देश चलाउन सक्षम नेतृत्व चाहिन्छः महासचिव पोखरेल

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 2 mins

दाङ । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले देश चलाउन सक्षम नेतृत्व चाहिने बताउनुभएको छ । चर्चाले मात्र मुलुक नबन्ने उल्लेख गर्दै उहाँले यसका लागि राजनीतिक विचार र नेतृत्व चाहिने बताउनुभयो ।

प्रेस चौतारी दाङले आज घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले सरकारको नीति तथा कार्यक्रमले राष्ट्रिय समस्या सम्बोधन गर्न नसकेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, “सरकारले ल्याएको नीति तथा कार्यक्रममा सामाजिक, सांस्कृतिक र आर्थिक विषय ओझेलमा पारेको छ । बढ्दो आर्थिक सङ्कट, सांस्कृतिक हस्तक्षेप र सामाजिक विचलनका मुद्दालाई सरकारले ल्याएको नीति कार्यक्रमले छुन सकेको छैन ।”

राजनीतिक अस्थिरता र सामाजिक अराजकतामाथि विजय हासिल गर्नेगरी कार्यक्रम आउनुपर्ने उहाँको भनाइ छ । “मुलुकमा आर्थिक मन्दीको अवस्था छ । व्यवसाय ठप्प छ । वित्तीय सङ्कट छ । नीति तथा कार्यक्रमले आशा जगाउन सकेन”, महासचिव पोखरेलले भन्नुभयो । मुलुकमा बलियो राष्ट्रिय शक्ति निर्माण गर्न राजनीतिक धुव्रीकरण आवश्यक भएको उहाँको भनाइ छ । रासस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?