धनगढीको मुख्य सडक शिलान्यास, संरचना भत्काउने ४२८ घरधनी सम्मानित

भाेजराज रोस्यारा कैलाली, संवाददाता
Read Time = 6 mins

कैलाली । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढी बजारको मुख्य सडक निर्माणका लागि शिलान्यास गरिएको छ । मंगलबार प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवा र उद्योग, पर्यटन तथा वन मन्त्री रमेश शिंह धामीले पुलदेखि क्याम्पस चोकसम्मको सडक निर्माणको शिलान्यास गर्नुभएकाे हाे ।

प्रदेश सरकारले कैलाली पुलदेखि क्याम्पस चोकसम्मको २ किलोमिटर ३ सय मिटर सडक निर्माणका लागि गत २७ वैशाखमा ५१ करोड ६९ लाखमा ठेक्का लगाएको थियो । उक्त सडक दुई वर्षभित्र सम्पन्न गर्ने गरी प्रदेशको पूर्वाधार विकास कार्यालयले केएस कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता गरेको थियो ।

गत बैशाख २७ गते सडक निर्माणको सम्झौता गरेको कम्पनीले २०८२ बैशाख २६ गते भित्र सम्पूर्ण काम सक्नुपर्ने छ । तर, तोकिएको समयभन्दा अगाडि नै स्तरीय सडक निर्माण गर्ने निर्माण कम्पनीका सञ्चालक इन्जिनियर भीम पालले बताउनु भयो ।

प्रदेश सरकारले पहिलो पटक धनगढीको मुख्य सडकलाई आधुनिक सहरी सडकका रुपमा निर्माण गर्न लागेको हो । चार लेनको सडकमा दुबैतर्फ फुटपाथ, साइकल लेन र बिचमा मिडियन निर्माण हुनेछ । सडक बत्ती, पानी, बिजुली र ढलको निकासका लागि सडकमा युटिलिटी कोरिडोर बन्नेछ । पानीको पाइप बिछ्याउन, बिजुली र टेलिफोनको तार भूमिगत राख्न मिल्ने गरी सडक बनाइने भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव प्रेमदत्त भट्टले बताउनु भयो ।

धनगढी उपमहानगरपालिकाले मुख्य सडक निर्माणका लागि सडकको क्षेत्राधिकार भित्र पर्ने भौतिक संरचना स्वतस्फुर्त रुपमा हटाएर सहयोग गरेको भन्दै ४२८ जना घर धनीलाई सम्मान गरेको छ ।

नगर प्रमुख गोपाल हमालले मुख्य सडक विस्तार गर्न आफ्नो घर आफैं भत्काएर उपमहानगरपालिकालाई सहयोग गर्ने घरधनीलाई धन्यवाद दिदै सम्मान ब्यक्त गर्नुभयो । उहाँले विकास निर्माणका कार्यमा साथ दिने स्थानीयलाई सम्मान गर्न पाउँदा खुशी लागेको समेत बताउनु भयो । धनगढी उपमहानगरपालिकाले भने एक वर्षभित्र सडक निर्माणको काम सम्पन्न गरिए निर्माण व्यवसायी, प्रदेश सरकारका मन्त्री र निर्माणको नियमन गर्ने अधिकारीहरूलाई रथारोहरणसहित नागरिक अभिनन्दन गर्ने घोषणा गरेको छ।

धनगढीको मुख्य सडकसँगै अन्य रणनीतिक रुपले महत्वपूर्ण ठानिएका सडकको काम पनि आगामी आर्थिक वर्षबाट अगाडि बढ्ने भएको छ । मुख्य सडकलाई आधुनिक र नमुना बनाउन बजेटको कमि हुन नदिने प्रदेश सरकारले जनाएको छ । धनगढीलाई आधुनिक सहर बनाउन मुख्य सडकसँगै नगर क्षेत्रका अन्य सडकमा पनि पर्याप्त बजेटको व्यवस्था गरिएको भौतिक पूर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवाले बताउनु भयो ।

’कैलाली पुलदेखि हुलाकी सडकको शून्य विन्दुसम्म नमुना सडक निर्माण हुन्छ। सडकको काम पनि समयमै सकिनेछ,’ उहाँले भन्नुभयो, ’यो सडक निर्माणमा स्रोतको अभाव हुन दिइने छैन । धनगढीका पुराना र रणनीतिक महत्वका सडकमा पनि यो पटक प्रदेश सरकारले बजेट हालेको छ ।’

निर्माण व्यवसायीले तोकिएको समयभन्दा अगाडि नै धनगढीको मुख्य सडक निर्माण गरेर देखाउने बताएका छन् । प्रदेश सरकारले सडकलाई प्रदेशकै नमुना विकास योजनाका रुपमा विकास गरिने जनाएको छ ।

धनगढी उपमहानगरपालिकाले कैलाली पुलदेखि क्याम्पस चोकसम्मको सडक फराकिलो बनाउन गत कात्तिकमा सडकको क्षेत्राधिकार भित्र पर्ने सरकारी तथा निजी भौतिक संरचनामाथि डोजर चलाएको थियो । उपमहानगरपलिकाले संरचनामाथि डोजर चलाउन थालेपछि अधिकांश घरधनीले आफैले संरचना भत्काएका थिए ।

उपमहागरपालिकाले साविक कायम रहेको सडकको केन्द्र भागदेखि दायाँबायाँ १५-१५ मिटर विस्तार गर्ने योजना अनुसार संरचना भत्काएपछि उक्त सडक निर्माणका लागि प्रदेश सरकारले बजेटको सुनिश्चितता गर्दै ठेक्का लगाएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?