लुम्बिनी प्रदेशका मुख्यमन्त्री चौधरीले बिहीबार विश्वासको मत लिने, विश्वासको मत पाउनेगरी थालियाे ‘लविङ’

विवेक खड्का दाङ, संवाददाता
Read Time = 4 mins

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बिहीबार विश्वासको मतलिने निर्णय भएको छ ।

मुख्यमन्त्री चौधरीले चैत २२ गते बिहीबार संसदबाट विश्वासको मतलिने निर्णय मंगलबार बिहान बसेको प्रदेश मन्त्रीपरिषद्को बैठकले गरेको हो । विश्वासको मतलिन बिहीबार दिउँसो ४ बजे विशेष अधिवेशनआह्वान गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोषकुमार पाण्डेले जानकारी दिनुभयो ।

गतवैशाख १४ मा लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा डिल्लीबहादुर चौधरी नियुक्त हुनुभएको थियो । त्यसअघि नेकपा एमाले, नेकपा माओवादी  केन्द्रसहित आठ राजनीतिकदलको समर्थनमा एमालेका लीला गिरी मुख्यमन्त्री नियुक्त हुनुभएको थियो।

राजनीतिक समीकरण फेरिएपछि कांग्रेस-माओवादी नेतृत्वमा बनेको गठबन्धन सरकार अघि बढ्यो । फेरि केन्द्रीय राजनीतिमाआएको बदलाबका कारण एमाले-माओवादीसहितको सरकार बन्ने अवस्था देखिएको छ ।

गत वैशाख १९ मा मुख्यमन्त्री चौधरीले विश्वासको मत पाउनु भएको थियो । चौधरीलाई ८७ जना प्रदेशसभा सदस्यमध्ये ५३ जनाले विश्वासको मत दिएका थिए भने विपक्षमा २९ मत परेको थियो । वैशाख १४ गते नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी (नाउपा), जनता समाजवादी पार्टी (जसपा) नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादी र एक जना स्वतन्त्र सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त हुनुभएकाे थियाे ।

अहिले विश्वासको मत प्राप्तगर्ने दाबी सरकारको छ । स्वास्थ्यमन्त्री राजु खनालले विश्वासको मत प्राप्त गर्नेगरी ‘लविङ’ भइरहेको बताउनुभयो। ‘निर्धारित समयमा सरकारले फेरि विश्वासको मत पाउँछ, ‘ उहाँले भन्नुभयो, ‘मुख्यमन्त्रीले विश्वासको मत पाउनेगरी छलफल गरिरहनु भएको छ।’

यता, एमाले-माओवादीदलका नेताहरूले भने मुख्यमन्त्रीले विश्वासको मत पाउन नसक्ने र आफूहरू सहभागी सरकार बनाउने तयारी थालेका छन्।

लुम्बिनी प्रदेशमा ८७ जना प्रदेशसभा सदस्य रहेका छन् । बहुमतका लागि ४४ सांसद चाहिन्छ । कांग्रेससँग २७, नागरिक उन्मुक्ति पार्टीसँग ४, जनमत पार्टीसँग , ३ राप्रपासँग ३, लोसपासँग ३, जनमोर्चासँग १ र स्वतन्त्र १ जना प्रदेशसभा सदस्य छन्।

यसैगरी, एमालेसँग २९, माओवादीसँग सभामुखबाहेक १०, जनता समाजवादी पार्टी (जसपा) सँग ३ र नेकपा एकीकृत समाजवादीसँग १ जना प्रदेशसभा सदस्य छन् ।

सरकार बनाउन नयाँ गठबन्धनलाई एकजना प्रदेशसभा सदस्य संख्या कमी हुने देखिन्छ । जसका लागि नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र राप्रपामध्ये कुनै एक राजनीतिक दलसँग सहकार्य बढाउनुपर्ने देखिएको हो । लुम्बिनीमा नयाँ सरकार गठनका लागि सानादल निर्णायक देखिन्छन्।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?