
हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१४ स्थित मयुरधापमा रहेको अनाथ, अपांग बाल पुनर्स्थापना केन्द्रमा आश्रय लिइरहेकी विनिता लगभग १८ वर्षकी भइन् । बौद्धिक अपांग उनी बोल्न सक्दिनन् । १८ वर्ष पुगिसक्दा पनि अहिलेसम्म उनको जन्मदर्ता बनेको छैन । हालसम्म पनि जन्मदर्ता नबन्दा उनी सरकारी सेवा सुविधाबाट बञ्चित रहँदै आएकी छन् ।
आश्रमका सञ्चालक रामहरि कोइरालाका अनुसार उनलाई दुई वर्ष अगाडि जिल्ला प्रहरी कार्यालयबाट आश्रमसम्म लगिएको कारण पारिवारिक पहिचान समेत खुल्न सकेको छैन । कुनै पहिचान नै नखुलेको कारण उनको जन्मदर्ता बनाउन पहल गर्दा पनि असफल भएको उनको भनाइ छ।
परिवारको अभावमा पनि बालबालिकालाई हेरचाह र संरक्षण गर्ने वैकल्पिक माध्यमका रूपमा बालगृहलाई लिइन्छ । बेवारिसे, अभिभावकविहीन, असहाय र अनाथ बालबालिकालाई खाना, सुरक्षा, पालनपोषण, शिक्षासहित आश्रय प्रदान गरिरहेको बालगृहहरुमा आश्रित बालबालिकाहरुको जन्मदर्ता नहुँदा समस्या भएको छ । बालगृहमा आश्रय लिइरहेका बालबालिकाको आमाबाबु र स्थायी ठेगाना एकिन नहुँदा जन्मदर्ता बनाउन समस्या भएको छ ।
मकवानपुरमा ९ वटा बालगृह संचालनमा रहेका छन् । ती बालगृहमा बालक ८७ र बालिका ११० गरी १९६ बालबालिकाले आश्रय लिइरहेका छन् । १ सय ९६ बालबालिका मध्ये २८ जना बालबालिकाको जन्म दर्ता नरहेको हेटौंडा उपमहानगरपालिका महिला तथा बालबालिका शाखाको तथ्यांक छ । बालगृहमा आश्रय लिइरहेका बालबालिकाले खाना, सुरक्षा, पालनपोषण, शिक्षा पाएसँगै पाउनुपर्ने जन्मदर्ता हकबाट भने बन्चित भएका छन् । जन्मदर्ता बालबालिका तथा कुनै पनि नागरिकको आधारभूत आवश्यकता र पहिचान हो । जन्मदर्ता नभए बालबालिका नागरिकता सहित शिक्षा, सामाजिक सुरक्षा लगायत सरकारबाट पाउने सबै सेवाबाट समेत बञ्चित हुन्छन् ।
हेटौंडा– ९ स्थित मयुरधापमा रहेको मानवसेवा आश्रममा मात्रै २२ जना बालबालिकाको जन्मदर्ता छैन र आश्रममा हाल २४ बालबालिका आश्रित रहेका छन् । आश्रममा रहेका ४ वर्ष देखि १८ वर्ष उमेर समुहका बालबालिकामध्ये २ जनाको मात्र जन्मदर्ता रहेको मानवसेवा आश्रम बागमती प्रदेश संयोजक होमनाथ पौडेलले बताउनुभयो । जन्मदर्ता बनाउन जन्मेको ठाउँ पहिचान गरी सम्बन्धित वडामा पुग्नुपर्ने र आश्रम रहेको स्थानबाट नमिल्ने भएपछि समस्या भएको पौडेलको भनाइ छ । भोलिका दिनमा सडक बालबालिका उद्धार गर्नु पर्दा बालकल्याणकारी र स्थानीय पालिकासंग समन्वय गरेर मात्र प्रक्रिया अगाडि बढाइने संयोजक पौडेलले बताउनुभयो ।
अनाथ तथा असहाय बालबालिकाको हकमा प्रचलित कानुन बमोजिमको संरक्षक वा माथवरले सूचक बनेर वा त्यस्तो व्यक्ति नभएमा सम्बन्धित वडाको वडाध्यक्ष सूचक बनेर जन्मदर्ता गर्न सकिने नियम रहेको हेटौंडा उपमहानगरपालिका पञ्जिकरण विभाग शाखा प्रमुख विना थिङले बताउनुभयो ।
सबै बालबालिका बाबुआमा बिहिन नहुने र यदि नभए पनि कोहि न कोहि आफन्त हुने कारण सकेसम्म अभिभावक खोजेर जन्मदर्ता बनाउन पहल गर्नु पर्ने मकवानपुर अन्तर्गत बालगृह संजाल (सिनेट) का अध्यक्ष झविन्द्र ज्ञवालीको भनाइ छ । बाबुआमा अथवा आफन्त भएसम्म बालबालिकालाई सम्बन्धित स्थानमा पु-याइने र यदि कोहि नभएको पुष्टि भएको खण्डमा राज्य जिम्मेवार भएर बालगृहमा रहेका बालबालिकाको जन्मदर्ता बनाउनुपर्ने उहाँले बताउनुभयो ।
बालगृहमा रहेका र जन्मदर्ता नबनेका बालबालिकाको विषयमा बालगृहका सम्बन्धित व्यक्तिसँग समन्वय भइरहेको अध्यक्ष ज्ञवालीले बताउनुभयो । जन्मदर्ता बनाउँदा बिचार पुर्याइएन भने नागरिकता बनाउनमा समस्या हुनसक्ने कारण सकेसम्म अभिभावकको खोजी गरिनुपर्ने उहाँले बताउनु भयाे ।
बालबालिकाको अधिकार सुनिश्चित गर्न नेपालको संविधान धारा ३९ (१) मा प्रत्येक बालबालिकालाई आफ्नो पहिचानसहित नामाकरण र जन्मदर्ताको हक हुने व्यवस्था गरिएको छ । बालअधिकार महासन्धि, ‘सन् १९८९ को धारा ७ मा जन्मनासाथ बालबालिकाको जन्मदर्ता गरी औपचारिक नाम पाउने, राष्ट्रियताको अधिकार, सम्भव भएसम्म आफ्ना बाबुआमा थाहा पाउने र उनीहरुबाट स्याहार पाउने अधिकारको व्यवस्था समेत गरिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच