![सलमान र शाहरुखले दिए अनन्तकाे विवाहमा करोडौंको उपहार](https://ehimalayatimes.com/wp-content/uploads/2024/07/salman-shaharukh-khan.jpg)
बागलुङ । खिया लागेका जस्तापाता, उप्किएका भित्ता । धमिराले छियाछिया भएका झ्याल ढोका । छानामा ढुङ्गाहरुले प्लास्टिक अठ्याइएको छ । यो दृश्य मालढुङ्गा प्रहरी चौकीको हो । बागलुङ जिल्ला प्रवेशद्वार छेउमै रहेको प्रहरी चौकी निकै साँघुरो र जीर्ण छ । पानी पर्दा चुइने र हावाहुरी चल्दा छानोनै उडाइ दिने समस्याले यहाँ बस्ने प्रहरी आजित बनेका छन् । जिल्लाको मुख्य नाकाका रुपमा रहेको मालढुङ्गा सुरक्षाको हिसाबले निकै संवेदनशील क्षेत्र हो । संवेदनशील क्षेत्रमै प्रहरी चौकीको अवस्था निकै दयनीय छ । जसले यहाँ बस्ने सुरक्षाकर्मीनै असुरक्षित छन् । मालढुङ्गा नाकाबाट दैनिक सयौँ सवारी साधान र हजारौँ यात्रु ओहोरदोहोर गर्छन् ।
राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गमा पर्ने मालढुङ्गा बागलुङ मात्रै नभई म्याग्दी, मुस्ताङसहित पश्चिम नेपालकै प्रवेशद्वार हो । यी प्रवेशद्वारबाट रुकुम, जाजरकोट हुँदै पश्चिम नेपालका विभिन्न जिल्लाहरुमा सवारी साधन गुड्छन् । अपराधिक गतिविधि गर्नेदेखि सबै थरिका मान्छेहरु यात्रा गर्ने मुख्य नाकामै प्रहरी चौकीको अवस्था दयनीय छ । बस्ने, खाना खाने ठाउँ पर्याप्त नहुँदा यहाँ बस्ने सुरक्षाकर्मीले सास्ती खेप्नु परेको छ । २०६३ साल पौषमा स्थापना भएको प्रहरी चौकीको आफ्नै भवन र जग्गा पनि छैन । हाल प्रहरी चौकी रहेको जग्गा पनि बागलुङ भगवती गुठीको हो । जिल्लाभर २८ स्थानमा प्रहरी चौकी रहेका छन् ।
त्यस मध्ये १३ वटा चौकीको आफ्नै जग्गा र भवन छ भने आठ वटाको जग्गा भए पनि भवन निर्माण हुन सकेको छैन । सात वटा चौकीको जग्गा र भवन केही छैन । चौकीको आफ्नै भवन भए पनि कच्ची र पुराना छन् । केही चौकी भने भाडाका घरबाट संचालित छन् । नागरिकको सुरक्षामा खटिने प्रहरीनै असुरक्षित घरमा बस्दै आएका छन् । जीर्ण भवनमा बस्दा कति बेला के घटना हुने हो भन्ने जोखिम रहेको मालढुङ्गा प्रहरी चौकीका प्रमुख असई राजेन्द्र भुजेलले बताउनुहुन्छ । उहाँले साँघुरो घरमा बसेर काम गर्दा धेरै समस्या पर्ने गरेको सुनाउनु भयो । खाना खाँदा बस्नसमेत समस्या हुने गरेको सुनाउँदै राती सुत्दा पनि निकै अप्यारोका साथ सुत्नु पर्ने स्थिती रहेको उहाँको भनाइ छ ।
“ठाउँ निकै साँघुरो छ, १८ घण्टासम्म ड्युटी पर्छ, बस्ने ब्यारेक छैन, खाना खाने ठाउँ गतिलो छैन, शौचालय गतिलो छैन, जसोतसो निकै अप्ठ्यारोका बाबजुत गुजारा चलाएका छौँ, यो मुख्य नाका हो, यहाँबाट धेरै ठाउँमा गाडीहरु चल्छन्, अनेक थरिका मान्छेहरु हिँड्छन्,” भुजेलले भन्नुभयो – “कहिलेकाहीँ अपराधिक क्रियाकलापमा संलग्न भएका व्यक्तिलाई समाएर होल्ड गर्ने ठाउँ पनि छैन, घर पनि भत्किन थालेको छ, यस्तो ठाउँमा बसेका छौँ, कति बेला के घटना हुन्छ भन्ने थाहै हुँदैन, सुत्ने बेला पनि जसोतसो मिलेर बस्दै आएका छौँ, माथिल्लो निकायमा पनि बारम्बार जानकारी दिएका छौँ ।”
