सेनेगलले ब्राजिललाई हरायो

Read Time = 3 mins

लण्डन । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा सेनेगलले ब्राजिलमाथि सानदार पुनरागमन जित निकालेको छ । सेनेगलले १-० ले पछि परेको स्थितिमा ब्राजिलमाथि ४-२ को जित निकालेको हो । सेनेगलको जितमा साडियो मानेले दुई गोल तथा हबिब डियालोले एक गोल गर्नुभयो । सेनेगलले एक गोल आत्मघाती उपहार पाएको थियो । ब्राजिलका लुकास पाक्वेटा र मार्किन्हसले गोल फर्काउनुभयो ।

खेलको ११औँ मिनेटमा लुकास पाक्वेटाले गोल गर्दै ब्राजिललाई १-० को अग्रता दिलाउनुभएको थियो । २२औँ मिनेटमा हबिब डियालोले गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा ल्याउनुभयो । ५२औँ मिनेटमा मार्किन्हसले आत्मघाती गोल गरेपछि सेनेगलले २-१ को अग्रता बनायो । ५५औँ मिनेटमा साडियो मानेले सेनेगलका लागि तेस्रो गोल गर्नुभयो ।

५८औँ मिनेटमा मार्किन्हसले गोल गर्दै खेललाई ३-२ को स्थितिमा ल्याउनुभयो । त्यसपछि इन्जुरी समयको थप गरिएको सातौँ मिनेटमा मानेले पेनाल्टीमार्फत् गोल गर्दै सेनेगललाई ४-२ को जित दिलाउनुभयो । सेनेगलले ११ वर्षपछि ब्राजिलसँग पुनरागमन जित निकालेको हो ।

इता, युरोकप २०२४ को छनोटमा बेल्जियमले इस्टोनियामाथि ३-० को सहज जित निकालेको छ । बेल्जियमको जितमा रोमेलु लुकाकुले दुई तथा जोहान बाकायोकोले एक गोल गर्नुभयो । खेलको ३७औँ मिनेटमा रोमेलु लुकाकुले गोल गर्दै बेल्जियमलाई १-० को अग्रता दिलाउनुभयो । ४०औँ मिनेटमा लुकाकुले दोस्रो तथा ९०औँ मिनेटमा जोहान बाकायोकोले तेस्रो गोल गर्नुभयो ।

यस जितसँगै समूह ‘एफ’ मा बेल्जियम तीन खेलबाट सात अंक जोडेर दोस्रो स्थानमा यथावत् छ । पराजित इस्टोनिया एक अंक जोडेर चौथो स्थानमा छ । यही समूहको अर्काे खेलमा अष्ट्रियाले स्विडेनलाई २-० ले पराजित गरेको छ । अष्ट्रियाको जितमा दुवै गोल क्रिस्टोफ बोउमगार्टनरले गर्नुभयो । यस जितले अष्ट्रिया चार खेलबाट १० अंक जोडेर शीर्षस्थानमा छ । पराजित स्विडेन तीन अंक जोडेर तेस्रो स्थानमा छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?