काठमाडौं । पछिल्लो समय रेमिट्यान्स आय घट्न थालेको छ । चालु आर्थिक वर्ष २०८०/०८१ को पछिल्लो आठ महिनामा विप्रेषण आप्रवाह २१.० प्रतिशतले मात्रै बढेर नौ खर्ब ६१ अर्ब २२ करोड कायम भएको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २५.३ प्रतिशतले बढेको थियो । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको फागुनसम्मको तथ्यांकअनुसार अमेरिकी डलरमा विप्रेषण आप्रवाह १८.८ प्रतिशतले बढेर सात अर्ब २४ करोड पुगेको छ ।
अघिल्लो वर्ष यस्तो आप्रवाह १४.८ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या दुर्ई लाख ८६ हजार नौ सय ३२ र पुनः श्रम स्वीकृति लिनेको संख्या एक लाख ८४ हजार दुई सय ७८ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः तीन लाख ५१ हजार सात सय ६१ र एक लाख ९२ हजार पाँच सय ५९ थियो । तर, रेमिट्यान्स घट्दोक्रममा रहे पनि शोधनान्तर बचत भने बढ्दोक्रममा रहेको छ ।
फागुनमा तीन खर्बभन्दा बढी अर्थात् तीन खर्ब २७ अर्ब ५५ करोडले शोधनान्तर बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा एक खर्ब ४२ अर्बले बचतमा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा एक अर्ब आठ करोडले बचतमा रहेको शोधनान्तर समीक्षा अवधिमा दुई अर्ब ४६ करोडले बचतमा रहेको छ । २०८० असारमा १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २१.७ प्रतिशतले बढेर २०८० फागुनमा १८ खर्ब ७२ अर्ब ८२ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८० असारमा ११ अर्ब ७१ करोड रहेकोमा २०८० फागुनमा २०.८ प्रतिशतले बढेर १४ अर्ब १४ करोड पुगेको छ ।
आर्थिक वर्ष २०८०/०८१ को आठ महिनाको आयातलाई आधार मान्दा बंैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १४.८ महिनाको वस्तु आयात र १२.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने केन्द्रीय बैंकले जनाएको छ ।
चार प्रतिशतले घट्यो निर्यात
आर्थिक वर्ष २०८०/८१ को आठ महिनामा कुल वस्तु निर्यात ४.० प्रतिशतले घटेर एक खर्ब ६२ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात २९.१ प्रतिशतले घटेको थियो । गन्तव्यका आधारमा भारततर्फको निर्यात ७.७ प्रतिशतले घटेको छ भने चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः २७५.५ र ०.३ प्रतिशतले बढेको छ । वस्तुगत आधारमा जिंक शिट, पार्टिकल बोर्ड, जुस, तयारी पोसाक, पोलिस्टर धागोलगायतको निर्यात बढेको छ भने पाम तेल, सोयाबिन तेल, अलैंची, ऊनी गलैंचा, ब्रान्सलगायतको निर्यात घटेको छ । चालु आर्थिक वर्षको आठ महिनामा कुल वस्तु आयात २.७ प्रतिशतले घटेर १० खर्ब ३० अर्ब २२ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १९.१ प्रतिशतले घटेको थियो ।
वस्तु आयात गरिने मुलुकका आधारमा भारत र अन्य मुलुकबाट भएको आयात क्रमशः २.८ र २२.९ प्रतिशतले घटेको छ भने चीनबाट भएको आयात ३३.७ प्रतिशतले बढेको छ । सो अवधिमा कुल वस्तु व्यापार घाटा २.५ प्रतिशतले घटेर नौ खर्ब २९ अर्ब ६१ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १७.९ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ९.८ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष यस्तो अनुपात ९.९ प्रतिशत थियो ।
समीक्षा अवधिमा खुद सेवा आय ४४ अर्ब ८२ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ५५ अर्ब ९१ करोडले घाटामा थियो । सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण आय ४२.१ प्रतिशतले बढेर ५१ अर्ब ३९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ३६ अर्ब १६ करोडको थियो ।
समीक्षा अवधिमा सेवा खाताअन्तर्गत भ्रमण व्यय ४५.७ प्रतिशतले बढेर एक खर्ब २२ अर्ब ८१ करोड पुगेको छ । जसमध्ये शिक्षातर्पmको व्यय ८० अर्ब १४ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय ८४ अर्ब ३२ करोड रहेकोमा शिक्षातर्फको व्यय ५४ अर्ब ७० करोड थियो ।
महँगी नियन्त्रणमै
फागुनमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.८२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.४४ प्रतिशत थियो । खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.९४ र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.९५ प्रतिशत रहेको छ । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत मरमसला उपसमूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक २८.१७, तरकारी १४.०७, दाल तथा गेडागुडी ११.२२, खाद्य तथा खाद्यजन्य पदार्थ ७.३५ र दुग्ध पदार्थ तथा अण्डा ७.११ प्रतिशतले बढेको छ । फागुनमा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.८८, तराई ४.४२, पहाड ५.४९ र हिमालको ४.४२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा क्रमशः ७.९५ ७.५०, ६.६७ र ८.०७ प्रतिशत थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच