देवेन्द्र खड्का/हिटा
महेन्द्रनगर । यस वर्षको होली (फागु पूर्णिमा) सकिएको छ । यद्यपि राना थारूहरूको होली भने चलिरहेकै छ । रानाथारू समुदायमा होली पर्व ३८ दिनसम्म मनाइन्छ । कैलाली, कञ्चनपुरमा बसोवास रहेका राना थारूहरूको होली सबैभन्दा ठूलो पर्व हो । यो समुदयामा फागु पूर्णिमाको ठीक एक महिनाअगाडिको पूर्णिमाका दिन होली राखिन्छ र त्यसै दिनदेखि होली पर्व सुरु हुन्छ ।
राना थारूहरूले ३० दिन जिन्दा (जीउँदा) होली खेल्छन भने फागु पूर्णिमादेखि आठ दिनसम्म मरी होली (मरेको होली) खेल्ने गर्दछन् । यस वर्ष फागुन १२ गतेबाट सुरु भएको राना थारू समुदायको जिन्दा होली चैत ११ गते साँझ होली दहन (जलाएपछि) सकिएको छ । अर्को दिन चैत १२ गते (फागु पूर्णिको दिन) जलाइएको होलीको खरानीको टीका लगाइन्छ । होली टीका लगाएको दिनदेखि सो समुदायको मरी होली (मरेको होली) सुरु हुन्छ । कञ्चनपुरको भीमदत्त नगरपालिका-१४ का राना थारू समुदायमा मरी होलीको रौनक छ ।
मंगलबार भीमदत्त नगरपालिका-१४ का राना थारू समुदायले मरी होलीमा अतिथिका रूपमा भीमदत्त नगरपालिकाका नगरप्रमुख पदम बोगटीलगायतलाई बोलाएका थिए । नगरप्रमुख लगायतका अतिथिलाई आफ्नो संस्कृति मरी होली खेलेर देखाइरहेका थिए । उनीहरू महिला-पुरुष गरी १०/१२ जनाको दुई समूह बनाएर विभिन्न गीत गाउँदै मरी होली खेलेका थिए । उक्त समूहमा आफ्नो पहिरनमा सजिएका ६ वर्षीया वर्षा राना र सात वर्षीया मोनिका रानाले सबैको ध्यान आफूतर्फ केन्द्रीय बनाएका थिए ।
उनीहरू आफ्ना अभिभावकलाई हेर्दै मरी होलीको पैतला र चाल मिलाइरहेका थिए । वर्षा र मोनिका आफ्ना अभिभावकबाट आफ्नो कला संस्कृति सिक्ने प्रयास गरिरहेका थिए । त्यसैले सबैको ध्यान ती दुई बालिकाको सिक्दै गरेको कला/संस्कृतिमा थियो । पछिल्लो समय आफ्ना कला संस्कृति बिर्सिँदै गइरहेको पुस्तालाई आफ्ना कला संस्कृति सिक्नु र जगेर्ना गर्नुपर्छ भन्ने ज्ञान वर्षा र मोनिकाले सिकाइरहेका थिए । साना नानीहरूले आफ्नो कला संस्कृति सिक्दै गरेको देख्दा खुशी लागेको भन्दै सबैले आफ्नो कला संस्कृति सिक्दै जगेर्ना गर्नुपर्ने नगरप्रमुख बोगटीले बताउनुभयो । पछिल्लो समय आफ्ना कला संस्कृति हराउँदै गएकाले त्यसको जगेर्नाका लागि होलीलगायत आफ्ना कला संस्कृति अनुसारका पर्व मनाउँदै नयाँ पुस्तालाई सिकाउने गरेको भीमदत्त नगरपालिका-१४ की वसन्ती रानाले बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच