मधेसमा एसइई परीक्षामा चिट चोराइएको विषयको दोष सिडिओ, एसपी र निरीक्षकले लिनुपर्छ : सांसद झा

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले मधेस प्रदेशमा एसइईमा चिट चोरिएको विषयको दोष त्यहाँका प्रमुख जिल्ला अधिकारीहरु, एसपीहरु र निरीक्षकले लिनुपर्ने बताउनुभएको छ ।

सोमवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद झाले मधेस प्रदेशका विभिन्न जिल्लाहरुमा एसइईमा चिट चोराइएको र आम मधेसलाई दोष दिइएको भन्दै मधेसलाई दोष नदिन आग्रह गर्नुभएको हो । उहाँले सरकारले खटाएको प्रमुख जिल्ला अधिकारी, एसपी र निरीक्षकहरुले चिट चोर्न छुट दिएको भन्दै चिट चोराउनुमा मधेसको कुनै दोष नभएको बताउनुभएको हो । उहाँले सरकारले मधेसमा हुँदै गरेको परीक्षालाई गम्भिरतापूर्वक लिनुपर्ने बताउनु भयो । उहाँले परिक्षालाई आवश्यक पद्धति र कडाइका साथ परिक्षा गर्न आग्रह गर्दै मधेसलाई दोष नदिन आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो - ‘मधेसले पहाडलाई पढाउनको लागि कुनै बेला उक्लिने गर्थ्याे । तर अहिले मधेस आफैँ एसइई परीक्षा हुँदै गर्दाखेरी चिट चोर्नेहरुको चपेटामा पर्दै छ । यसको दोष मधेसले किन खेप्दैछ ? काठमाडौंमै सुनिन्छ, कसैको ड्राइभिङ लाइसेन्स छैन भने मधेश झरौँ न त्यहाँ बनिहाल्छ । कोही एसइई पास हुन सकेन भने मधेस झरौँ त्यहाँ पास भइहाल्छ भन्ने कुरा । तर त्यसको इमेजको कस्ट मधेसले तिरिराखेको छ । त्यो हामीले किन तिर्ने ? किनकी यहीँबाट खटाइएको सिडिओ, एसपी, निरिक्षक सबै अधिकारीहरुले छुट दिइराखेको छ, त्यसको मूल्य मधेसले तिरिराखेको छ । तर यसको दोष हामी मधेसी होइनौँ, यसको दोष केन्द्रबाट खटाइने सिडिओ, एसपी र अरु अधिकारीहरु हुन् । त्यसैले यहाँ सबैको ध्यानाकर्षण गराउन चाहन्छु, मधेसमा हुँदै गरेको परीक्षालाई गम्भिरतापूर्वक लिइयोस् । आवश्यक विधि, पद्धति र कडाइका साथ परिक्षा गरियोस् । ताकि यसको मूल्य भविष्यमा मधेसले तिर्नु नपरोस् ।’

उहाँले आगामी दिनमा सम्बन्धित अधिकारीको त्रुटीका कारण त्यसको मूल्य मधेसले नतिर्ने पनि उहाँले स्पष्ट पार्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?