निसीखोला गाउँपालिका–५ निसीमा रहेको प्रहरी चौकीको अवस्था पनि निकै दयनीय छ । निसी प्रहरी चौकी निसीखोला किनार छेउँमै रहेको सयौँ वर्ष पुरानो भवनबाट संचालित छ । दुई तले ढुङ्गा माटोले बनेको उक्त घर जिर्ण अवस्थामा छ । द्वन्द्वकालमा यस प्रहरी चौकी विस्थापितसमेत भएको थियो । विस्थापित भएको चौकी शान्ति सम्झौतापछि मात्रै पुनः स्थापित भएको थियो । यस क्षेत्रमा केही वर्ष अगाडीसम्म लडाई झगडा लगायत अन्य नकरात्मक गतिबिधिहरु हुन्थे । त्यसले गर्दा प्रहरीले निकै दुःख भोग्नु परेको थियो । द्वन्द्वकालमा कयौँ पटक प्रहरीमाथि कुटिप भए । चौकी नै कब्जासमेत भएको स्थानीय बताउँछन् । तर पछिल्लो समय समुदायमा जनचेतना वृद्धि भएपछि त्यस किसिमका गतिबिधि हुन छोडेका छन् । अहिले स्थानीयले ससमेत प्रहरीले सहयोग गर्दै आएका छन् ।
खोला छेउमा रहेको चौकीमा कार्यरत प्रहरीहरु वर्षातको समयमा प्रयाजसो जागराम नै बस्ने गर्छन् । निसीखोला उर्लेर आयो भने चौकीकै छेउमा भल आउँछ । केही वर्ष अगाडी स्थानीयले तट बन्धन गरे पनि निसीखोलामा बाढी आउँदा बाँधले छेक्न सक्दैन । हिउँदको समयमा खास्सै समस्या नपरे पनि वर्षातमा निकै दुःख भोग्नु पर्ने प्रहरी चौकी प्रमुख असइ भोजबहादुर गुरुङले बताउनुभयो । उहाँले ठुलो पानी पर्दा घर चुहिने हुँदा त्रिपाल हालेर बस्नु पर्ने अवस्था रहेको बताउनुभयो । हिउँदको समयमा खास्सै समस्या नभएको भन्दै वर्षातमा ज्यानै जोखिममा पर्ने खतरा भएको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो – “यो घर दुई/तीन सय वर्ष पुरानो रहेछ, मर्मत सम्भार गर्न सक्ने स्थिती पनि छैन, ठूलो पानी पर्ना साथ चुहिने गर्छ, त्रिपाल नहाली बस्नै सकिन्न, बर्खामा खोलाले ठूला–ठूलो ढुङ्गामुडा बगाएर ल्याउँछन्, त्यसले गर्दा भित्रै आउँछ कि भन्ने डरले रातभर उठेर बस्नु पर्छ, दुई तलाको माटोले बनेको घर पुरानो भएर होला धुलो खसी रहन्छ, माथिल्लो निकायबाट सहयोग भए त भवन बन्ने थियो, अहिलेसम्म जग्गाको प्रक्रियामा छौँ ।”
यस प्रहरी चौकीका लागि वडा नम्बर ५ कै मधुबाङ भन्ने स्थानमा जग्गा व्यवस्थापन भएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक ऋषिराम कँडेलले जिल्लाको धेरै ठाउँमा रहेका चौकीको आफ्नै भवन नभएको बताउनुभयो । मालढुङ्गा प्रहरी चौकी बढी संवेदनशील ठाउँमा भएको हुँदा यसको व्यवस्थापनका लागि बागलुङ नगरपालिका र बागलुङ कालिका भगवति गुठी व्यवस्थापन समितिसँग छलफल गरि रहेको बताउनुभयो । प्रहरी चौकीको आफ्नै भवन नहुँदा सेवा प्रवाहमा समस्या हुने भन्दै जग्गा व्यवस्थापन र भवनका लागि पहल भइ रहेको उहाँको भनाइ छ ।
“भवन बनाउनका लागि निश्चिम मापदण्डको जग्गा आवश्यक पर्छ, मापदण्ड विपरितको जग्गामा कुनै पनि सरकारी भवन बनाउन नमिल्ने हुँदा अहिले जिल्ला प्रहरी कार्यालय बागलुङ मातहतका धेरै चौकीको आफ्नै भवन र जग्गा छैन, त्यसको व्यवस्थापनका लागि लागि रहेका छौँ” प्रहरी उपरीक्षक कँडेलले भन्नुभयो – “मालढुङ्गा चौकीका लागि नगरपालिका र गुठी व्यवस्थापनसँग समन्वय गर्ने छौँ, यहाँ व्यवस्थित चेक पोस्ट र सिसी टिभी राख्ने योजना पनि बनाएका छौँ ।”
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच