बासिन्दाहरूले कोदो, मकै र फापर बेचेर चामल खरिद गर्ने गरेका उहाँले बताउनुभयो ।
“हिजोआज गाउँ मै सडक आएको छ,” मालिका गाउँपालिका ७ बिमकी देउसरा जुग्जालीले भन्नुभयो – “बारीमा फलेको कोदो, मकै, फापर र जौ किन्न गाउँ मै आउँछन् ।” जिल्लाको पहाडी क्षेत्रको पाखो तथा भिरालो जग्गामा उत्पादन हुने कोदो, मकै र फापर प्रायः बिक्री गर्ने र चामल किनेर खाने चलन बढेको छ । अधिकाँश वृद्धवृद्धाको अनुभवमा गाउँमा धेरै परिवर्तन आएको छ । उनीहरूका अनुसार गाउँका पुराना चलन हराउँदै गएका छन् ।
गाउँमै सडक पुगेको छ । गाउँ र शहरको दूरी छोटो भएको छ । शहरमा पाइने हरेक कुरा गाउँमै पाइन्छ । “केही वर्ष अघिसम्म गाउँमा मुखियाको घरमा रेडियो सुन्ने चलन थियो,”’ बेनी नगरपालिका २ का ८७ वर्षिय बेदप्रसाद उपाध्यायले भन्नुभयो – “अहिले घरमै टेलिभिजन हेरिन्छ । देश विदेशमा कहाँ के भयो सबै कुरा ओच्छ्यानमा सुती सुती थाहा पाइने भएछ ।”
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच